‘३० वर्ष अपराध र अपराधीको सफाया गरें, अब फोहोर राजनीतिको सफाइ गर्छु’ – Nepal Press
नेपाल टक

‘३० वर्ष अपराध र अपराधीको सफाया गरें, अब फोहोर राजनीतिको सफाइ गर्छु’

सर्वेन्द्र खनाल भन्छन्- काठमाडौं ६ का जनताले गर्व गर्ने जनप्रतिनिधि बन्नेछु

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छन् । काठमाडौं ६ बाट नेकपा एमालेको आधिकारिक उम्मेदवार बनेका खनाल पूर्वप्रहरी प्रमुख भएका कारण पनि चर्चामा छन् । कुनै बेला इन्काउन्टर स्पेसलिस्टको समेत उपाधि पाएका खनाल केही समयअघि मात्र औपचारिक रुपमा एमालेमा प्रवेश गरेका थिए ।

मंसिर ४ को निर्वाचनमा ३० वर्षे सेवा अवधि पूरा गरेर प्रत्यक्ष राजनीतिमा होमिएका खनाल नेपाली कांग्रेस नेता भीमसेनदास प्रधानसँग चुनावी प्रतिस्पर्धामा छन् । खनालको संयोग नै मान्नुपर्छ उनका दाजु सुविर खनाल जो गिरिजाप्रसाद कोइराला र सुशील कोइराला प्रधानमन्त्री हुँदा प्रमुख स्वकीच सचिव तथा सल्लाहकार थिए उनी कांग्रेस राजनीतिमा छन् ।

प्रस्तुत छ, एमाले उम्मेदवार सर्वेन्द्र खनालसँग नेपालप्रेसले गरेको कुराकानीको सम्पादित अंश :

– तीन दशक नेपाल प्रहरीमा सेवा गरिसकेपछि अहिले प्रत्यक्ष राजनीतिमा प्रवेश गर्नुभएको छ । त्यति लामो समय जनताकै सेवा गर्दा पनि नपुगेर राजनीतिमा प्रवेश गर्नुभयो है ?

प्रहरी सेवाबाट राष्ट्र र जनताको सेवामा लागेको हो । अहिले रिटायर्डमेन्टपछि बसिरहेको थिएँ । अन्य केही सामाजिक काम गरौंला, जीवन सहज होला भन्ने थियो । तर, म समाज र समुदायकै सेवामा रमाउने स्वभावको मान्छे रहेछु । त्यसले गर्दा पनि राजनीतिमार्फत् जनताको सेवामा पुनः तत्पर भएँ ।

बस्तीभरि ढल छ । एक दिनमै बन्ने कुरामा किन अलमल ? धुलाम्मे बाटो बनाउन कुनै मन्त्रीलाई भन्नु पर्दैन । तर, त्यो बाटो बनाउन दिएको बजेट कमिसनमा जानुभएन नि त !

प्रहरी सेवामा रहँदा अपराध र अपराधीलाई ठीक गरेर समाजलाई सन्तुलनमा राख्ने बानी परेको रहेछ । सँगै राष्ट्र र जनतालाई अझै समय दिनुपर्छ भन्ने लाग्यो । अर्कातिर राजनीति फोहोरी खेल भयो भन्ने अनुभव नेपाल प्रहरीमा हुँदै गरेको थिएँ ।

राजनीतिक नेतृत्वबाट कहाँ कहाँ हस्तक्षेप हुन्छ भन्ने पनि थाहा छ । के के कुरामा स्वार्थ जोडिएको हुन्छ भन्ने पनि थाहा छ । त्यस्तो हुनुहुन्न भनेर ३० वर्षसम्म लडाइँ गरेँ । शुद्धीकरणका लागि पनि लागेँ । रिटायर्ड भएपछि पनि अझै देशलाई सही दिशामा लैजान र मुलुक समृद्ध बनाउन योगदान दिन सक्छु भन्ने महसुस भएपछि राजनीतिमा आएँ ।

– नेपाल प्रहरीमा ३० वर्ष बिताउनुभएको तपाईं जनताका लागि नयाँ अनुहार होइन । तर, अहिले राजनीतिमा आफूलाई नयाँ अनुहार लाग्छ कि लाग्दैन ?

राजनीति गर्नेहरु को-को के हुनुहुन्छ भनेर थोरबहुत थाहा छ । धेरैसँग राम्रै संवाद भएको छ । मेरो बुझाइ राजनीति देश र जनताका लागि हुनुपर्छ भन्ने हो । प्रहरी, प्रशासकहरु राजनीति जान्दैनन् भनिन्छ । तर, राजनीति भनेको त राम्रो काम गर्ने न हो ! समाजलाई बुझ्ने हो ।

जनताका लागि नीति निर्माण गर्ने हो । विकासका योजनाहरु बनाएर कार्यान्वयन गर्ने हो । जनताको सेवा सुविधाका लागि खट्ने हो । तर, राजनीति खेल हो, अनेक जान्नुपर्छ भन्ने कुरामा त्यति विश्वास छैन मलाई । जनताका लागि राम्रो काम गर्नुपर्छ, त्यही राजनीति हो ।

– तपाईंको प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री भीमसेनदास प्रधान हुनुहुन्छ । तपाईं भर्खर खुला राजनीतिमा प्रवेश गर्दै हुनुहुन्छ । चुनावी नतिजालाई कसरी हेरिरहनुभएको छ ?

राजधानीको प्रतिनिधित्व गरेर उहाँ पटकपटक मन्त्री हुनुभयो । तर, अहिले कतिपय विधेयकहरु यत्तिकै छन् । मुलुकलाई चाहिने कानून बनाउन उहाँहरुले सक्नुभएन । यो कुरा जनताले बुझिसकेका छन् । राजधानीवासी र आफ्नो क्षेत्रको समस्या समाधान गर्न लाग्नुप¥यो नि ! त्यहाँ उहाँको क्षमता प्रदर्शन भएन । विगतमा राम्रो उम्मेदवार नपाउँदा जनता अलमलमा थिए ।

अहिले हामी आफूलाई जनताको सेवामा प्रमाणित गरेर आएका छौं । जनताको सेवाप्रति कति प्रतिबद्ध थिएँ, त्यो विगतमा प्रमाणित गरिसकेको छु । अहिले विशेष गरेर युवाहरुले आफ्नो भविष्य अन्धकार देखिरहेका छन् । सँगै विकास निर्माण, पूर्वाधारहरुका सवाल छन् ।

साइबर अपराधका कारण कत्ति मान्छेले आत्महत्या गरेका छन् । यस्तो कुरामा सरकारले ध्यान दिएको खै त ? केपी ओलीको सरकार हुँदा मेरो इनिसियसनमा साइबर व्युरो स्थापना भयो । अहिले १४ तले भवन बन्दैछ ।

मानवीय विकास, मानसिक स्वास्थ्यका सवाल छन् । हामीले घोषणापत्रलाई मात्रै लामो समय विश्वास गर्‍यौं, भोट हाल्यौं । तर, परिणाम केही भएन । त्यसैले आमजनताको मनोभावनालाई बुझेरै मैले उम्मेदवारी दिएको हो । बाँकी छिनोफानो मंसिर ४ मा काठमाडौं ६ का जनताले गर्नेछन् ।

– ६०-६५ हजार मतदाताबीचमा भोट माग्न जाँदै गर्दा यत्ति एजेन्डाले मात्रै नपुग्ला नि ?

६ नम्बर क्षेत्र गाउँदेखि सिंहदरबारसम्म पर्छ । यसको आफ्नो विशिष्ट पहिचान छ । सांस्कृतिक धरोहर जगेर्ना गर्ने चुनौती छ । अहिले पनि राजधानीमै राम्रोसँग पढ्न नपाउने स्थिति छ । स्कुलमा पानी खान नपाउने अवस्था छ । शैक्षिक सामग्रीसमेत नपाउने अवस्था छ । हेर्दा सानो समस्या देखिन्छ । तर, यसले ठूलो जमातलाई अन्धकारमा राखेको छ । संविधान प्रदत्त अधिकार जनताले पाइरहेका छैनन् । यस्तो अवस्थाले पुरातन राजनीति र नेताहरुप्रति जनताको वितृष्णा आएको हो ।

म प्रहरीमा हुँदा नै तीनवटा स्कुल नयाँ निर्माण गरें । नेपाल प्रहरीको साँगा स्कुलले एसईईमा सेकेण्ड पोजिसन ल्यायो । मैले सामान्य अधिकारमा रहँदै गर्दा पनि २१ वर्षपछि पुलिसको एकेडेमी बन्यो ।

काठमाडौंका जनतालाई सेवा दिने अफिसहरु भूकम्पपछि जीर्ण अवस्थामा थिए । पालमा बसेर हामीले सेवा दियौं । केही इन्स्टिच्युटले तल सेवा नदिने, माथि आफूमात्रै उपभोग गर्ने गर्थे । तर, कानून र सेवा त सबैका लागि समान हुनुपर्छ । हामीले केही इस्टिच्युटको सिन्डिकेट तोड्ने काम गर्‍यौं ।

समाजका इमानदार र निष्ठावान व्यक्तिले म सेवामा रहँदा कहिल्यै दुःख पाएनन् । भोलिको दिनमा मैले खोजेको पनि त्यही हो । भनसुनले मात्रै अवसर पाउने, न्याय पाउने भन्ने हुँदैन । समाजमा धनी र गरीबको यति ठूलो खाडल छ । मेरै क्षेत्रमा जनजातिको ठूलो बस्ती छ । उनीहरुको न्याय खोई ?

बस्तीभरि ढल छ । एक दिनमै बन्ने कुरामा किन अलमल ? धुलाम्मे बाटो बनाउन कुनै मन्त्रीलाई भन्नु पर्दैन । तर, त्यो बाटो बनाउन दिएको बजेट कमिसनमा जानुभएन नि त ! राष्ट्रियता, स्वाभीमान, स्वाधीनताको सवालमा कहाँ कहाँ चुकिरहेका छौं, मलाई थाहा छ । मेरो राजनीतिमा प्रवेश र उम्मेदवारी यिनै प्रवृत्तिको विरुद्धमा हो ।

– तपाईंको क्षेत्रमा ठूलो संख्यामा मतदाता ज्याला-मजदुरी गरेर गुजारा चलाउँछन् । त्यहाँ यौनिक अल्पसंख्यक पनि छन् । त्यहाँ युवाहरु छन् । त्यहाँ ज्येष्ठ नागरिक छन् । त्यहाँ अष्ट्रेलिया, युरोप, अमेरिका जान खोजिरहेका प्रतिभाहरु छन् । उनीहरुले तपाईंलाई भोट किन हाल्ने ?

अहिलेसम्म केही पाएनन् नि त ! म विदेश जाँदा नेपालीको धेरै दुःख देखेको छु । उनीहरुलाई पठाउँदा भोकेसनल ट्रेनिङ दिएरमात्रै हुन्न । रेमिट्यान्सले देश धानेको छ भन्छन् । तर, उनीहरुको दुःख बुझिदिने कोही हुन्नन् । बाहिरी मुलुकमा जाँदा संसारभरका मान्छेसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । त्यसमा असफल भएपछि तल्लोस्तरको काम गर्नुपर्ने अवस्था छ । यहाँ मानव बेचबिखन हुन्छ । मैले प्रहरीमै हुँदा मानव बेचबिखन व्युरो स्थापना गरें ।

साइबर अपराधका कारण कत्ति मान्छेले आत्महत्या गरेका छन् । यस्तो कुरामा सरकारले ध्यान दिएको खै त ? केपी ओलीको सरकार हुँदा मेरो इनिसियसनमा साइबर व्युरो स्थापना भयो । अहिले १४ तले भवन बन्दैछ ।

मैले युवाका लागि लक्षित गरेर बालविवाह, दाइजोप्रथाको विरुद्ध काम गरें । मैले युवाको समस्या बुझेको छु । स्कुल, कलेजको समस्या बुझेको छु । म प्रहरीमै हुँदा चिट चोर्न पाइएन भन्ने शिक्षक, अभिभावक देखेको छु । यस्तो अवस्था यो राजनीतिले होइन ? हामीले कस्तो शिक्षा दिन खोजिरहेका छौं ?

पहिला शान्ति सरक्षाको विषयमा व्यापारीहरुले व्यवसाय गरेर बस्न नसक्ने अवस्था थियो । तराईमा सशस्त्र समूहको बिगबिगी थियो । हिजो आपराधिक समूहले जनतालाई सास्ती दिँदा म छाती खोलेर लागेको छु । जागिर खानका लागि मात्रै प्रहरीमा सेवा गरिनँ ।

अहिले रिटायर्ड भएँ, तर दोहोराएर, तेहेराएर सांसद, मन्त्री भएकाहरुले जनताको समस्याप्रति गम्भीर नबनेको देख्दा राजनीतिमा छिर्न बाध्य भएको हुँ । मेरो अनुभव, दक्षता र राष्ट्रप्रतिको मेरो अडानलाई कतै विचलित हुन नदिँदै जनतालाई सेवा डेलिभरी गर्न निर्वाचनमा होमिएको हुँ । यसकारण पनि जनताले मलाई भोट हालेर जिताउनुहुन्छ भन्ने विश्वास छ ।

– तपाईंको क्षेत्रका अधिकांश युवा प्रतिभा प्लस टु सकेपछि विदेश हान्निन्छन् । तर, खाडी र युरोप-अमेरिकाका दुःख फरक छैनन् । चाबहिलदेखि पुतलीसडकसम्मका कन्सलटेन्सीमा लाइन लागेका हुन्छन् । उनीहरुका लागि तपाईंसँग कुनै ठोस योजना छ ?

यो राष्ट्रिय रुपमा नै सम्बोधन गर्नुपर्ने कुरा हो । यसका लागि मसँग स्थानीय सरकारदेखि संसदसम्म कोअर्डिनेसन गरेर काम गर्ने सामथ्र्य छ । म गफ गर्न संसदभवन छिर्न खोजेको होइन । प्रहरीमा हुँदा ७५३ वटै पालिकासँग एमओयु गरेर नेपाल प्रहरीलाई आधुनिकीकरण गर्ने काम गरें । स्रोतहरु जुटाएर तालिमको व्यवस्था गरें । काठमाडौंमा सीसीटीभी हाल्न इनिसियसन लिएँ ।

अहिले रिटायर्ड भएँ, तर दोहोराएर, तेहेराएर सांसद, मन्त्री भएकाहरुले जनताको समस्याप्रति गम्भीर नबनेको देख्दा राजनीतिमा छिर्न बाध्य भएको हुँ । मेरो अनुभव, दक्षता र राष्ट्रप्रतिको मेरो अडानलाई कतै विचलित हुन नदिँदै जनतालाई सेवा डेलिभरी गर्न निर्वाचनमा होमिएको हुँ ।

यहाँ राम्रा र नराम्रा दुवै काम गर्ने कन्सल्टेन्सी छन् । नराम्रा काम गर्नेहरु राजनीतिक प्रवृत्तिसँग जोडिएर आपराधिक काममा सक्रिय छन् । पैसाको लेनदेनमा लागेका छन् । म प्रहरीमा हुँदा छापा पनि हानेको थिएँ । एघार सयमध्ये ६ सय कन्सलटेन्सी दर्ता नै थिएनन् । सबै भागाभाग भए । मेनपावर एजेन्सीहरुले राम्रो काम गर्नेहरुलाई पनि बदनाम गरेका थिए । राम्रा मेनपावरहरुले विदेश पठाएर धेरैको आर्थिक अवस्था सुध्रिएको पनि छ । अर्थतन्त्रलाई भरथेग पनि गरेका छन् । यहाँका सरकारी कर्मचारीले रेमिट्यान्सकै कारण तलब खाएका छन् ।

सबै मेनपावर कम्पनीले नराम्रो गरेका छैनन् । तर, नराम्रो गर्नेहरुले राम्रालाई पनि बदनाम गरिदिए । हामीले छापा हान्यौं । त्यसको शुद्धीकरण गर्‍यौं । राम्रो गरिरहेका मेनपावर कम्पनीहरुले मलाई बोलाएर अभिनन्दन पनि गर्नुभयो ।

नाकाबन्दीको वेला पेट्रोल पम्पहरुमा हाहाकार थियो । मान्छेहरुले ठगी गरिरहेका थिए । सिन्डिकेट हावी गराएका थिए । मैले त्यो सिन्डिकेट तोडें । म रिटायर्ड भएपछि फुटबलको म्याच फिक्सिङमा अन्याय भयो भने । मानौं रिटायर्ड भएपछि मेरो कुनै अधिकार छैन । तर, नागरिकको हैसियतमा मेरो अधिकार त छ नि ! मैले प्रहरी सेवामा रहँदा जनताका लागि गरेका यिनै कामहरुका कारण जनताले अझै थप काम गर्नलाई सांसदको रुपमा अनुमोदन गर्नुहुन्छ भन्ने विश्वास छ । संसदमा म जनताका यिनै अप्ठ्याराहरुमाथि कठोर रुपमा प्रस्तुत हुने अठोट पनि छ ।

– काठमाडौंका जनताका लागि एक डेढ किलोमिटरको फरकमा सिंहदरबार छ, संसद भवन छ । तर, कतिपय अवस्थामा त्यही ठाउँमा छिरेका आफ्ना प्रतिनिधिलाई काठमाडौंमा चुनावको वेलामात्रै प्रत्यक्ष भेट्न पाउने विदीर्ण अवस्था छ । यसलाई कसरी लिनुहुन्छ र तपाईं त्यही प्रवृत्तिको पुनरावृत्ति हुने त होला नि ?

मेरो लगाव जनता र समाजप्रति छ । डीआईजी हुँदा जनतासँग मिलेर रिङरोड सफाइ अभियान चलाएँ । रिटायर्ड भएपछि पनि जनतासँगै मिलेर काम गरें । एम्बुलेन्सहरु चलाएँ । संसद भएपछि त झनै मेरो जिम्मेवारीबाट किन्चित पनि पछि हट्ने छुट मलाई छैन । अरुलाई जस्तो मलाई दर्शन गर्न पर्दैन, जनताको दर्शनका लागि म जनतामाझ जाने हो ।

अहिले रिटायर्ड अवस्थामा राज्यले दिएको सुविधा पुग्दो थियो । तर, म जनताको सेवा गर्छु भनेर आएको हो । र गर्छु पनि । समाजको अग्रपंक्तिमा रहेर काम गर्न चाहन्छु । राजनीतिमा नचाहिने काम गरेर राजनीति हुन्छ भन्ने मेरो बुझाइ छ, त्यसको सफायाका लागि राजनीतिमा आएको हुँ । हिजो अपराध र अपराधीको सफाया गरें । समाजको शुद्धीकरण गरें । आज जनताको आवाज र मुद्दालाई नीति निर्माणको तहबाट अगाडि बढाउन राजनीतिमा आएको छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर