हरिबोधिनी एकादशीको अवसरमा खोटाङका तीन पालिकामा बिदा – Nepal Press

हरिबोधिनी एकादशीको अवसरमा खोटाङका तीन पालिकामा बिदा

खोटाङ । हरिबोधिनी एकादशीको दिन खोटाङका तीन स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । हरिबोधिनी एकादशीको दिन विभिन्न स्थानीय धार्मिक स्थलमा लाग्ने धार्मिक मेलाका लागि बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र रावाबेँसी गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएका हुन् ।

बराहपोखरी गाउँपालिका–१ बराहपोखरी शंखेश्वरस्थित बराहपोखरीमा हरिबोधिनी एकादशी (तुलसी विवाह)का दिन र सोको अघिल्लो दिन तिर्थाटन र मेला भर्नका लागि बराहपोखरी गाउँपालिकाले बिहिबार र शुक्रबार सार्वजनिक बिदा दिएको हो । बराहपोखरी गाउँपालिकाले गत कात्तिक ३ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार हरिबोधनी एकादशीका लागि दुई दिन सार्वजनिक बिदा दिएको जनाएको छ ।

बराहपोखरीमा जिल्ला भित्र तथा वाहिरबाट हजारौँ दर्शनार्थी आउने गरेका छन् । बराहपोखरीमा विशेषगरी दिवङ्गत आफन्तको नाममा सतबीज छर्ने, धामीझाँक्री र दर्शन गर्नेको भीड लाग्ने गरेको छ । चारैतिर घना जङ्गलले घेरिएको ३३० मिटर लम्बाई र २१० मिटर चौडाई क्षेत्रफलमा फैलिएको प्राकृतिक रुपले बनेको बराहपोखरीमा संसरकारकै दूर्लभ मानिएको रातो माछा समेत पाइन्छ ।

हरिबोधनी एकादशीकाबेला बराहपोखरीमा ढोल ढ्यांग्रो बजाउँदै सयौंको संख्यामा धामी झाँक्रीको टोली आउने गरेका छन् । चिताएको पुग्ने बिश्वासमा बराहपोखरीमा हरिबोधनी एकादशीका दिन दुई हजारभन्दा बढि जोडी परेवा उडाउने प्रचलन छ ।

बराहपोखरी र होङमा पोखरीमा लाग्ने धार्मिक मेलाकै लागि जन्तेढुंगा गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । बराहपोखरी पुगेर फर्किएका धामी तथा उनीहरुका आफन्तले समेत होङमा पोखरीमा पुजाआजा गर्ने गरेका छन् । होङमा पोखरी जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा पर्छ ।

दुधकोसी किनारमा लाग्ने हरिबोधनी एकादशी मेलाका लागि रावाबेँसी गाउँपालिकाले पनि बिदा दिएको छ । रावाबेँसी गाउँपालिक–३ लामीडाँडामा पर्ने रभुवामा लाग्ने मेलालाई जिल्लामा ऐतिहासिक मान्ने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर