‘पम्फा भुसाल कार्यकर्तामै बदनाम हुनुहुन्छ, मेरो स्वार्थ निर्यातमुखी कानून र क्षेत्र विकास हो’ – Nepal Press
नेपाल टक

‘पम्फा भुसाल कार्यकर्तामै बदनाम हुनुहुन्छ, मेरो स्वार्थ निर्यातमुखी कानून र क्षेत्र विकास हो’

निर्यात व्यवसायी एमाले उम्मेदवार अमृत खड्का भन्छन्- २ वटा कानुन संशोधन गर्नेबित्तिकै व्यापार घाटा उल्टिएर नाफामा जान्छौं

काठमाडौं । ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी चर्चित नेता पम्फा भुसाल र पछिल्लो समय चर्चामा रहेकी स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की मिडियामा छाइरहेका बेला ललितपुर क्षेत्र नम्बर ३ मा ‘अण्डरडग’ उम्मेदवार छन् अमृत खड्का ।

खड्का सेलिब्रिटी पनि होइनन् र मिडियामा छाउने व्यक्ति पनि होइनन् । तर स्थानीयस्तरमा भने परिचितमात्र होइन एक सफल व्यवसायीका रुपमा स्थापित व्यक्ति हुन् । २०५४ सालमा तत्कालीन सैंबु भैसेपाटीको गाविस अध्यक्ष बनेका खड्का राजनीतिमा भन्दा बढी उत्पादनमूलक व्यवसायमा स्थापित भए ।

आयातमा निर्भर नेपालका अर्थतन्त्र जर्जर बन्दै गएका बेला निर्यातजन्य वस्तु उत्पादन र निर्यातमा वृद्धि कसरी गर्ने ? अहिलेको चुनावी माहाेलमा आर्थिक विकास सबै दलको एजेण्डा बन्दा यो प्रश्नको जवाफ दिन सक्ने थोरै व्यक्तिमा पर्छन् अमृत खड्का ।

नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार अमृत खड्काले उत्पादन गरेको नेपाली वस्तु अमेरिकामा निर्यात भइरहेका छन् । अहिले उनी राजनीतिको सफाइसँगै वस्तु निर्यातका उल्झन हटाउन भन्दै निर्वाचनमा होमिएका छन् ।

नेपालमा निर्यातको सम्भावाना कस्तो छ ? के कारणले नेपालको निर्यात घट्दै गएको हो ? व्यापार घाटा कसरी कम गर्न सकिन्छ ? अमेरिकामा आफ्नो उत्पादन बिक्री वितरण भइरहँदा राजनीति किन गर्नुपर्‍यो र चुनावी तयारीलगायतका सम्बन्धमा नेपाल प्रेसकर्मी राजाराम न्यौपानेले उम्मेदवार एवं व्यवसायी अमृत खड्कासँग गरेको कुराकानीको सम्पादित अंशः

– चुनावको तयारी के भइरहेको छ ? जनतासामु के-के बाचा गरिरहनुभएको छ ?

बाचा गर्ने मेरो स्वभाव छैन । म जे बोल्छु त्यही गर्छु । टिकट पाउने घोषणा भएपछि २७ दिनदेखि दौडमा छु । सबैको सम्पर्कमा पुग्ने कोसिस गरिरहेको छु ।

– नेपालको वस्तु विदेश निर्यात गर्ने व्यक्ति तथा निर्यातविज्ञ भनेर चिनिनुभएको तपाईं चुनावमा लाग्नु भएको छ । व्यवसाय र राजनीति सँगसँगै अघि बढ्छ र ?

अन्तर्राष्टिय बजारमा फ्री कम्पिटिसनमा जाँदा सपोर्ट तथा कुनै प्रिभिलेज थिएन । सुरुमा प्रिभिलेजका कुरा पनि थिए । तर, पछि भएन । अहिले राम्रो जेनेरेसनले फ्री कम्पिटिसनमा चिनियाँ र भारतीय वस्तुसँग प्रतिस्पर्धामार्फत जितेर नै आफ्नो उत्पादन विश्व बजारमा बिक्री गर्ने हो । हामीले सफलता पाउने भनेको निर्यात गर्ने देशको गुणस्तर, टेक्निक, स्किल र त्यहाँको विषयवस्तु बुझेर हो । तर, नेपालको फरक छ ।

विश्व बजारमा कुनै कुराको निर्णय गर्नुपरे २ मिनेटमा हुन्छ । नेपालको भने सानो कुराको निर्णय लिन पनि २ वर्ष लाग्छ ।

कुनै काम गर्न खोज्दा हेरौंला, बुझौला, अध्ययन गरौंला र सल्लाह गरौंलालगायतका कुराले काम ढिला हुन्छ । हामी जस्ता निर्यात र उत्पादनमा ज्ञान भएका व्यक्ति आएर छिट्टै निर्णय लिनसक्ने वातावारण निर्माण गर्ने हो । त्यसका लागि राजनीतिबाटै सहयोग भएन भन्ने हुन्न । मलाई पार्टीले अघि बढाएको छ,मैले जनताको स्थानीय समस्या समाधानसँगै यो पनि देशको आर्थिक उन्नतिको पक्ष भएकाले यसमा काम गर्नेछु ।

पम्फा भुसालले रिटेनिङ वाल, केही भवनका लागि धेरै बजेट छुट्याउने र ठेकेदार पनि आफैंले लैजाने गर्नुभयो । उहाँको काम गर्ने छुट्टै तरिका छ । त्यो किन हो जनताले बुझेका छन् ।

– नेपालको ढिलासुस्ती र निर्णय प्रक्रियालाई कसरी चिर्न सकिन्छ त ?

नयाँ पुस्तालाई कसरी काम गर्ने भनेर सिकाउने हो । कुनै पनि काम कसरी छिटो गर्ने भनेर इन्टरनेटमा खोजेर पढ्न सकिन्छ । त्यो कुरा युवालाई जानकारी गराउनुपर्छ । त्यति भए पुग्छ ।

तर, पुरानो पुस्तालाई भने नसकिएला । भरिएको घैंटो र खाली घैंटो भने जस्तो हो । खाली घैंटोले सिक्छ र काम गर्छ ।

– तपाईं गठबन्धनका उम्मेदवारसँग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । आफूलाई कति कम्फर्ट महसुस गर्नुहुन्छ ?

प्रचण्ड, देउवा र अदृश्य शक्तिका कारणले यो गठबन्धन बनेको कुरा सबैलाई थाहा छ । मेरो क्षेत्रका सबै ठाउँमा जाँदा त्यहाँ पार्टीगत भन्दा पनि आफ्नो साथीभाइ, आफन्त, नातागोता र सहकर्मी सबै पार्टीको साथ र सहयोग मलाई छ । उनीहरुसँग राजनीतिक दलको गठबन्धन होला,हामीसँग स्थानीयस्तरको जनताको गठबन्धन रहेको छ । त्यो गठबन्धनले मलाई सहयोग गर्छ । अनौपचारिक जनस्तरको गठबन्धनले नै मलाई सहयोग गर्ने भएकाले पनि जीत निश्चित छ ।

– तपाईंको क्षेत्रमा के-के काम गर्न बाँकी रहेको देख्नुभएको छ ?

मेरो क्षेत्रमा सबै काम गर्न बाँकी छ । अहिले मेरो प्रतिस्पर्धी तथा बहालवालामन्त्री पम्फा भुसालले हाम्रो क्षेत्रका जनताको मत लिएर सांसद र मन्त्री हुनुभयो । तर, हाम्रो आवश्यकता र समस्यालाई उहाँले प्रतिनिधित्व गर्नुभएन ।

पम्फा भुसालले रिटेनिङ वाल, केही भवनका लागि धेरै बजेट छुट्याउने र ठेकेदार पनि आफैंले लैजाने गर्नुभयो । उहाँको काम गर्ने छुट्टै तरिका छ । त्यो किन हो जनताले बुझेका छन् । मेरो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, पार्क र सांस्कृतिक क्षेत्रलगायत सबै क्षेत्रमा काम गर्न बाँकी छ । अब त्यो काम पूरा गर्नुपर्नेछ ।

– बहालवालामन्त्रीसँग प्रतिस्पर्धामा तपाईंको पक्षमा कस्तो माहोल छ ?

हाम्रो जनता तथा मतदाता उहाँसँग धेरै रुष्ट हुनुहुन्छ । उहाँ (पम्फा भुसाल) अलि मनी माइन्डेड जस्तो हुनुहुन्छ । मदन स्मारक स्कुलको जग्गा भाडा, हरिसिद्धिको जग्गा भाडा र रिटेनिङ वालदेखि लिएर सबै कुरामा उहाँको फोकस कहाँ छ भनेर जनताले बुझेका छन् । मन्त्रीसँग जनता र उहाँको कार्यकर्ता नै रुष्ट हुनुहुन्छ । उहाँको कामले पनि त्यो कुरा देखाउँछ ।

उर्जामन्त्रीकै हैसियतमा उहाँले भारतीयलाई रिझाउँन नेपालको निजी क्षेत्रका जलविद्युत उत्पादकलाई सिध्याउँनेगरी के कस्ता नीति नियम ल्याउँनुभयो त्यो पनि सबैले देखेका छन् ।

नेपालमा उद्योग स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने र डलर भित्र्याउने काममा नै मेरो धेरै समय गयो । मैले मेरो आफ्नो उत्पादन अमेरिकालगायतका देशमा बिक्री गरिरहेको छु । सन् २०१६ मा मेरो एउटा प्रोडक्ट अमेरिकामा हिट भयो ।

– तपाईं व्यवसायी । पहिले आफ्नो उत्पादन बिक्रीका लागि ग्राहक भेट्नु हुन्थ्यो । अहिले मतदाता भेटिरहनु भएको छ । के फरक पाउनुभएको छ ?

मैले नेपालका ग्राहक भेटिनँ । युरोप र अमेरिकाका ग्राहक भेटेको हो । नेपालमा उद्योग स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने र डलर भित्र्याउने काममा नै मेरो धेरै समय गयो । मैले मेरो आफ्नो उत्पादन अमेरिकालगायतका देशमा बिक्री गरिरहेको छु ।

सन् २०१६ मा मेरो एउटा प्रोडक्ट अमेरिकामा हिट भयो । त्यसपछि मलाई जे पनि बेच्न सक्छु भन्ने भयो । त्यसपछि मैले धेरै अध्ययन गरें ।

नेपालका धेरै उत्पादन विश्वका अन्य देशमा बिक्री गर्न सकिन्छ । तर, नेपालको ऐन-कानूनका कारण रोकिएको छ । त्यो ऐन-कानून संशोधन गरेर नेपालका वस्तु धेरैभन्दा धेरै विदेश निर्यात गर्न सकिन्छ । म २० वर्षपछि पहिले नै गरेको राजनीतिमा फर्किएको हुँ । पहिले मैले राजनीति नै गरेको थिएँ ।

१५ वर्षको उमेरमा पञ्चायत कालमा भूमिगत पार्टीमा प्रवेश गरेको थिएँ । पार्टी निर्माणको काम गरेको थिएँ । २०५४ सालमा नेकपा (एमाले)बाट सैंबु भैंसपाटी गाउँ विकास समितिको अध्यक्ष निर्वाचित भएको थिएँ । २० वर्ष पहिले राजनीति गरेको मान्छे व्यापारमा लागें । अहिले फेरि राजनीतिमा नै आएको छु । त्यो वेलाका घर, बाटो र समाज अहिले परिवर्तन भएको छ । पहिलेको भन्दा अहिले काम नगर्ने परिपाटीको विकास भएको छ । काम नगर्ने तर गफ भने गर्ने । नजिकैको फोहोर र झाडी पनि सफा नगर्ने । पहिले गाउँघरमा फलफूल तथा भान्सामा जे पाकेको छ त्यही खाएर जाउँ भन्ने चलन थियो । अहिले त्यस्तो छैन ।

मलाई अहिले नेता भएर त्यस्तो ट्रिट गरेको हो कि ? म नेता हुने क्रममा छु । पहिले त म यहाँको दाजुभाइ र मतदाता हुँ । अहिले आफ्नो नातेदारको घरमा पनि चिया बिस्कुट खुवाएर पठाउँछन् । चुनावी दौडले गर्दा म सधैं घर जान भ्याउँदिनँ । केही दिन चिया बिस्कुटको भरले नै चुनावी दौडमा छु ।

– सरकार र निजी क्षेत्रको सबैभन्दा ठूलो टाउको दुखाइको विषय व्यापार घाटा छ । तर, तपाईं आफ्नो वस्तु जहाँ पनि बेच्न सकिन्छ भन्नुहुन्छ ? कुन-कुन वस्तु कसरी निर्यात गर्न सकिन्छ ?

हामी डाँडो चढ्न जाँदा त्यो डाँडोमा होइन त्यो डाँडोबाट अर्काे डाँडो चढेपछि मात्रै पैसा कमाइ हुन्छ भन्ने थाहा हुन्छ । नेपालको उत्पादन सामर्थ्य नै ध्वस्त बनाउने खालको प्रविधि देखिन्छ । हरेक क्षेत्रमा उत्पादन सामर्थ्य हुँदाहुँदै पनि घटाइएको छ । निर्यात क्षेत्रलाई बदनाम बनाइएको छ । कृषि र गरिबी निवारण कोषलगायत हेर्दा थाहा हुन्छ ।

अर्बाैं रुपैयाँ टाउकोमा ऋण थोपरदिएएको छ । हाम्रो उत्पादनका क्षेत्रलाई ध्वस्त पारिदिएको छ । हामीले जुन शिखर चढ्यौं, त्यो गतल छ । हामी हाम्रो बलबुताले शिखर चढ्नुपर्छ । हाम्रो आफ्नै बाउबाजेको सिको गरेर पनि केही गर्न सकिन्छ । विदेशीले देखाएको बाटोभन्दा हाम्रो पुर्खाले देखाएको बाटो हिँड्नुपर्छ । विदेशको कुरा हामीले कपी गर्ने हो । अहिलेको समय नै कपी पेस्टको हो । विदेशीले नेपालमा आएर जुन सल्लाह, सुझाव र हस्तक्षेप गरेका छन्, त्यो हाम्रो हितमा छैन ।

दोलखामा भएको म्याग्नेसाइट एसियाको सबैभन्दा ठूलो डिपोजिट हो । वन क्षेत्र पनि त्यस्तै बिग्रिएको छ । हस्तकलाको सामग्री र हाम्रो म्युजिक पनि सेल गर्न सक्छौं । आईटी र औद्योगिक उत्पादन विदेशमा बिक्री गर्न सकिन्छ । हाम्रो कल्चर पनि शेयर गर्न सकिन्छ । मालश्री धुन, सिनाज्यादेखि लिएर सिलाउने लुगासम्म सेल गर्न सक्छौं ।

– नेपालको व्यापार घाटा कम गर्ने र निर्यातकै कारणले आर्थिक वृद्धिदर पनि माथि उठाउने क्षेत्र कुन-कुन हुन् ?

उत्पादनको क्षेत्रमा ६ वटा वस्तु हामीसँग छन् । ६ वटा क्षेत्रबाट केही न केही निर्यात गर्न सकिन्छ । सबै प्रकारको कच्चापदार्थ एउटै देशमा हुँदैन । जापानमा फलाम र स्टिलका खानी छैनन् । विश्व बजारबाट ल्याएर नै वस्तु उत्पादन गरेर बिक्री गर्ने हो । नेपालमा भने सबै कच्चापदार्थ नेपालको नै प्रयोग भएको वस्तु निर्यात गर्ने भन्ने गलत प्रचार भइरहेको छ । बाहिरबाट कच्चापदार्थ ल्याएर यहाँ भ्यालु एड गरेर निर्यात गर्न हुँदैन भन्ने खालको जनमत बनाउन खोजिएको छ । त्यो पनि विदेशीकै चाल हो ।

हाम्रो ६ वटा क्षेत्रमध्ये खानी पनि प्रशस्त छ । दोलखामा भएको म्याग्नेसाइट एसियाको सबैभन्दा ठूलो डिपोजिट हो । वन क्षेत्र पनि त्यस्तै बिग्रिएको छ । हस्तकलाको सामग्री र हाम्रो म्युजिक पनि सेल गर्न सक्छौं । आईटी र औद्योगिक उत्पादन विदेशमा बिक्री गर्न सकिन्छ । हाम्रो कल्चर पनि शेयर गर्न सकिन्छ । मालश्री धुन, सिनाज्यादेखि लिएर सिलाउने लुगासम्म सेल गर्न सक्छौं । सिउने लुगाको ट्रायक रेकर्ड नै भएको छैन ।

हामी त्यो रेकर्ड गर्दैछौं । मैले विदेश जाँदा त्यस्ता कुरा विदेशीलाई सुनाउँछु । उनीहरुले बेच्नुस्, तिमी एकदम धनी हुन्छौ भन्छन् । त्यो व्यक्तिगत बेच्ने होइन, यो सोसाइटीले बेच्ने हो । नेवारी कला-संस्कृति दाफा खलःले बेच्ने प्रबन्ध हामी मिलाउँछौं । नेवारी भोजलाई प्याटेन्ट राइट लिएर विश्वभर बिक्री गर्न सकिन्छ । नेवारी भोज संसारभर अरुले बनाउन जानेको देखिएन । तर, भोजलाई विश्वभर पुर्‍याउन हामीसँग कानुन नै छैन । हामी वाइपोको सदस्य १९९९ मा भएको हो । तर, म्याड्रिड र हेगको सदस्य भएनौं ।

त्यो भएको भए नेपालबाट नै संसारभर सस्तो पैसामा पुर्‍याउन सक्थ्यौं । तर, अहिले सबै देशमा गएर दर्ता गर्नुपर्छ । त्यो सम्भव पनि हुँदैन । विश्वभर हाम्रो वस्तु तथा सेवा बिक्री गर्न सकिने सन्धिमा सहभागी हुन म पहल गर्छु । ललितपुरको कला-संस्कृति पनि धेरै दर्ता गर्नुपर्नेछ । मैले चुनाव जितेपछि त्योलगायत सबै काम गर्नेछु । हामी यलः अर्थात पाटनलाई बनाउनेछौं ।

– नेपालमा वस्तु उत्पादन गरेर विदेश निर्यात गर्नुभन्दा विदेशबाट वस्तु आयात गरौं भनेर उद्योगी किन लागिरहेका छन् त त्यसो भए ?

राज्यले लिएको नीति नै त्यस्तै छ । उद्योगीलाई मास्ने, उद्योगलाई मास्ने, सिर्जनशीलतालाई दमन गर्दै कम गर्ने, दलाली प्रवृत्तिलाई बढावा गर्ने र रकमी प्रवृत्तिलाई सम्मान गर्ने राज्यको नीति छ । त्यसैले नै हामीले गतल शिखर चढ्यौं भनिरहेको छु ।

– तपाईंले भनेको ६ वटा क्षेत्रबाट वस्तु उत्पादन गरेर निर्यात गर्न सकियो भने हाम्रो व्यापार घाटा कति कम गर्न सकिन्छ ?

हामी अहिले भइरहेको व्यापार घाटालाई उल्टाएर नाफामा जान सक्छौं । हाल १९ खर्बको आयात र २ खर्बको निर्यात छ । २ वटा कानूनमात्रै परिवर्तत गर्न सकियो भने अर्काे २ खर्ब निर्यात १ वर्षमा नै गर्न सक्छौं । ४ खर्ब तुरुन्तै नघाइदिन्छौं ।

हामी अहिले भइरहेको व्यापार घाटालाई उल्टाएर नाफामा जान सक्छौं । हाल १९ खर्बको आयात र २ खर्बको निर्यात छ । २ वटा कानूनमात्रै परिवर्तत गर्न सकियो भने अर्काे २ खर्ब निर्यात १ वर्षमा नै गर्न सक्छौं । ४ खर्ब तुरुन्तै नघाइदिन्छौं ।

निर्यातमा औद्योगिक सुविधा सबैले पाउँछन् । तर, नेपालमा विश्वमा नै नभएको कानून ल्याएर सुनको वस्तु निर्यात गर्न पाउने सुविधा नै रोकियो । नेपालमा कस्ता सल्लाहकार आउँछन् ? बैंकले सुन आयात गर्ने नै नियम राख्दियो । कुनै निर्यात गर्ने कम्पनीले नै कच्चापदार्थ ल्याउने, त्यसमा लाग्ने भन्सार तिर्ने र निर्यात गरेको प्रमाण देखाएर डिपोजिट रिलिज हुने हुनुपर्ने हो । तर, सुनले बन्डेट ओरियसको फेसलिटी पाएन, सुनमा पनि कच्चापदार्थका रुपमा ल्याउँदा भन्सार नलाग्ने हो भने चीनमा हाम्रो राम्रो बजार छ ।

चीनले पैसा कमाएपछि ३ वटा चिजमा सबैभन्दा धेरै खर्च गरेको देखिन्छ । उसले खानामा, गहनामा र घुम्नमा धेरै खर्च गरिरहेको छ । चीनमा गहनाको ठूलो मार्केट बनेको छ । त्यहाँ मूर्ति पनि धेरै मात्रामा निर्यात गर्न सक्छौं । तर, गलत व्यक्ति र गलत सल्लाह दिने व्यक्तिको कारणले बनेको कानून परिवर्तन गर्नुपर्नेछ ।

– एकै वर्षमा निर्यात दोब्बर कसरी गर्न सकिन्छ ? कुन कुन हुन् संशोधन गर्नुपर्ने २ वटा कानुन ?

पहिलो, सुनचाँदीले पनि बन्डेट ओरियसको फेसलिटी पाउनुपर्‍यो । विदेशी विनिमय ऐन, २०१९ को दफा ४ मा नेपालीले विदेशी मुद्रा विदेश पठाउन पाइँदैन भन्ने उल्लेख छ । त्यसलाई संशोधन गर्नुपर्छ । हामीले बी टु बी गर्न सक्छौं । मैले उत्पादन गरेको वस्तु विदेशीलाई बिक्री गर्ने हो । कुनै वस्तु उत्पादन गरेर एक डलरमा बिक्री गरे भने ग्राहकसँग पुग्दा ५ डलर मूल्य पर्न जान्छ ।

बीचमा २ तहका व्यापारी हुन्छन् । अहिले सञ्चार र यातायातको विकासले गर्दा हाम्रो उत्पादन विश्व बजारमा सीधै नेपालबाट नै बिक्री गर्न सकिन्छ । अनलाइनबाट सामान बिक्री गर्न सकिन्छ । सुरुमा २ वटा कुरा चाहियो । पहिलो भुक्तानी, वारेन्टी र ग्यारेन्टी हुनुपर्छ । अमेरिकाको नियमानुसार ग्राहकले सामानअनुसार कुनै वस्तु खरिद गरेको ३ देखि ६ महिनाभित्र वस्तु ठीक लागेन भने म फिर्ता गर्छु भन्दा पाउँछन् ।

त्यहाँका ३२ करोड ग्राहकको बानी नै भइसक्यो । नेपालको उत्पादन अमेरिकी ग्राहकले ठीक लागेन, म फिर्ता गर्छुभन्दा हामीले त्यो वस्तुको पैसा फिर्ता दिनुपर्छ । तर, हाम्रो कानूनले भने नेपालीले डलर विदेशमा पठाउन पाउँदैन भन्ने छ । अनि कसरी पैसा फिर्ता दिने ? नेपालको सामानमा वारेन्टी र ग्यारेन्टी दिनै पाइँदैन । वस्तु निर्यात प्रवद्र्धन गर्न कानुनले नै रोक लगाइदिएको छ । यसरी बनेको कानून जानेर होइन, विदेशीको सल्लाह मानेर नै गतल कानून बनेको हो ।

नेपालको उत्पादन अमेरिकी ग्राहकले ठीक लागेन, म फिर्ता गर्छुभन्दा हामीले त्यो वस्तुको पैसा फिर्ता दिनुपर्छ । तर, हाम्रो कानूनले भने नेपालीले डलर विदेशमा पठाउन पाउँदैन भन्ने छ । अनि कसरी पैसा फिर्ता दिने ?

– कानूनकै कारणले निर्यात घट्दै गएको हो र ? पछिल्लो समय हस्तकला, गलैंचालगायतका वस्तुको निर्यात घटेको छ नि ?

जुन क्षेत्रमा विदेशी संस्थाले त्यसको विकासका लागि भनेर सहयोग गरे त्यही क्षेत्र बिग्रियो । पस्मिनामा जब २० करोडको सहयोग आयो अनि त्यो क्षेत्र पनि बिग्रियो । हाते कागजमा पनि त्यस्तै भएको थियो । ऊनी फेल्ट संघको अध्यक्ष हुनुभन्दा पहिलेदेखि नै विदेशीको सहयोग नलिन दाइहरुलाई भनें । त्यति वेला आफ्नै बलबुताले गर्नुपर्छ र गर्न सक्छौं भनेर नै काम गरेको थिएँ । जति काम गर्‍यो त्यति अनुभव बढ्ने हो । माग्ने प्रवृत्ति नगरौं ।

हामीले जति सक्छौं, त्यति नै गरौं भनेर हामीले काम गर्‍याैं । अहिलेसम्म १ रुपैयाँ सहयोग लिएनौं । अहिले सबैभन्दा धेरै ग्रोथ फेल्ट संघ यही क्षेत्रमा भएको छ । म फेल्टको अध्यक्ष हुँदा १ अर्ब ८० करोड थियो । मेरो कार्यकाल सकिएपछि हेर्दा साढे ५ अर्ब पुगेछ । पे पलको सेवा आउने गरी विदेशी विनिमय ऐन संशोधन गर्ने हो भने २ वर्षभित्र २५ अर्ब यही क्षेत्रबाट सजिलै पुग्छ ।

– पछिल्लो समय निजी क्षेत्रका व्यक्ति आएर विभिन्न पार्टीबाट टिकट लिने र पार्टीबाट आफ्नो स्वार्थ पूरा गर्ने देखिन्छ । यसलाई कसरी चिर्ने ?

देखिएको त्यस्तै हो । तर, निर्यात व्यवसायी यसरी कोही पनि आएका छैनन् । ममात्रै हो । निर्यात गर्ने व्यवसायी राजनीतिमा किन आउनु ? निर्यातकर्तालाई विदेशले ग्रिन कार्ड वा नागरिकता घरमा नै पुर्‍याउन आउँछ । वस्तु निर्यात गर्नेलाई अन्तर्राष्ट्रिय मार्केट धेरै आकर्षक रहेको छ । हामी विदेश यात्रा गर्दा विजनेसक्लास हो । अन्य देश गएर बस्दा ५ तारे होटलमा बस्ने हो । त्यति राम्रो लाइफ छाडेर कोही राजनीतिमा आउँछ ? म पो मूर्ख भएर केही निर्यातका कानून सुधार गरौं र देशको व्यापार घाटालाई अन्त्य गरौं भनेर आएको हो ।

– तपाईं के विदेशीले दिएको ग्रिन कार्ड र नागरिकता नलिएर राजनीतिमा आउनुभएको हो ?

म १५ वर्षदेखि यो देशको विकासका लागि लागिरहेको छु । म गरिब परिवारमा जन्में र धेरै दुःख थियो । यो दुःखको मुक्ति कसरी होला भनेर सोच्दा कसैले राजनीतिक व्यवस्था परिवर्तन गर्नुपर्छ भन्दिए । १५ वर्ष पहिले राजनीतिमा नै रहेको मान्छे म यता नै आउने भहिहालें नि ! निर्यात व्यवसायी यसरी राजनीतिमा आएको पनि छैन । राज्यले निर्यात व्यवसायीलाई केही सहयोग गर्न पनि सक्दैन । नियम-कानूनले हामीलाई नछेक्दिए हुन्छ । अन्य व्यवसाय र निर्यात व्यवसाय फरक होला ।

– सुधार गर्न निर्वाचनमा होमिएको भन्नुभयो, उद्देश्य यतिमात्रै हो र ?

मनमा अर्काे कुरा पनि छ । युवा अवस्थाको छोरीलाई पनि जिम्मेवार बनाउँ भनेर पनि हो । अहिले मैले सबै उद्योग छोडेर राजनीतिमा लागेको छु । छोरी पनि केही दिनमा पढाइ सकेर आउँदैछन् । ५ वर्षसम्म छोरीलाई आफ्नो व्यवसाय छोड्दिउँ, कस्तो कस्तो हुँदोरहेछ हेरौं । त्यसपछि म फेरि गरिहाल्छु ।

– आफ्नो सबै काम छाडेर राजनीति गर्न सम्भव छ र ?

म अलि बृहत सोच्ने मान्छे हो । मैले १५ वर्ष अन्तर्राष्ट्रिय बजारको बारेमा अध्ययन गरेको छु । मेरो अहिले ४ वटा उद्योग छ । मैले उद्योगमात्रै चलाउँदै जाने हो भने ८ देखि २० वटा उद्योग होलान् । तर, मैले मेरो ज्ञान नेपाली समाजमा बाँडे भने ३ वटा काम गर्छ । पहिलो, नेपालमा केही छैन भन्ने युवालाई आशा जगाउँछ । दोस्रो, मैले गरेको उद्योग २० वटासम्म पुग्यो भने अब युवाले २० हजार पुर्‍याउनेछन् । कानूनमा भएको कमजोरीलाई अन्त गर्न सकिन्छ । निजी क्षेत्रबाट गएको प्रतिनिधिको कुरा कर्मचारीतन्त्रले त्यति सुन्दैन । तर, जनप्रतिनिधिले भनेको कुरा कर्मचारीले सुन्ने गरेका छन् । निजी क्षेत्रबाट पे पलको लागि ९ वर्ष सिहंदरबार धाएर असफल भएका मान्छे हामी नै हौं ।

नेपालबाट निर्यात हुने उड ड्राएर बल हो । यो अमेजन टप टेन लिस्टमा १ नम्बरमा छ । मैले प्रतिवर्ष ५० लाख अमेरिकी डलर (५ मिलिएन डलर) को सामान निर्यात गर्ने गरेको छु ।

२ वर्षदेखि त्यो काम नहुने देखेर म जान छाडें । युवालाई यो देशमा राखेन भने देश रहँदैन । ५० लाख युवा विदेशमा छन् भन्ने छ । अब ५० लाख थपिए भने विदेशमा एक करोड पुग्छ । नेपालका ५० लाख युवा विदेशमा भनेको के हो ? जुन देशमा नेपाली युवा हुन्छन् त्यही देशमा ३० देखि ४० प्रतिशत कर तिर्छन् । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यसरी युवाले तिर्ने कर देशलाई नै जान्छ । ती युवालाई नेपालमा नै रोजगारी दिन सक्ने हो भने देशको उत्पादन वृद्धि भई विदशेसम्म वस्तु निर्यात हुन्छ ।

हाम्रो पासपोर्टको स्तर झन घटेको छ । म विजनेसक्लासमा यात्रा गर्दा धेरै दुःख पाएको छु । ग्रिनबाट ब्लु पासपोर्ट बनाउन काम गर्नेछु । वस्तु निर्यातका लागि विभिन्न देश जाँदा चस्मा लाएर मेरो पासपोर्ट चेक गर्छ । चोर र फटाहालाई जसरी हाम्रो पासपोर्ट चेक गर्छ । हङकङ जाँदा मलाई ५औं पटकमा डिटेल इन्भेस्टिकेसनमा हाल्दियो । त्यसपछि कति नमज्जा भयो । यी सबै कुरा राम्रो बनाउन नै म राजनीतिमा आएको हुँ । यो कुरा सुधार गर्नुपर्छ ।

– अमेरिकामा चर्चित तपाईंको प्रोडक्ट कुन हो ? कति निर्यात गर्नुहुन्छ ?

नेपालबाट निर्यात हुने उड ड्राएर बल हो । यो अमेजन टप टेन लिस्टमा १ नम्बरमा छ । मैले प्रतिवर्ष ५० लाख अमेरिकी डलर (५ मिलिएन डलर) को सामान निर्यात गर्ने गरेको छु ।

निर्वाचित सांसदलाई निर्वाचन पूर्वाधार विकास कार्यक्रम भनेर ५ करोड आउँछ ।

मेरो क्षेत्रमा ९६ हजार मतदाता र २२ वटा वडा छन् । ५ करोडलाई डलरमा हेर्दा ४ लाख डलरभन्दा अलि कम हुन्छ । म ५ मिलियन डलरको निर्यात गरिरहेको मान्छे । तर, विकासको नाममा आउने पैसा थोरै छ । यहाँ स्रोत नै छैन, स्रोतको विकास गर्नुपर्छ ।

– ललितपुर आफैंमा सांस्कृतिक नगर हो । यहाँ कसरी काम गर्नुहुन्छ ?

हाम्रो संस्कृतिको ६ वटा अंग छन् । वास्तुकलाअन्तर्गत हस्तकला राख्ने कि छुट्टै राख्ने भन्ने छ । यसलाई छुट्टै राख्दा ६ वटा हुन्छ । नेवारी भोज, रीतिथिति, धर्म, संस्कृति र म्युजिक हो । यसलाई विश्व बजारमा नै सेल गर्न सकिन्छ । वास्तुकला, चाडपर्वलाई पनि पर्यटनको रुपमा सेल गर्न सक्छौं । मेरो निर्वाचन क्षेत्रमा ४६ वटा पोखरी गनेको छु । धेरै त पुरिसकेका छन् ।

मौलिक हिसाबले हाम्रा पुर्खाले बनाएका यस्ता वस्तुलाई टुरिजमको हिसाबमा सेल गर्न सकिन्छ । हाम्रो शहरमा राम्रो पार्क बनाएर हजुरबा, हजुआमा र नातिनातिनासँगै खेल्न जाने अवस्थाको सिर्जना गर्नुपर्नेछ ।

चिडियाखाना पनि सार्ने योजना बनाएको छु । जनावरलाई सानो ठाउँमा थुनेर राखेको छ, त्यो मानवीय छैन । खुला ठाउँमा त्यसलाई सार्नुपर्नेछ । त्यसका लागि हामीसँग वरपर त्यस्ता ठाउँ छन् । हाल जु भएको ठाउँमा ठूलो अस्पताल निर्माण गर्नुपर्छ । आईटी पार्क शहरको बीचमा आवश्यक छ । विश्वका टप व्यवसायीले नेपाललाई हेर्ने दृष्टिकोण फरक छ ।

चिडियाखाना पनि सार्ने योजना बनाएको छु । जनावरलाई सानो ठाउँमा थुनेर राखेको छ, त्यो मानवीय छैन । खुला ठाउँमा त्यसलाई सार्नुपर्नेछ । त्यसका लागि हामीसँग वरपर त्यस्ता ठाउँ छन् । हाल जु भएको ठाउँमा ठूलो अस्पताल निर्माण गर्नुपर्छ ।

१२ वर्षको गृहयुद्ध, दरबार हत्याकाण्ड, एनजीओले गरेको गरिबीको प्रस्तुति फरक छ । त्यसैले आईटी पार्क विमानस्थलबाट नजिक र शहरको बीचमा नै हुनुपर्छ । विश्वका टप व्यवसायीले भारतीयभन्दा नेपाली सिर्जनशील छन् भनेर बुझेका छन् । त्यसैले आईटीको क्षेत्रमा विदेशी आकर्षित हुन्छन् । कस्तो जग्गा चाहिन्छ भन्ने मलाई थाहा छ । मेरो क्षेत्रका जनताको साथ चाहिन्छ ।

– तपाईं समग्र निर्यातलाई नै सुधार गर्छ भन्दै हुनुहुन्छ ? एमालेबाट चुनाव उठ्दै गर्दा पार्टीलाई पनि बुझाउनुपर्ला । अनि त्यो कानून बनाउनु पर्ला । कसरी अघि बढ्नुहुन्छ ?

मैले धेरै जना नेता भेटेको छैन । पार्टीको सदस्यता भने निरन्तर नवीकरण गरिरहेको छु । पार्टीलाई पर्दा सहयोग गरिरहेको थिएँ । यो बीचमा पार्टीको हाई कमान्डका ५ जना नेता भेटें । उहाँहरु देखेर म छक्क परें । तपाईं आउनुपर्छ भन्नुभयो ।

निर्यात प्रवर्द्धन गरेर देशको लागि व्यापार घाटा घटाउने, उत्पादन वृद्धि गर्नेलगायतको काम हाम्रो पार्टीले गर्छ भन्नुभएको छ । निर्यात र उत्पादन वृद्धि गर्न आवश्यक पर्ने रिसर्च र एनलाइसिस सकाएपछि पार्टीको नेतृत्वको टेबलमा लगेर राखिदिदाँ हुन्छ । त्यो हाम्रो पार्टीले लागु गर्छ । यो टीम वर्क हो । मेरो काम यही हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर