प्रकाशमानको प्रतिबद्धतापत्र- निःशुल्क वाई फाई जोनदेखि फ्लाईओभर/अण्डरपाससम्म – Nepal Press

प्रकाशमानको प्रतिबद्धतापत्र- निःशुल्क वाई फाई जोनदेखि फ्लाईओभर/अण्डरपाससम्म

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं‍ १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।

प्रतिबद्धतापत्रमा सिंहले आफ्नो निर्वाचन क्षेत्रमा निःशुल्क वाई फाई जोनदेखि फ्लाईओभर र अण्डरपाससम्म निर्माण गर्ने उल्लेख गरेका छन् ।

‘निर्वाचन क्षेत्रवासीलाई डिजिटल प्रविधिसँग जोडिन निःशुल्क तालिम र सूचना प्रविधिको पहुँच बढाउन निःशुल्क वाई फाई जोनको व्यवस्था गर्ने,’ प्रतिबद्धतापत्रमा भनिएको छ, ‘उच्च सवारी चाप हुने क्षेत्रमा अनिवार्य ओभरहेड पुल निर्माण, मुख्य सडकमा सम्भाव्यता अध्ययन गरी फ्लाईओभर वा अन्डरपास बनाउने ।’

युवालाई सीप तथा दक्षता अभिवृद्धि तालिममार्फत स्वदेशमै क्षमताअनुसारको रोजगारी सुनिश्चितता गर्ने प्रतिबद्धता पनि सिंहले जनाएका छन् । उनले निर्वाचन क्षेत्रलाई शून्य फोहोर मैला उत्सर्जन क्षेत्र बनाउन आवश्यक पहल गर्ने समेत उल्लेख गरेका छन् ।

‘सरकारबाट प्राप्त हुने निःशुल्क औषधी प्राप्त हुने स्थानबारे आमजनतालाई सुसूचित गर्ने र त्यस्ता औषधी निःशुल्क उपलब्ध गराउने,’ प्रतिबद्धता पत्रमा भनिएको छ, ‘स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने ।’

प्रतिबद्धता पत्रमा उनले स्वच्छ पिउने पानी उपलब्ध गराउन हर सम्भव प्रयत्न गर्ने, मेलम्चीको पूरक स्रोत खोजी गर्ने, २१औँ शताब्दी युग सुहाउँदो सुरक्षित मार्ग, सीसीटीभी क्यामेरा जडित टोल, सडक निर्माण गर्ने, बागमती, रुद्रमती र इच्छुमती स्वच्छ र सफा राख्ने, बागमती कोरिडोरमा हरियाली पार्क निर्माण गर्ने लगायतका वाचा पनि गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर