कास्की ३ मा सहिद पुत्री भुर्तेल गठबन्धनकाे बागी, राजनीतिक अपराध भएको टिप्पणी – Nepal Press

कास्की ३ मा सहिद पुत्री भुर्तेल गठबन्धनकाे बागी, राजनीतिक अपराध भएको टिप्पणी

पोखरा । नेकपा माओवादी केन्द्रका तत्कालीन कास्की इन्चार्ज राजविक्रम भुर्तेललाई २०६१ सालमा शाही सेनाले हत्या ग¥यो । भुर्तेल र उनकी श्रीमती पोखरा पामेको एक घरमा सेल्टर लिएकै बेला सेनाले घेरा हालेर गोली हानेको थियो ।

त्यसको १८ वर्षयता माओवादीले आफ्ना मृत बुवाको सम्मान नगरेको निष्कर्षसहित भुर्तेलकी छोरी अनिता भुर्तेल अहिले माओवादीविरुद्ध चुनावी मैदानमा उत्रिएकी छन् । कास्की क्षेत्र नम्बर ३ बाट भुर्तेलले माओवादी उम्मेदवार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनविरुद्ध बागी उम्मेदवारी दिएकी हुन् ।

सहिद पुत्री भुर्तेल माओवादीले सहिद परिवारको अपमान गरेको भन्दै बागी दिएको बताउँछिन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बराललाई हराएर सहिद परिवारको याद पुनः नेतृत्वलाई दिने उनले बताइन् ।

जनयुद्धमा आफ्ना बुवाआमा गुमाए पनि पार्टी नेतृत्वले उपेक्षा गरेको उनको तर्क छ । ‘परिवारवाद हावी हुँदा बलिदानको अर्थ पार्टीमा रहेन, यसकारण उम्मेदवारी दिएकी हुँ’, भुर्तेलले भनिन् ।

भुर्तेललाई टिकट नदिनु राजनीतिक अपराध भएको पूर्वमाओवादी नेता राजु क्षेत्री बताउँछन् । गजुरी ब्यारेक ब्रेकरका रुपमा चिनिएका क्षेत्री अहिलेका माओवादी उम्मेदवार कोही पनि राम्रो पृष्ठभूमिको नहुँदा भुर्तेल छुट्नु राजनीतिक अपराधीले माओवादीको लिगेसी खोस्ने काम भएको बताउँछन् ।

‘जनयुद्धका बेला पार्टीले घोषणा गरेको यौन पिपासु रामजी बराल, यौन अपराध र हत्याको आरोपमा माओवादी आफैंले पक्राउ पुर्जी जारी गरेको विश्वप्रकाश लामिछाने र तरमारा दुर्गा भण्डारी उम्मेदवार बन्दा जनयुद्धका नायक बागी बन्नुपर्ने ?,’ उनले भने ।

माओवादीका उम्मेदवार जनयुद्धकै भद्दा मजाक भएको उनले फेसबुकमा लेखेका छन् ।

माओवादी केन्द्रकी गण्डकी अध्यक्ष गायत्री गुरुङ भने भुर्तेलले आज १ बजेसम्ममा उम्मेदवारी फिर्ता लिने बताउँछिन् । पार्टीले भुर्तेलसँग छलफल गरिसकेको र छलफल सकारात्मक भएको उनले बताइन् ।

‘पार्टीले कुरा गरिसकेको छ, उहाँले फिर्ता लिनुहुन्छ भन्ने आशा छ । छलफल सकारात्मक रुपमा टुंगिएको छ’, उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *