गण्डकीका मन्त्री थापाले प्लटिङ गरेको निजी जग्गामा सरकारको १ करोड बजेट लगानी गरेको आरोप (भिडिओ) – Nepal Press

गण्डकीका मन्त्री थापाले प्लटिङ गरेको निजी जग्गामा सरकारको १ करोड बजेट लगानी गरेको आरोप (भिडिओ)

पोखरा । गण्डकी प्रदेशका कानूनमन्त्री विन्दु थापामाथि प्लटिङ गरेको निजी जग्गामा सरकारको १ करोड बजेट लगाएको आरोप लागेको छ । मंगलबार मन्त्रीबाट बर्खास्त गरिएका कुमार खड्काले विहीबार पत्रकार सम्मेलन गर्दै सोसम्बन्धी प्रमाण पनि देखाए ।

थापाले मन्त्रीभएपश्चात आफ्नो निर्वाचन क्षेत्रमा नपर्ने पोखरा-१४ स्थित खसीबजारमा रहेको जग्गामा बजेट हालेको खड्काको भनाइ छ । कम बजेट भएर विकास गर्न नपाएको गुनासो गरेपनि भएकै बजेट आफ्नै जग्गा, व्यवसायमा लगाएको उनले आरोप लगाए ।

‘९ करोड रूपैयाँ सरकारको नियम अनुसार उहाँले पाउनुभयो । ९ करोडबाट उहाँले आफ्नो क्षेत्रमा कति हाल्नुभयो, मलाई भन्न बाध्य पार्नुभयो,’ खड्काले भने, ‘९ करोडबाट १ करोड ४५ लाख खसीबजारबाट बीपी मार्ग जाने बाटोमा हाल्नुभयो । मान्छेले त्यहाँ विन्दुजीको प्लटिङ गरेको जग्गामा किन बजेट हालेको भनेर सोध्नुभयो ।’

उनले आफू यस विवादमा फस्न नचाहेको र गल्ती भएको खण्डमा आफू पनि कारबाही भोग्न तयार रहेको बताउँदै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र मन्त्री थापा पनि कारबाही भोग्न तयार हुनुपर्ने बताए ।

अन्नपूर्ण गाउँपालिकाको बएँचौरको जग्गामा पनि मन्त्री थापाले बजेट हालेको उनको आरोप छ ।

‘दुई करोड रुपैयाँ बजेट त्यहाँ परेछ, फेरि मान्छेले मलाई के भने भन्दा त्यहाँ उहाँले २ सय रोपनी जग्गा खरिद गर्नुभएको रहेछ । त्यहाँ २ करोड हाल्नुभयो, यसरी नै उहाँले पर्वत, गगनगौंडामा हाल्नुभयो,’ उनले भने, ‘पोखरा १६ मा ६ लाख, पोखरा २० मा १० लाख हाल्नुभयो ।’

मन्त्री थापाले ती क्षेत्रमा बजेट हाल्न मुख्यमन्त्री र अर्थमन्त्रीलाई दिएको हस्ताक्षरसहितको पत्र रहेको भन्दै दुईवटा पत्र पनि खड्काले पत्रकार सम्मेलनमा देखाए ।

‘उहाँले साइन गर्नुभएको मुख्यमन्त्रीलाई सम्बोधन गरेको पत्रसहित म यहाँ छु । मिथ्या, दुश्प्रचार गरेको छैन,’ उनले भने ।

मन्त्री थापाले आफ्नो क्षेत्रबाहिर बजेट दिएर राष्ट्रिय नेता बन्न खोजेको भन्दै खड्काले व्यंग्य गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर