किपचोज- २ घण्टा एक मिनेट ९ सेकेन्डका विश्व कीर्तिमानी म्याराथन धावक – Nepal Press

किपचोज- २ घण्टा एक मिनेट ९ सेकेन्डका विश्व कीर्तिमानी म्याराथन धावक

बर्लिन । केन्याका एल्युड किपचोजले म्याराथनमा आफैलाई ‘बिट’ गर्दै नयाँ विश्व कीर्तिमान बनाएका छन्। आइतबार सम्पन्न बर्लिन म्याराथनमा २ घण्टा १ मिनेट ९ सेकेन्ड समयमा दूरी पूरा गर्दै यसअघि आफ्नै विश्व कीर्तिमान ३० सेकेन्डले सुधार गरेका हुन् ।

किपचोजले सन् २०१८ मा भएको बर्लिन म्याराथनमार्फत नै नयाँ विश्व कीर्तिमान बनाएका थिए । त्यतिबेला उनले बर्लिन म्याराथन २ घण्टा एक मिनेट ३९ सेकेन्डमा पूरा गरेका थिए । उनले तत्कालीन विश्व कीर्तिमान समयलाई एक मिनेट १८ सेकेन्डले सुधार गरेर विश्व म्याराथनमा नयाँ ‘तार्गेट सेट’ गरेका थिए । डेनिस किमेटोले सन् २०१४ को बर्लिन म्याराथन २ घण्टा २ मिनेट ५७ सेकेन्डमा पूरा गरेका थिए ।

‘म यति धेरै छिटो दौडिन सकेकोमा निकै खुशी छु’, ३७ वर्षीय किपचोजले बर्लिन म्याराथन जितेपछि भने, ‘मेरो परिवारले मलाई प्रोत्साहित गरिरहेको छ। म युवाहरुलाई प्रेरित गर्न चाहन्छु । खेलकुदले मानिसहरुलाई एक बनाउँछ। यो कुराले मलाई निकै उत्प्रेरित गर्छ ।’

किपचोज दुईपटकका ओलम्पिक च्याम्पियन पनि हुन् । उनले बर्लिन म्याराथन चौथोपटक जितेका हुन् । यसअघि इथोपियाका हैल जेब्रासिलासीले पनि चारपटक जितेर बर्लिन म्याराथन सर्वाधिक जित्ने विश्व कीर्तिमान बनाएका थिए । किपोचेजले खेल जीवनमा सहभागी भएका १७ मध्ये १५ म्याराथन उपाधि जितेका छन् ।

यसपटक किपचोजले निकटत्तम प्रतिद्वन्द्वी मार्क कोरिरलाई चार मिनेट ४९ सेकेन्डले पछाडि पारेका थिए । कोरिर पनि केन्याकै हुन् । विश्व म्याराथनमा एकछत्र राज गरिरहेका किपचोज अझै कीर्तिमान सुधार हुन सक्ने बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर