रुपन्देहीमा अनुहार पुरानै दोहोरिए, तीनजना संघबाट प्रदेशमा झरे – Nepal Press

रुपन्देहीमा अनुहार पुरानै दोहोरिए, तीनजना संघबाट प्रदेशमा झरे

रुपन्देही । लुम्बिनी प्रदेशका सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा प्रतिनिधिसभा तथा प्रदेशसभाका अधिकांश उम्मेदवार पुरानै दोहोरिएका छन् ।

सत्ता गठबन्धन दल तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेपाल समाजवादी पार्टीको गठबन्धन तथा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राप्रपा र जनता समाजवादी पार्टीबीचको तालमेलमा बनेको गठबन्धनबाट मात्र होइन अन्य दलबाट समेत अधिकांश उम्मेदवार पुरानै अनुहार दोहोरिएका छन् ।

नेकपा एमालेबाट क्षेत्र नं १ मा छविलाल विश्वकर्मा र २ मा विष्णुप्रसाद पौडेल पुरानै अनुहा हुन् । क्षेत्र नं ५ मा बासुदेव घिमिरे एमालेका नयाँ अनुहार हुन् । एमालेले क्षेत्र नं ३ मा राप्रपा र ४ मा जसपासँग तालमेल गरेर छाडेको छ । राप्रपाबाट पुराना नेता दीपक बोहोरा तथा जसपाबाट गुल्जारी यादव उम्मेदवार छन् । बोहोरा पञ्चायतकालदेखि नै जनप्रतिनिधि हुन् । यादव पनि यसअघि संसद र मन्त्री बनिसकेका छन् ।

सत्ता गठबन्धनबाट क्षेत्र नं १ मा एमाले छाडेका नेता घनश्याम भुसाल उम्मेदवार छन् । उनी २०५१ सालदेखि संसदीय यात्रामा भिडिरहेका छन् । गठबन्धनबाट क्षेत्र नं २ मा उठाइएका नेकपा एसका नेता राजु गुरुङ नयाँ अनुहार हुन् । बैकिङ कसुरको मुद्दा देखाएर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेपछि गुरुङ सर्वोच्च पुगेका छन् ।

क्षेत्र नं ३ मा नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाण २०४८ सालदेखि नै चुनावी मैदानमा छन् । क्षेत्र नं ४ मा कांग्रेसका प्रमोद यादव पनि यसअघिकै सांसद हुन् । क्षेत्र नं ४ मा लोसपाबाट पुराना नेता सर्वेन्द्रनाथ शुक्ला उम्मेदवार छन् । कांग्रेसबाट क्षेत्र नं ५ का भरत शाह २०५१ सालदेखिका उम्मेदवार हुन् । उनीहरुमध्ये गुरुङ र यादवमात्र युवा हुन् ।

केही नयाँ दल र स्वतन्त्रबाट भने नयाँ अनुहार मैदानमा छन् । तर, अधिकांश स्वतन्त्र उम्मेदवार ठूला पार्टीले बनाएका डमीमात्रै हुन् । चुनावको समयमा काम लाग्ने गरी त्यसरी डमी उम्मेदवार बनाउने चलन नै बसेको छ ।

प्रदेशसभा सदस्यमा पनि अधिकांश पुरानै अनुहार प्रतिस्पर्धामा छन् । एमाले, कांग्रेस, माओवादीबाट अधिकांश पुरानै उम्मेदवार दोहोरिएका छन् । केही क्षेत्रमा मात्रै नयाँ अनुहार छन् । जसपामा नयाँ र पुरानाको समीश्रण देखिन्छ । हाम्रो नेपाल पार्टी नयाँ भएकाले नयाँ अनुहार छन् र स्वतन्त्रबाट पनि नयाँ अनुहार छन् ।

रूपन्देहीमा यसअघि संघीय संसदको अनुभव संगालेका, संघमै मन्त्री भइसकेका व्यक्तिसमेत प्रदेशमा ओर्लिएका छन् । यसअघि संघीय सांसद बनेर राज्यमन्त्री भएका कांग्रेसका पूर्वजिल्ला सभापति अब्दुल रज्जाक अहिले प्रदेशसभाको मैदानमा छन् ।

पुराना नेता रज्जाक रुपन्देही १ (ख) बाट चुनावी मैदानमा होमिएका हुन् । प्रतिनिधिसभा सदस्यका आकांक्षी रज्जाक आफ्नो क्षेत्र गठबन्धनमा आबद्ध दल माओवादीको भागमा परेपछि मुख्यमन्त्रीको लक्ष्यसहित प्रदेशसभामा ओर्लिएका हुन् ।

रुपन्देही २ (क) मा गठबन्धनबाट टिकट पाएका माओवादीका वामदेव क्षेत्री अन्तरिम विधायक हुन् । क्षेत्र नं ५ (क) का उम्मेदवार विनोद पहाडी संविधानसभा सदस्य हुन् । उनीहरु यसपटक गठबन्धनका साझा उम्मेदवार बनेका छन् ।

रुपन्देही १ (क) मा कांग्रेसका विश्वनाथ यादव र एमालेको तालमेलमा राप्रपाका आशिषकुमार चौधरी प्रतिस्पर्धामा छन् । उनीहरु नयाँ अनुहार हुन् । रुपन्देही १ (ख) मा कांग्रेसका पूर्वजिल्ला सभापति रज्जाक र एमालेका दधिराम न्यौपानेबीच मुख्य प्रतिस्पर्धा हुनेछ । एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज न्यौपाने नेकपा विभाजनपछि माओवादी छाडेर एमालेमा बसेका हुन् ।

यसअघि उनी नेकपा माओवादीबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । तर, एमालेमा लागेपछि माओवादीले प्रदेशसभाबाट हटाएकाले पूरै कार्यकाल बिताउन पाएनन् ।

रुपन्देही २ (क) मा गठबन्धनबाट कांग्रेसले दीर्घबहादुर केसीलाई उम्मेदवार बनाएको छ । उनी नेपाल ओलम्पिक कमिटीका केन्द्रीय सदस्य र अखिल नेपाल फुटवल संघ (एन्फा) का केन्द्रीय उपाध्यक्ष हुन् । उनी एमालेबाट प्रदेश सरकारका पूर्वमन्त्री लीला गिरीसँग प्रतिस्पर्धा गर्दैछन् ।

रुपन्देही २ (ख) मा एमालेबाट भोजप्रसाद श्रेष्ठ उम्मेदवार छन् । उनी यसअघि पनि प्रदेशसभामा सोही क्षेत्रबाटै निर्वाचित भएका थिए । श्रेष्ठसँग गठबन्धनबाट माओवादीका वामदेव क्षत्री उम्मेदवार छन् । उनी प्रदेशसभाका लागि नयाँ अनुहार हुन् । क्षेत्री यसअघि प्रदेश योजना आयोगका उपाध्यक्ष थिए ।

रुपन्देही ३ (क) मा गठबन्धनबाट लोसपाका सन्तोषकुमार पाण्डेय, एमालेसँगको तालमेलबाट जसपाबाट महेन्द्र यादव र जनमत पार्टीबाट सलाउद्दिम आलम उम्मेदवार छन् । पाण्डेय यसअघि प्रदेशसभामा प्रतिनिधित्व गरेर मन्त्री भइसकेका छन् । रुपन्देही ३ (ख) मा एमालेका तुलसीप्रसाद चौधरी र कांग्रेसका पुराना नेता रामचन्द्र ढकाल प्रतिस्पर्धी छन् । चौधरी दोस्रोपटक प्रदेशसभा निर्वाचन लड्दैछन् ।

त्यस्तै क्षेत्र नम्बर ४ (क) मा एमालेका सुनिलकुमार गिरी, कांग्रेसका अष्टभुजा पाठकलगायत उम्मेदवार छन् । गिरी नयाँ हुन् भने पाठक यसअघिकै प्रदेशसभा सदस्य हुन् । यहाँ जसपाबाट रामअवतार यादव र जनमत पार्टीबाट दीपेन्द्रनाथ शुक्ल पनि उम्मेदवार छन् ।

रुपन्देही ५ (१) मा गठबन्धनबाट माओवादी केन्द्रका विनोद पहाडी र एमालेका भूमिश्वर ढकाल मुख्य प्रतिस्पर्धी छन् । पहाडी संविधानसभा सदस्य हुन् भने ढकाल यसअघि प्रदेशसभा सदस्य बनेर पार्टीको प्रमुख सचेतक बनेका थिए । जनमत पार्टीबाट अनुरागनाथ शुक्ल पनि उम्मेदवार छन् ।

रुपन्देही ५ (ख) मा कांग्रेसका फकरुद्धिन खान र एमालेका रामचन्द्र यादव उम्मेदवार मुख्य उम्मेदवार छन् । खान गत निर्वाचनमा समेत कांग्रेसबाट निर्वाचित भएर पार्टीको प्रमुख सचेतक बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर