जसपा र राप्रपासँग एमालेको आंशिक तालमेल, बाँकी सीटमा प्रतिस्पर्धा – Nepal Press

जसपा र राप्रपासँग एमालेको आंशिक तालमेल, बाँकी सीटमा प्रतिस्पर्धा

काठमाडौं । सत्ता गठबन्धन फुटाउन सफल भएको नेकपा एमालेले जनता समाजवादी पार्टीसँग केन्द्रबाट सबै ठाउँमा गठबन्धन नगर्ने भएको छ । दुवै दलबीच तालमेल भएका ठाउँमा एकले अर्कोलाई सघाउँने र बाँकी ठाउँमा मित्रवत प्रतिस्पर्धा हुने भएको छ ।

एमाले र जसपाबीच मधेस प्रदेशका प्रायः सबै सीटमा तालमेल हुने भएको छ । तर धनुषा २ मा भने एक्ला एक्लै लड्ने सहमति छ । किनभने सो क्षेत्रमा केही दिनअघिमात्र लोसपाबाट एमाले प्रवेश गरेका पूर्वमन्त्री उमाशंकर अरगरिया चुनाव लड्दैछन् ।

बाराको २ मा समेत एक्ला एक्लै प्रतिस्पर्धाको सम्भावना छ भने जसपाले दावी गरको धनकुटा छाड्न नसकिने एमालेले जनाएको छ । एमालेबाट राजेन्द्र राई बलिया उम्मेदवार हुन् र गठबन्धनमा जसपासहित मिल्दा पनि एमाले बलियो रहेको क्षेत्र भएकाले तीनवटै सीटमा एमालेका उम्मेदवार तय भएका छन् ।

जसपाले प्रदेश १ मा सुनसरी १ अशोक राईका लागि पाएको छ । अशोक राईलाई सो क्षेत्र नदिदाँ जसपासँग अन्य क्षेत्रमा समेत तालमेल हुन नसक्ने देखिएपछि पूर्व एमाले नै भएका कारण उनका लागि क्षेत्र छाडिएको हो । तर एमाले बलियो रहेको सो क्षेत्रमा जसपालाई छाड्दा एमालेकै धरानका पूर्व मेयर मनोज मेन्याङ्बो स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् ।

जसपाले मोरङमा ५ नम्बर क्षेत्रसहित तीनवटा प्रदेश सभाको सीट पाएको छ । जसपाले काठमाडौं ७ मा राजेन्द्र श्रेष्ठको लागि एमालेले छाड्नुपर्ने माग गरे पनि सो क्षेत्रमा एमाले जसपा तालमेल नहुने एमाले स्रोतले जनाएको छ ।

त्यस्तै बाँके २ मा जसपाका भौतिक पुर्वाधार मन्त्री इस्तियाक राईले एमालेको समर्थन नपाउने भएका छन् । सो क्षेत्रमा एमालेले राप्रपाका महामन्त्री धवल शम्सेर जबरालाई समर्थन जनाउने भएको छ ।

राप्रपासँग पनि एमालेको आंशिक तालमेलमात्र हुने र बाँकी क्षेत्रमा एक्ला एक्लै लड्ने भएका छन् । एमालेले राजेन्द्र लिङ्देन, दिपक बोहोरा र धवल शम्सेर जबरालाई मात्र छाड्ने अहिलेसम्म सहमति भएको राप्रपाका एक नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर