प्रतिनिधिसभामा प्रत्यक्षतर्फ खसआर्यको वर्चश्व, २० प्रतिशत आदिवासी जनजाति निर्वाचित – Nepal Press

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ खसआर्यको वर्चश्व, २० प्रतिशत आदिवासी जनजाति निर्वाचित

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा छ । १६५ निर्वाचन क्षेत्रमध्ये १६२ वटाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । बाजुरा, दोलखा र स्याङजा निर्वाचन क्षेत्र नम्बर २ मतगणना जारी छ । दोलखामा बिहीबार पुनः मतदान भएको छ ।

निर्वाचनबाट १२ वटा राजनीतिक दल र स्वतन्त्र गरी १६२ जना निर्वाचित भइसकेका छन् । जसमा राजनीतिक दलबाट ५ प्रतिशत (९ जना) मात्रै महिला निर्वाचित भएका छन् । ९५ प्रतिशत (१५३ जना) पुरुष निर्वाचित भएका छन् । मतगणना जारी भएका तीन क्षेत्रबाट पनि पुरुष नै निर्वाचित हुने सम्भावना छ ।

नेपाली कांग्रेसबाट ५५, नेकपा एमालेबाट ४४, नेकपा माओवादी केन्द्रबाट १७, नेकपा एकीकृत समाजवादीबाट १०, जनता सामाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ७-७ जना निर्वाचित भएका छन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट ४, नागरिक उन्मुक्ति पार्टीबाट ३, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीबाट १-१ तथा स्वतन्त्रबाट ५ जना निर्वाचित भएका छन् ।

१६ प्रतिशत मधेसी र ४ प्रतिशत थारु निर्वाचित

प्रतिनिधिसभामा प्रत्यक्षबाट १६२ जना निर्वाचित हुँदा सबैभन्दा धेरै ५७ प्रतिशत (९३ जना) खस आर्य निर्वाचित भएका छन् । दोस्रोमा २० प्रतिशत (३४ जना) आदिवासी जनजाति निर्वाचित हुँदा तेस्रोमा मधेसी १६ प्रतिशत (२६ जना) विजयी भएका छन् ।

यस्तै चौथोमा थारु समुदायबाट ४ प्रतिशत (८ जना) निर्वाचित भएका छन् । दलित समुदायबाट ०.६१ प्रतिशत (एकजना) निर्वाचित भएका छन् । मुस्लिम समुदायबाट भने एक जना पनि निर्वाचित हुन सकेन ।

कांग्रेसबाट ७५ प्रतिशत खस आर्य निर्वाचित, दलित र मुस्लिम शून्य

कांग्रेसबाट निर्वाचित ५५ जनामध्ये करिब ७५ प्रतिशत (४१ जना) खस आर्य छन् । त्यस्तै करिब १५ प्रतिशत आदिवासी जनजाति, ७ प्रतिशत मधेसी र ३ प्रतिशत थारु निर्वाचित भएका छन् । कांग्रेसले दलित समुदायका एक जना पनि उम्मेदवार उठाएन ।

एमालेबाट ५५ प्रतिशत खस आर्य निर्वाचित, मुस्लिम शून्य

नेकपा एमालेबाट निर्वाचित ४४ जनामध्ये करिव ५५ प्रतिशत (२४ जना) खस आर्यका छन् । दोस्रोमा आदिवासी जनजातिबाट २५ प्रतिशत (११ जना) र १५ प्रतिशत मधेसी समुदायबाट निर्वाचित भएका छन् । सबैभन्दा कम थारु र दलितबाट साढे २-२ प्रतिशत अर्थात एक-एक जनामात्रै निर्वाचित भएका छन् ।

माओवादीबाट पनि खस आर्य बढी निर्वाचित, दलित र मुस्लिम शून्य

माओवादी केन्द्रबाट निर्वाचित १७ जनामध्ये सबैभन्दा बढी ४७ प्रतिशत (८ जना) खस आर्य रहेका छन् । दोस्रोमा आदिवासी जनजातिबाट ४१ प्रतिशत (७ जना) निर्वाचित भए । ११ प्रतिशत (२ जना) मधेसी निर्वाचित हुँदा थारु र दलित समुदायबाट एकजना पनि जितेनन् ।

एकीकृत समाजवादीमा ७० प्रतिशत खस आर्यकै वर्चस्व

नेकपा एकीकृत समाजवादीबाट निर्वाचित १० जनामध्ये सबैभन्दा धेरै ७० प्रतिशत (७ जना) खस आर्य समुदायका छन् । २० प्रतिशत (२ जना) आदिवासी जनजाति र १० प्रतिशत (एक जना) थारु समुदायबाट निर्वाचित भए । नेकपा एसमा मधेसी र दलित समुदायको प्रतिनिधित्व शून्य रहेको छ ।

जसपामा ७० प्रतिशत मधेसीको वर्चस्व

जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित ७ जनामध्ये सबैभन्दा धेरै ७० प्रतिशत मधेशी समुदायका छन् । १५÷१५ प्रतिशत खस आर्य र आदिवासी जनजातिबाट निर्वाचित भएका छन् ।

राप्रपामा ७० प्रतिशत खस आर्य निर्वाचित

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित ७ जनामध्ये ७० प्रतिशत (५ जना) खस आर्यका छन् । ३० प्रतिशत (२ जना) आदिवासी जनजातिबाट निर्वाचित भएका छन् ।

रास्वपामा ८५ प्रतिशत खस आर्यको वर्चस्व

राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि ७ जना निर्वाचित हुँदा ८५ प्रतिशत (६ जना) खस आर्यका छन् । १५ प्रतिशत (१ जना)मात्रै आदिवासी जनजातिका निर्वाचित भएका छन् ।

लोसपामा ७५ प्रतिशत मधेसीको वर्चस्व

लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित ४ जनामध्ये ७५ प्रतिशत (३ जना) मधेसी समुदायका छन् । २५ प्रतिशत (एक जना) थारु समुदायका निर्वाचित भएका छन् ।

नागरिक उन्मुक्तिमा ६५ प्रतिशत थारु, बाँकी आदिवासी जनजाति

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित ३ जनामध्ये ६५ प्रतिशत (२ जना) थारु समुदायका छन् । ३५ प्रतिशत (एकजना) आदिवासी जनजातिका निर्वाचित भएका छन् ।

राष्ट्रिय जनमोर्चाबाट निर्वाचित एकजनामात्रै सांसद खस आर्य समुदायका छन् । नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित एकजना सांसद आदिवासी जनजाति र जनमत पार्टीबाट निर्वाचित एकजना मधेसी समुदायका निर्वाचित भएका छन् ।

स्वतन्त्रबाट ८० प्रतिशत मधेसी निर्वाचित

स्वतन्त्रबाट निर्वाचित ५ जनामध्ये सबैभन्दा बढी ८० प्रतिशत (४ जना) मधेसी समुदायका छन् । २० प्रतिशत (एक जना) थारु समुदायका निर्वाचित भएका छन् ।

नेपालको संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको छ । तर, प्रत्यक्षतर्फ जम्मा ९ जनामात्रै महिला निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *