प्रदेश १ : एक जितसहित एमाले १२ ठाउँमा अगाडि हुँदा अरुको कहाँ-कहाँ लिड ? – Nepal Press

प्रदेश १ : एक जितसहित एमाले १२ ठाउँमा अगाडि हुँदा अरुको कहाँ-कहाँ लिड ?

विराटनगर । प्रदेश १ का २८ संघीय क्षेत्रमध्ये २७ मा मतगणना जारी छ । अहिलेसम्मको नतिजाअनुसार उदयपुर २ मा एमालेका अम्बरबहादुर रायमाझीले नेकपा एसका जगन्नाथ खतिवडालाई पराजित गरे । गणना भइरहेका ठाउँमा एमालेका उम्मेदवार १२ क्षेत्रमा अगाडि छन् ।

नेपाली कांग्रेसले ७ निर्वाचन क्षेत्रमा अग्रता बनाउँदा माओवादी केन्द्रका उम्मेदवारले ५ ठाउँमा लिड गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा ३ मा अग्रता बनाउँदा राष्ट्रिय स्वातन्त्र पार्टीका लालविक्रम थापाले सुनसरी २ मा अग्रता कामय राखेका छन् । यस्तै मोरङ ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डलले मतान्तर फराकिलो पार्दै लगेका छन् ।

निर्वाचन आयोगका अनुसार एमालेले झापा २, ४ र ५ मा अग्रता कायम राखेको छ । इलामका २ वटा निर्वाचन क्षेत्रमध्ये दुवैमा एमाले अगाडि छ । इलाम १ मा एमालेका महेश बस्नेतले झलनाथ खनालसँगको अग्रता फराकिलो बनाँउदै लगेपनि २ मा सुवास नेम्वाङ झिनो मतले मात्र अगाडि छन् ।

तेह्रथुममा एमालेका डा. विजय सुब्बाले सुरूदेखि नै अग्रता बनाएका छन् । उनीसँग कांग्रेसबाट सीता गुरुङ मैदानमा छिन् । धनकुटामा एमालेका राजेन्द्र राईले अग्रता बढाइरहेका छन् । सोलुखुमबुमा पनि एमालेका मानव राई झिनो मतले अगाडि छन् ।

सुनसरीका ४ वटा निर्वाचन क्षेत्र मध्ये ३ र ४ मा एमाले अगाडि छ । मोरङको १ र २ मा एमालेले लिड गरिरहेको छ ।

कांग्रेस झापा क्षेत्र नम्बर १ मा निरन्तर अगाडि छ । महामन्त्री विश्वप्रकाश शर्माले एमालेका अग्नि खरेललाई फराकिलो मतले पछि पारेका छन् ।

मोरङ ३ र ६ मा नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् । ६ मा डा. शेखर कोइराला चुनावी मैदानमा छन् भने ३ मा डा. सुनिल शर्माले लिड गरेका छन् । पाँचथरमा नेपाली कांग्रेसका भिष्मराज आङदेम्बे झिनो मतले अगाडि छन् । त्यहाँ एमालेका उम्मेदववार वसन्त नेम्वाङ्गसँग उनको प्रतिस्पर्धा छ ।

संखुवासभामा पनि कांग्रेसका दीपक खड्का अगाडि छन् । ओखलढुंगामा रामहरी खतिवडा, उदयुर १ मा डा. नारायण खड्का अगाडि छन् ।

मोरङ ४ , सुनसरी १, ताप्लेजुङ, खोटाङ र भोजपुरमा माओवादीका उम्मेदवारले लिड गरेका छन् । मोरङ ४ मा अमनलाल मोदी, सुनसरी १ मा मुक्साहाङ्ग मेन्यांवो, ताप्लेजुङमा खेलप्रसाद बुढाक्षेत्री, खोटाङमा रामकुमार राई र भोजपुरमा सुदन किराती अगाडि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर