‘हिजो चुच्चे नक्सा आयो, अब भूमि फिर्ता ल्याउन फेरि केपी ओली प्रधानमन्त्री बन्नुपर्छ’ – Nepal Press
नेपाल टक

‘हिजो चुच्चे नक्सा आयो, अब भूमि फिर्ता ल्याउन फेरि केपी ओली प्रधानमन्त्री बन्नुपर्छ’

एमाले नेता एलपी साँवा लिम्बू भन्छन्- नीतिका कारण धेरै उद्योगी व्यवसायी एमालेमा आकर्षित भएका छन्

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारहरुले टिकट पाएपछि आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न सुरु गरेका छन् । सत्ता गठबन्धन एक पक्ष र नेकपा एमाले नेतृत्वको अर्काे पक्ष देशभर नै चुनावी मैदानमा छन् ।

उद्योगी तथा व्यवसायी एलपी साँवा लिम्बूले झापा क्षेत्र नम्बर ४ मा नेकपा एमालेबाट संघीय सांसदको लागि उम्मेदवारी दिएका छन् । उनीसँग सत्ता गठबन्धनका तर्फबाट देउकुमार थेवे चुनावी प्रतिस्पर्धामा छन् । एमालेले पनि राप्रपासँग तलमेल गरेको छ । तर, राप्रपा नै भनेर चिनिएकी खुश्बु ओलीले पनि स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

२०७४ सालको निर्वाचनमा जीत हासिल गरेका एलपी साँवा लिम्बूसँग चुनावको तयारी, जित्ने आधार के के छन् भन्नेलगायतका विषयमा नेपालप्रेसका राजाराम न्यौपानेले गरेको कुराकानीः

– चुनावी रौनक छाइसकेको छ ? कसरी अगाडि बढिरहनुभएको छ ?

निर्वाचन अभियान सुरु हुनुभन्दा पहिले नेकपा एमालेले देशभर गठबन्धनको सरकार र गठबन्धनका उम्मेदवारविरुद्ध समृद्ध नेपाल सुखी नेपाली निर्माण अभियानका निम्ति उम्मेदवार चयन गरेको छ । पार्टीले प्रतिनिधिसभा क्षेत्रिय कमिटी, जिल्ला कमिटी र केन्द्रीय कमिटी हुँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले फेरि जनताको सेवामा मलाई पठाउनुपर्छ भनेर टिकट दिनुभयो । मैले मनोनयन गरिसकेको छु । अब हामी निर्वाचन अभियानमा जाने तयारीमा छौं ।

– तपाईं चुनाव जित्ने कतिको सहज देख्नुहुन्छ ?

निर्वाचनमा सहज र असहज आआफ्नै पाटा हुन्छन् । हामी असहजलाई नै सहज बनाउँछौं । चुनावी परिणाम नेकपा एमालेको पक्षमा आउने गरेर नै हामी अगाडि बढेका छौं । समृद्ध नेपाल सुखी नेपालीको निर्माण नेकपा एमालेमात्रै गर्नसक्छ भनेर जनतालाई बुझाउने काम गरिरहेका छौं ।

चुनावलाई सहज बनाउने काममा हामी छौं ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संविधानतः हामीले चुच्चे नक्सा ल्याएका थियौं । अब त्यो भूमि ल्याउनुपर्छ भन्नेहरुको मत हामीलाई चाहिएको छ ।

– झापामा तपाईं जित्ने आधार के के हुन् । त्यहाँका जनताले तपाईलाई किन जिताउने ?

हामी नेकपा एमालेका उम्मेदवार हौं । एमालेले अघि सारेको नीतिगत विकास निर्माणको काम र लोककल्याणकारी राज्य स्थापना गर्ने हो । लोककल्याणकारी राज्य निर्माणका लागि ज्येष्ठ नागरिक भत्ताको नीति ल्याइएको थियो । अहिले पनि त्यो निन्तर नै छ । एकल महिला र अन्य विभिन्न प्रकारको भत्ता एमालेले नै सुरु गरेको हो ।

अर्काे भनेको जो असुरक्षित बसोबास गरिरहेका छन् । पानी पर्दा पानी छिर्ने र हावाहुरी आउँदा अरुको घरमा गएर बस्नुपर्ने नागरिकहरुको लागि नेकपा एमालेले सुरक्षित आवास कार्यक्रम ल्यायो । मेरो निर्वाचन क्षेत्रमा १ हजार ८५ घरपरिवारलाई सुरक्षित आवास दियौं । अहिले उहाँहरु सुरक्षित आवासमा बस्नुभएको छ ।

एमालेले घरजग्गा नभएका भूमिहीन र दलितलाई घर निर्माण गर्न जनता आवास कार्यक्रम ल्यायो । मेरो निर्वाचन क्षेत्रको सबै पालिकामा यो कार्यक्रम सञ्चालन भएको छ । कन्काईमा मेयर आवास कार्यक्रम, झापा गाउँपालिकामा जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरेर जनतालाई दिएका छौं । गौरीगञ्ज गाउँपालिकालगायत अन्य ठाउँमा जग्गा नभएका स्थानीयलाई जग्गा र घर बनाएर दिएका छौं । एमाले गरिब जनताको पार्टी हो ।

यीबाहेक राष्ट्रिय गौरवको आयोजनामा हुलाकी मार्ग निर्माण मेरो निर्वाचन क्षेत्रमा २९ किलोमिटर सडक कालोपत्रे हुने क्रममा छ ।

उत्तर र दक्षिण जोड्ने सडक जस्तै सतासीधाम, झिलझिले बजार हुँदै जनतादेखि हुंकलबारी २७ किलामिटर सडक निर्माणको अन्तिम चरणमा छ । सुरुंगादेखि भारतसँम्म जाने सडक निर्माणको काम अन्तिम चरणमा रहेको छ ।

२०७५ देखि २०८५ सालभित्र निजी विद्यालय र सरकारी विद्यालयमा उस्तै शिक्षा प्रदान गर्न सरकारी विद्यालय सुधारको काम गरेका थियौं । राष्ट्रपति शिक्षा सुधार आयोजनाबाट शिक्षामा एकरुपता ल्याउने काम हामीले गरेका छौं ।

मेरो क्षेत्रमा पर्ने सरकारी विद्यालयमा निजी क्षेत्रको जस्तै गुणस्तरीय शिक्षा दिनेगरी मैले काम गरेको छु । सरकारी विद्यालयको राम्रो भवन निर्माण भएको छ । सरकारी विद्यालयमा आईसीटी ल्याब निर्माण भएको छ । यी काम मैले गरेकाले नै मेरो क्षेत्रमा म नै जित्छु ।

अहिलेको गठबन्धन विचार र सिद्धान्त नै नमिल्नेहरुको हो । गठबन्धनभित्र नै कोही संघीयताको पक्षमा छन् भने कोही विपक्षमा छन् ।

– राजनीतिक दलहरु पछिल्लो समय गठबन्धन गरेर चुनावमा होमिन थालेको छन् । तपाईंहरुको पनि राप्रपासँग तालमेल भएको छ । तर, राप्रपाले किन उम्मेदवारी दियो ?

झापामा एमाले र राप्रपाको तालमेल छ । मेरो निर्वाचन क्षेत्र नम्बर ४ हो । मेरो निर्वाचन क्षेत्र ४ को प्रदेशसभा १ मा एमालेका राधाकृष्ण खनाल हुनुहुन्छ । प्रदेशसभा २ मा राप्रपाका भक्ति सिटौला उम्मेदवार हुनुहुन्छ ।

तर, कोही पार्टीमा नरहेर स्वतन्त्रमा आएका छन् । उनीहरुलाई हामी पार्टीका उम्मेदवार भन्दैनौं, स्वतन्त्रमा पनि उठ्न पाउँछन् ।

राप्रपा, एमाले, जनता समाजवादी पार्टी र राष्ट्र पक्षधरहरुको मत हामीलाई चाहिएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संविधानतः हामीले चुच्चे नक्सा ल्याएका थियौं । अब त्यो भूमि ल्याउनुपर्छ भन्नेहरुको मत हामीलाई चाहिएको छ । हामीलाई सबैको मत चाहिन्छ ।

– पछिल्लो समय उद्योगी व्यवसायी राजनीतिमा आकर्षित भएका छन् । तपाईं पनि व्यवसायी हुनुहुन्छ । राजनीतिमा आउनुभयो । व्यवसायीले पैसाको बलमा राजनीतिमा प्रवेश पाउने र संसदमा पुगेपछि उनीहरुले आफ्नो व्यापार व्यवसायलाई फाइदा हुने गरी नीति नियम बनाउने गरेको आरोप छ । यो कति साँचो हो ?

म २०३६ सालदेखि नै वाम आन्दोलन तथा बहुदल र निर्दलका बेला म बहुदलमा लागेको थिएँ । म २०३८ सालदेखि नै विद्यार्थी राजानीतिमा जोडिएको हुँ । २०४३ सालमा धरान कलेज हात्तीसारको नेतृत्व गरेको थिएँ । त्यसपछि पार्टीको विभिन्न कमिटीमा बसेर काम गरेको हुँ ।

म जिल्लादेखि प्रदेश कमिटीसम्म पुगेको थिएँ । म उद्योगी व्यवसायीमात्रै होइन । म कालखण्डमा आत्मनिर्भर बन्न उद्योगी व्यवसायी बन्नुपर्छ भन्ने लागेर जोडिएको हो । तर, म एमाले नै हो ।

एमालेको नीतिका कारण धेरै उद्योगी व्यवसायी आकर्षित भएका छन् । केही उद्योगी व्यवसायीले एमालेबाट टिकट पाउनुभएको छ ।

उद्योगी व्यवसायीको केही स्वार्थ छैन । देश विकासमा केही अंश भए पनि सहयोग पुग्छ भनेर आइरहनुभएको जस्तो मलाई लाग्छ । उद्योगी वा व्यवसायी स्वार्थको लागि राजनीतिमा आएका होइनन् ।

– राजनीति र व्यवसाय सँगसँगै अगाडि बढाउँदा विरोधाभास हुँदैन र ?

सबै कुरालाई मिलाएर लानुपर्छ । कुनै पनि कुरा सजिलो हुँदैन । कृषकहरुले पनि कृषि गर्छन्, त्यो सँगै राजनीति गर्छन् । अन्य व्यवसायी पनि त्यहीअनुरुप नै छ ।

– एमाले यसअघिको चुनावमा माओवादीसँग गठबन्धन बनाएको थियो । तर, अहिले सत्ता गठबन्धनको किन विरोध गर्दैछ ?

अहिलेको गठबन्धन र पहिलेको गठबन्धन फरक थियो । पहिले पार्टी नै एकीकरण गर्ने उद्देश्य थियो । तर, अहिलेको गठबन्धन विचार र सिद्धान्त नै नमिल्नेहरुको हो । गठबन्धनभित्र नै कोही संघीयताको पक्षमा छन् भने कोही विपक्षमा छन् ।

गठबन्धनको विचार, योजना, दिशा केही पनि छैन । कहाँ पुग्ने भन्ने लक्ष्य नै छैन । मन्त्री बन्नमात्रै गठबन्धन बनेको हो ।

हाल भएको र चुनावमा गएको गठबन्धनको विचार, योजना, दिशा केही पनि छैन । कहाँ पुग्ने भन्ने लक्ष्य नै छैन । मन्त्री बन्नमात्रै गठबन्धन बनेको हो । बजेट निर्माण गर्दासमेत अवैध वा अनधिकृत मान्छे प्रवेश गराएका थिए । करका दर हेरफेर, हिसाब मिलान र सीसीटीभी फुटाइयो ।

अहिलेको गठबन्धनले गरेको कामले देशलाई विकास गर्दैन । यो गठबन्धन त विनाशको लागि मात्रै बनेको देखिन्छ ।
गठबन्धन निर्माणले मुलुक भोलि २ पार्टी सिस्टममा जान्छ ।

– राजनीतिक दलहरूले चुनावको मुखमा घोषणापत्रमा विकासको खुबै कुरा गर्छन् । तर, जितेपछि किन बिसिइन्छ ?

हामीले घोषणापत्रमा समावेश कुरा गरेका छौं । एमालेको ३ वर्षे सरकारको पालामा पुनर्निर्माणको काम भएको थियो । ढलेको धरहरा उठाइयो, रानीपोखरी निर्माण गरियो ।

लुम्बिनी र पोखरा २ वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भयो । गोदावरीमा अन्तर्राष्ट्रियस्तरको कभर्ड हल निर्माण भएको छ । ५ हजार मान्छे अट्ने हल लुम्बिनीमा बनेको छ । १८ महिनामै भारतबाट पाइपलाइनबाट पेट्रोलियम पदार्थ नेपाल आएको छ । एमाले सरकारमा रहेको आफ्नो घोषणापत्रअनुसार नै काम गरेको थियो ।

यो नयाँ सरकार निर्माण भएपछि कुनै विकासको काम भएको छैन । पहिलेको सरकारले गरेको कामलाई पनि यो सरकारले निरन्तरता दिन सकेको छैन । ओली प्रधानमन्त्री भएका बेला बजेटको अभाव थिएन । त्यतिखेर अन्तर्राष्ट्रिय मुद्रा १४ अर्ब अमेरिकी डलर थियो । अहिलेको सरकार निर्माण भएपछि ९ अर्ब रहेको छ ।

मुद्रा अभावले विदेशी वस्तु आयात अहिले प्रतिबन्ध छ । अहिलेका प्रधानमन्त्रीले केही समयअघि कर्मचारीलाई तलब खुवाउने पैसा छैन भनेर बोलेका छन् ।

– तपाईंले जितेको खण्डमा वस्तु आत्मनिर्भरका लागि के गर्नुहुन्छ ?

पहिले पनि एमालेको सरकारको पालामा कृषिलाई आधुनिकीकरण गरेर जानुपर्छ भन्ने थियो । मल अभाव छ । एमाले सरकारको बेला मल कारखाना नेपालमा नै खोल्नुपर्छ भनेर अध्ययन गरेको थियो । नयाँ सरकार बनेपछि मल अभावको विषय नै भुलेको छ । एमालेले उत्पादन वृद्धि गर्न तराई मधेस सिंचाइ सञ्चालन गरेको थियो ।

एमालेले देशलाई औद्योगीकरण र रोजगारी सिर्जना गर्ने काम गरेको थियो । अब पनि त्यसैलाई निरन्तरता दिने हो ।

यसभन्दा पहिले २० प्रतिशत काम भएको थियो । अब बाँकी ८० प्रतिशत काम गर्नुपर्नेछ ।

– तपाईंहरुले मतदातालाई प्रयोगमात्र गर्नुभयो भन्ने गुनासा छ । भोट माग्नुहुन्छ त्यही भोटको बलमा संसद छिर्नुहुन्छ । अनि अर्को चुनाव नआउञ्जेल अत्तोपत्तो हुँदैन । चुनाव आउने केही समय अघिमात्रै जनताको घरमा जान्छन् । तपाईंहरुलाई अरुवेला जनता चाहिँदैन ?

२०७० सालमा चुनाव लडें । त्यो वेला २७० मतले हारे । तर, म चुनाव हारे पनि गाउँ गएँ र सबैलाई धन्यवाद दिएँ । त्याभन्दा अगाडि जिते वा हारेमा नजाने । आफूले जितेको वा हारेको सबै ठाउँ नै थाहा नहुने ।

२०७४ सालमा जित्दा पनि गाउँ-गाँउमा गएर समस्या बुझें । म विद्यालयको अवस्था कस्तो छ, गाउँमा के कुराको अभाव छ । कच्ची सडक कसरी बनाउन सकिन्छ भनेर आफ्नो निर्वाचन क्षेत्रमा गएँ ।

– पहिल्यै सांसद भइसक्नु भएको छ । पुनः सांसद भएर त्यहाँ गर्न के बाँकी छ ?

सडक पूर्वाधार निर्माणको काम बाँकी छ । हजारौं किलोमिटर सडक कच्ची नै छ । त्यो सडक निर्माणको काम गर्नु छ ।

मेरो कार्यकालमा पनि केही सय किलामिटर सडक कालोपत्रे गरेको छु । त्यहाँ पुग्दो भएको छैन । मेरो क्षेत्रमा कन्काई नदी र कमल जस्ता ठूला नदीबाहेक ससाना खोलाहरु धेरै छन् । ती खोलाहरु नियन्त्रण गर्ने काम गर्नुपर्नेछ । यसभन्दा पहिले २० प्रतिशत काम भएको थियो । अब बाँकी ८० प्रतिशत काम गर्नुपर्नेछ ।

डिप बोरिङ र ओभर हेड ट्यांकी बनेको छ । अब खानेपानी पाइपबाट घरघरमा पुर्‍याउनुपर्ने काम बाँकी छ ।

– अर्थतन्त्रको सुधार कसरी गर्ने र निजी क्षेत्र यो सरकारसँग किन रुष्ट छ ?

अहिलेका प्रधानमन्त्रीबाट आर्थिक सुधार हुँदैन । अब नयाँ प्रधानमन्त्री ओली नै बन्नुपर्छ ।

हाम्रो स्थानीय सरकारमा पनि केही समस्या छ । त्यो सुधार गरेर जानुपर्छ । हाम्रो कर्मचारीतन्त्रमा सुधार र विकासको भिजन भएको व्यक्ति प्रधानमन्त्री हुँदामात्रै हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर