धादिङ २ का प्रदेशसभा उम्मेदवार थपलिया परिवारलाई केपी ओलीले पठाए लिखित समवेदना – Nepal Press

धादिङ २ का प्रदेशसभा उम्मेदवार थपलिया परिवारलाई केपी ओलीले पठाए लिखित समवेदना

धादिङ । नेकपा एमालेबाट धादिङ क्षेत्र नम्बर २ (२) का प्रदेशसभा सदस्य उम्मेदवार इन्जिनियर गजेन्द्रप्रसाद थपलियाको परिवारलाई नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिखित समवेदना पठाएका छन् ।

नेपाल बुद्धिजीवि परिषदका महासचिवसमेत रहेका इन्जिनियर थपलियाको बुबा शिव प्रसाद थपलियाको ८८ वर्षको उमेरमा गत कात्तिक १६ गते निधन भएको थियो । चुनावी अभियानमा रहेका थपलिया बुबाको मृत्युपछि हिन्दु संस्कारअनुसार क्रियामा छन् ।

नेकपा एमालेका स्थायी समिति सदस्य एवम् वागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारीको नेतृत्वमा आएको एमाले नेताहरुको टोलीले वुधवार धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ परेवाटार स्थित घरमा पुगेर थपलिया परिवारलाई पार्टी अध्यक्ष ओलीको लिखित समवेदना पत्र बुझाएको हो ।

टोलीमा नेकपा एमाले केन्द्रिय लेखा आयोगका अध्यक्ष डाक्टर पुष्प थपलिया, आयोगका सदस्य मिनराज कँडेल, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का महासचिव लक्ष्मण शर्मा, ओलीका सञ्चार विज्ञ चेतन अधिकारी, एमाले वागमती प्रदेश कमिटी सदस्य धुव्र विक लगायतका नेताहरु रहेका थिए ।

ओली प्रधानमन्त्री भएका बेला इन्जिनियर गजेन्द्र प्रधानमन्त्रीका विकास विज्ञ सल्लाहकार थिए । गजेन्द्र प्रदेशका आर्थिक मामिला मन्त्री एवम माओवादी केन्द्रका केन्द्रीय सदस्य शालिकराम जमकट्टेल संग चुनावी प्रतिस्पर्धामा छन् । जमकट्टेलले पनि केही दिन अघि थपलियाको घरमै पुगेर बुबाको निधन प्रति समवेदना व्यक्त गरेका थिए ।

थपलियाको अनुपस्थितीमा नेकपा एमालेका नेता कार्यकर्ताले गाउँ गाउँमा पुगेर उनको पक्षमा चुनावी माहोल बनाउँदै भोट मागिरहेका छन् । बुबाको निधन पछि शोकमा रहेका थपलियाले मतदातालाई चुनाव अघि भेट्न नसके पनि चुनावपछि घर घरमा पुगेर भेट्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *