तिहार तथा छठमा निःशुल्क मोबाइल बैंकिङ फण्ड ट्रान्सफर गर्न पाइने – Nepal Press

तिहार तथा छठमा निःशुल्क मोबाइल बैंकिङ फण्ड ट्रान्सफर गर्न पाइने

काठमाडौं । तिहार तथा छठको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रवर्४न गर्न कुनै पनि मोबाइल बैंकिङबाट कनेक्टआईपीएसमार्फत फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । सो अफर कार्तिक ७ देखि १३ गतेसम्म लागु हुनेछ ।

चाड पर्वको वेलामा नगदको सट्टा मोबाइलमा आधारित फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन गर्न एनसीएचएल तथा बैंक वित्तीय संस्थाको समन्वयमा सो अफर लागू गरिएको हो ।

फण्ड ट्रान्सफर गर्न आफ्नो मोबाइल बैंकिङ एपमा लग-इन गरी, फण्ड ट्रान्स्फर वा सेन्ड मनीमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएसलाई छनोट गर्नुपर्ने हुन्छ ।

कनेक्ट आईपीएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङमा उपलब्ध छ । उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन ।

हाल मोबाइल बैकिङमा रहेको कनेक्ट आईपीएसमार्फत प्रतिदिन प्रतिकारोबार २ लाखसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।

यस निःशुल्क फण्ड ट्रान्सफरको प्रावधानले फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका लागि मोबाइल बैंकिङको बढ्दो प्रयोगलाई थप प्रोत्साहन गर्नुका साथै चाडपर्वको समयमा नगदको प्रयोग पनि घटाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म एनपीएसअन्तर्गतको रिटेल पेमेन्ट स्विचमार्फत सञ्चालनमा रहेको छ । कनेक्ट आईपीएसमार्फत चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५८२ अर्ब बराबरको १ करोड १० लाखभन्दा बढी भुक्तानी कारोबार फर्छ्योट भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *