धराने कांग्रेसीको दुःख: लगातार दुई प्रतिनिधिसभा चुनावमा रुखमा भोट हाल्न बञ्चित – Nepal Press

धराने कांग्रेसीको दुःख: लगातार दुई प्रतिनिधिसभा चुनावमा रुखमा भोट हाल्न बञ्चित

इटहरी । २०७४ सालको संसदीय चुनावमा वाम गठबन्धनले झन्डै दुईतिहाइ सीट ल्यायो । समानुपातिक सीटले तानेर दोस्रो ठूलो दल भएको नेपाली कांग्रेसले प्रत्यक्षमा भने माओवादीभन्दा कम सीट ल्याएको थियो ।

देशभर कांग्रेसले प्रत्यक्ष चुनावमा कमजोर प्रस्तुति गरिरहँदा सुनसरीमा भने सानदार जीत निकालेको थियो । सुनसरीका ४ क्षेत्रमा ३ वटा कांग्रेसले विजय पाएको थियो । क्षेत्र नम्बर १ मा कांग्रेसको उम्मेदवार नै भएन । क्षेत्र नम्बर २, ३ र ४ का कांग्रेसका उम्मेदवारहरु क्रमशः सीताराम मेहता, विजयकुमार गच्छदार र ज्ञानेन्द्रबहादुर कार्कीले जीत निकालेका थिए ।

सुनसरीमा सबै कांग्रेस उम्मेदवारले जितेकामा आफ्नै उम्मेदवार भएको भए धरान उपमहानगरपालिका २० वटै वडा, बराह क्षेत्र नगरपालिकाका वडा नम्बर १ देखि ५ र रामधुनी नगरपालिकाका ६ र ७ वडामा फैलिएको सुनसरी क्षेत्र नम्बर १ मा कांग्रेसको उम्मेदवार भएको भए जित्ने सम्भावना रहेको कांग्रेस नेताहरुले बताउँथे ।

२०७४ सालमा प्रतिनिधिसभातर्फ रुख चुनाव चिन्हमा भोट हाल्न नपाएका धरानका मतदाताले तत्कालीन समाजवादी पार्टीका नेता अशोक राईलाई मतदान गरेका थिए । प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नभएकाले एमालेका उम्मेदवार जयकुमार राई विजयी भए ।

पाँच वर्ष अगाडि अशोक राईविरुद्ध भोट हालेका एमालेहरुले यो चुनावमा उनै राईलाई भोट हाल्ने भएका छन् । गत चुनावमा राईलाई भोट हालेका कांग्रेसले यो पटक माओवादी उम्मेदवारलाई भोट हाल्ने भएका छन् । अर्थात् यो पटक पनि धरानका कांग्रेसीहरुले प्रतिनिधिसभामा रुखमा भोट हाल्न नपाउने भएका छन् ।

२०१५ सालको चुनावमा हालको सुनसरी क्षेत्र नम्बर १ को बहुसंख्यक भाग पर्ने क्षेत्रमा कांग्रेसले विजयी भएको थियो । तत्कालीन क्षेत्र नम्बर ३३ मोरङ विराटनगर उत्तर पश्चिम नामको क्षेत्रका विजेता थिए ज्ञानचन्द्र सरदार । उनले ५हजार ४५५ मत ल्याएर जितेका थिए । त्यसयता २०६४ बाहेक सबैमा एमालेले जितेको छ ।

तर, धरानको उपनिर्वाचनमा तिलक राईले इतिहास बनाए जस्तै यो पटक धरानमा कांग्रेसले टिकट पाएको भए नयाँ इतिहास बन्ने धराने कांग्रेसका नेता-कार्यकर्ताहरुको तर्क छ । तर, यो पटक पनि धराने कांग्रेसीले प्रतिनिधिसभामा रुखमा भोट हाल्न नपाउने भएका छन् । यसबाट धेरै धराने कांग्रेसी विरक्तिएका छन् । उनीहरु एमालेको चुनाव चिन्हमा भोट हाल्न तयार छैनन् । तर, गैरदलीय चिन्हबाट उम्मेदवार बनेकाहरुमा भोट हाल्न आतुर छन् ।

‘पछिल्लो चुनावमा धरानमा स्वतन्त्र मेयर आउनुमा कांग्रेस र एमाले दुवैका मेयर उम्मेदवार अलोकप्रिय भएर दुवै दलका मतदाताले हर्क साम्पाङलाई मत दिनु प्रमुख कारण हो’, धरान कांग्रेसका एक पाका नेता भन्छन्, ‘यो पटकको चुनावमा पनि धरानका प्रमुख दलहरु एमाले र कांग्रेस दुवैका उम्मेदवारहरु छैनन् । उनीहरुले आफ्नो दलीय चुनाव चिन्हमा भोट हाल्न नपाउनाले उनीहरुको मत स्वतन्त्र उम्मेदवारमा जाने सम्भावना छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *