मोरङका स्थानीय तहमा बलियो एमाले प्रतिनिधि तथा प्रदेशसभा चुनावमा किन कमजोर ? – Nepal Press

मोरङका स्थानीय तहमा बलियो एमाले प्रतिनिधि तथा प्रदेशसभा चुनावमा किन कमजोर ?

विराटनगर । स्थाथीय तहको निर्वाचनमा प्रदेश १ का १४ जिल्लामध्ये मोरङमा राम्रो नतिजा हात पारेको एमाले मंसिर ४ को चुनावमा भने कमजोर देखियो ।

मोरङका १७ स्थानीय तहमध्ये एमालेले ७ वटा नगरपालिकाको मेयर र ८ उपमेयर जितेको छ । २ वटा गाँउपालिकामा अध्यक्ष र ४ वटामा उपाध्यक्ष जितेको छ । सुन्दरहरैँचा नगरपालिका, उर्लाबारी, लेटाङ्ग सुनवर्षी, पथरी, रङ्गेली नगरपालिकाको मेयर-उपमेयर दुवै पदमा एमाले उम्मेदवार विजयी भएका छन् । यस्तै बेलबारी नगरपालिका मेयर, विराटगर महानगरमा उपमेयर, रतुवामाई नगरपालिकामा उपमेयर जितेको छ ।

गाँउपालिकातर्फ केराबारी, कानेपोखरीमा अध्यक्ष र उपाध्यक्ष नै जितेको एमालेले ग्रामथान र कटहरीमा उपाध्यक्षमा जित हासिल गरेको थियो ।

तर, हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा एमालेले सुखद नतिजा ल्याउन सकेन । ६ वटा प्रतिनिधिसभा क्षेत्र रहेको मोरङमा एक सीटमा एमाले उम्मेदवार विजयी भएका छन् । मोरङ २ मा गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेस नेतृ सुजता कोइरालालाई ऋषिकेश पोखरेलले पराजित गरे ।

प्रदेशसभा तर्फ पनि १२ सीटमध्ये ५ जनामात्रै विजयी भएका छन् । मोरङ १ को दुवै क्षेत्र, मोरङ २ को २, मोरङ ३ को २ र मोरङग ४ को १ निर्वाचन क्षेत्रमा एमाले विजयी भएको छ ।

मोरङ क्षेत्र नम्बर १ (१) मा उमाकान्त गौतम, १ (२) मा खड्गबहादुर बस्नेत, २ (२) मा लीलाबल्लभ अधिकारी विजयी भएका छन् । मोरङ ३ (२) मा ज्ञानेन्द्र सुवेदी र ४ (१) मा जयप्रकाश चौधरी निर्वाचित भए ।

मोरंङ्गको क्षेत्र नम्बर १ मा भने एमालेका घनश्याम खतिवडा झिनो मतले पराजित भए । उनी कांग्रेसका डिगबहादुर लिम्बूसँग ४३० मतले हारेका हुन् । लिम्बूले २७ हजार २९७ मत ल्याँउदा एमालेका खतिवडाले भने २६ हजार ८६७ मत पाए ।

मोरङ ३ मा दोब्बर मतान्तरमा एमालेका भानुभक्त ढकाल पराजित भए । नेपाली कांग्रेसका सुनिल शर्माले ४८ हजार ६३१ मत पाउँदा ढकालले २५ हजार ८९५ मत पाए । ४ मा पनि एमालेको मत कम आएको छ । माओवादी केन्द्रका अमनलाल मोदी ३० हजार ६१२ मत ल्याएर विजयी हुँदा एमालेका विनोद ढकाल २४ हजार ४६३ मतमा रोकिए ।

क्षेत्र नम्बर ५ मा भने जसपाका राजकुमार यादवलाई एमालेले समर्थन गरेको थियो । जसपालाई छाडेकोमा असन्तुष्ट भई बागी उठेका योगेन्द्र मण्डलले जिते । क्षेत्र नम्बर ६ मा कांग्रेसका शेखर कोइरालाले एमालेका लालबाबु पण्डितलाई हराए ।

किन कमजोर भयो ?

टिकट वितरणका विषयलाई लिएर एमाले मोरङभित्र तीव्र असन्तुष्टि देखिएको थियो । प्रदेशसभा सदस्यका आकांक्षी एमाले जिल्ला सचिव रुपेश खतिवडाले टिकट नपाएकै झोंकमा राजीनामा दिएर चुनावमा निष्क्रिय बसे । उनको राजीनामा पार्टीले स्वीकृत गरिसकेको छ । प्रदेश कमिटी सचिवालय सदस्य रामकुमार बस्नेत पनि उम्मेदवार बन्न नपाएपछि चुनावको मुखमै पार्टी छाडे ।

मोरङ ३ मा प्रभाव राख्ने बस्नेतको राजीनामाले पनि पार्टीलाई धक्का पुगेको नेताहरू बताँउछन् । बस्नेत प्रदेश उम्मेदवारको दाबेदार थिए ।

यस्तै क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश कमिटी सदस्य डिल्लिराम अधिकारीले पनि टिकट नपाएपछि राजीनामा दिए । अधिकारी केही दिनपछि पार्टीमा फर्कीएपनि चुनावी प्रचारमा उनको असन्तुष्टिको प्रभाव देखियो ।

एमाले स्थायी कमिटी सदस्य गुरु बराल भने निर्वाचनका बेला पार्टी छाडेकाहरूका कारण परिणाममा तात्विक फरक नपरेको बताउँछन् ।

‘यस्ता असन्तुष्टिहरू त सबै पार्टीमा हुन्छन् नि’, उनले भने ।

गठबन्धनका सारा शक्ति र प्रपञ्च एमालेका विरुद्ध रहेकाले निर्वाचनको परिणाममा फरक परेको बरालको भनाइ छ । यसपटकको निर्वाचन सैद्धान्तिक र राजनीतिक आधारमा नभएर दलीय गठबन्धनका आधारमा भएकाले एमाले मोरङ कमजोर हुनु नपरेको उनको दाबी छ ।

बरालले नेपाल प्रेससँग भने, ‘सबल प्रतिपक्ष भएको कुरामा पुष्टि गरेको छ । तर, गठबन्धनले राजनीति अभियानलाई असर गरेका कारण हामीले सोचेजस्तो जित निकाल्न सकेनौं । उम्मेदवारको टुंगो अन्तिम समयमा लागेकाले जनतासम्म पुग्न पनि समय लाग्यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर