कांग्रेसले भन्यो- गठबन्धन सरकारले नागरिकका आवाजलाई सम्बोधन गरेको छ – Nepal Press

कांग्रेसले भन्यो- गठबन्धन सरकारले नागरिकका आवाजलाई सम्बोधन गरेको छ

‘उम्मेदवारी धेरै ठाउँमा दिनु ठुलो कुरा होइन, जित्नु हो’

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको सरकारले हरेक नेपालीको आवाजलाई सम्बोधन गरेको दाबी गरेको छ।

पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रवक्ता प्रकाश शरण महतले गठबन्धनले देशलाई सही ट्याकमा ल्याएको दाबी गरेका हुन्।

उनले भने, ‘कुन परिस्थितिमा गठबन्धनको सरकार बनेको सबैलाई थाहा छ। गत साल असार निर्माण भएको गठबन्धन सरकारले छोटो समयमा देशलाई अडरमा ल्याएको छ। कोरोना नियन्त्रण, विदेश नीतिमा सन्तुलन, जनताको विषयलाई प्राथमिकता राखेको छ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गरेर संवैधानिक अंगमाथि भएको प्रहार गरेपछि गठबन्धन बनेको बताए। उनले गठबन्धनले हरेक नागरिकका आवाजलाई सम्बोधन गर्ने कोसिस गरिरहेको दाबी गरे।

उनले संविधानले दिएको अधिकारलाई पूर्ण रूपमा लागू गरेको बताए।

स्थानीय तहको निर्वाचन निष्पक्ष ढंगबाट गरिसकेकाले अब आगामी प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउने लक्ष्य लिएको बताए।

उनले भने, ‘हामीले सीट बाँडफाँट गरेपछि चुनावी तयारीमा जुटेका छौँ। जसपा बाहिरिएको छ।
हामीले उदारताको साथ सीट बाँडफाँट गरेका छौँ। तर, जसपा बाहिरिएको छ। उहाँहरूको मूल्यांकन जनताबाट हुन्छ।’

गठबन्धनबाट उम्मेदवारी दिएकाले मतदातालाई सचेत बनाउने लाग्नुपर्ने बताए।

उनले भने, ‘हामीले धेरै सीटमा उम्मेदवारी दिने भन्दा पनि जित्नुपर्छ भन्ने हाम्रो धारणा हो। गठबन्धनका सबै दलहरू लाग्नुपर्छ। हामीले कांग्रेस नेतृत्वको सरकार बनाएर संविधानको रक्षा गर्ने लक्ष्य लिएका छौँ।’

गठबन्धनकै कारणले योगदान गरेका नेताहरूलाई पनि उम्मेदवार बनाउन नसकेको स्वीकार गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर