रुस-युक्रेन युद्ध : ६ महिनामा ७ जना ‘ओलिगार्क’को रहस्यमय मृत्‍यु – Nepal Press

रुस-युक्रेन युद्ध : ६ महिनामा ७ जना ‘ओलिगार्क’को रहस्यमय मृत्‍यु

काठमाडौं । गत मार्चमा रुसका सबैभन्दा ठूला तेल व्यापारी रविल मगनोवले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै युक्रेन र रुसबीचको जारी तनावलाई युद्धमार्फत नभई वार्ताबाट सुल्झाउनुपर्ने धारणा व्यक्त गरेका थिए । उक्त धारणा व्यक्त गरेको ६ महिना बित्दानबित्दै रविलको गत ३१ अगस्टमा रहस्यमय मृत्‍यु भयो ।

रुसमा पछिल्लो ६ महिनामा ७ जना ‘ओलिगार्क’ को रहस्यमय मृत्‍यु भएको छ । रुसमा ‘ओलिगार्क’ भन्नाले सत्ता (पुटिन) सँग नजिक रहेका र सरकारमा असर पार्नसक्ने व्यापारी एवं अन्य व्यक्तिहरुलाई भन्ने गरिन्छ ।

रविल मगनोव

रविल मगनोव रुसका प्रभावशाली व्यापारी थिए । पहिला पुटिनका निकट भनेर चिनिएका मगनोवले गत ३ मार्चमा भने पुटिनको आलोचना गरेका थिए । पुटिनले युक्रेनमाथि हमला गर्नु उचित नरहेको उनको भनाइ थियो । मगनोवले उक्त धारणा व्यक्त गरेको लगभग ६ महिनामा अर्थात ३१ अगस्टमा उनको मृत्‍यु भयो ।

रुसी सरकारी मिडियाका अनुसार उपचारको क्रममा अस्पताल गएका मगनोवले त्यहीको झ्यालबाट हाम फालेर आत्महत्या गरेका हुन् । यद्यपि उक्त अस्पताल रहेको मस्कोमा हाल अत्यन्तै चिसो रहेको कारण सजिलै अस्पतालको झ्यालसमेत खोल्न नसकिने अवस्थामा उनले अस्पातलको झ्याल खोल्नु र त्यहाँबाट हाम फाल्नु सहज नरहेको बताइन्छ ।

यतिमात्र नभएर उक्त घटनाको समय अस्पतालको सीसीटीभी नचल्नु र आत्महत्या नै भए पनि कारण पत्ता नलाग्नुले मगनोवको मृत्‍युलाई थप रहस्यमय बनाएको छ ।

युरी वारनोव

सन् २०२२ जुलाई १९ मा ६१ वर्षीय युरी वोरोनोभको शव सेन्ट पिटर्सबर्गस्थित उनको घरको स्विमिङ पुलमा तैरिरहेको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार उनको गोली हानेर हत्या गरिएको हो । यद्यपि हालसम्म उनका हत्याराको पत्ता लागेको छैन ।

एलेक्जेण्डर सुबोटिन

रहस्यमय मृत्‍यु हुने अर्का रुसी व्यापारी हुन् एलेक्जेण्डर सुबोटिन । उनको ७ मेमा मृत्‍यु भएको थियो । उनी रुसी तेल कम्पनी ल्युकओइलका पूर्वमहाप्रवन्धक हुन् । मृत्‍युपश्चात उनको शरीरमा विष भेटिएको थियो । जाँचमा उनलाई विषको सुई लगाइएको खुलेको छ ।

सर्गेइ प्रोटेस्निया

१९ अप्रिल २०२२ मा सर्गेइ र उनको परिवारको रहस्यमय मृत्‍यु भएको हो । सर्गेइ ग्यास कम्पनी नोवाटेकका महाप्रवन्धक थिए । उनी र उनको छोरीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको देखिएको थियो । उनको शव बगैंचामा झुन्डिरहेको अवस्थामा फेला परेको थियो ।

प्रहरीले आफ्नो परिवारको हत्यापछि उनले आत्महत्या गरेको जनाए पनि उनको शरीरमा कतै पनि रगत नदेखिनाले थप शंका उत्पन्न भएको हो ।

भ्लादिस्लाव अवायव

अप्रिल १८ मा रूसी ग्यास कम्पनीको बैंक गज्प्रोम बैंकका पूर्वउपाध्यक्ष भ्लादिस्लाव र उनकी श्रीमती तथा छोरीको शव उनकै अपार्टमेन्टबाट बरामद भएको थियो । सो समयमा उनकी श्रीमती गर्भवतीसमेत थिइन् ।

रिपोर्टअनुसार अवायवले नै उनैहरुको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् ।

मिखाइल वार्टफोर्ड

रुस र युक्रेनबीचको युद्ध सुरु भएको केही दिनपछि फेब्रुअरी २८ मा वाटफोर्ड दक्षिणपूर्वी इङ्गल्याण्डमा रहेको आफ्नो घरमा मृत फेला परेका थिए । उनको मृत्‍युको कारण हालसम्म पत्ता लाग्न सकेको छैन ।

वाटफोर्ड मूलतः युक्रेनका व्यापारी थिए। उनको रुसमा पनि व्यापार थियो । रिपोर्टका अनुसार युद्ध सुरु भएदेखि नै उनी रुसी एजेन्सीहरूको निगरानीमा थिए ।

यस्तै घटना हुनुभन्दा तीन दिनअघि अर्का रुसी व्यापारीको शव ग्यारेजमा झुण्डिएको अवस्थामा फेला परेको थियो । एकै सातामा दुई व्यापारीको एउटै प्रकारको निधनले पनि शंका उत्पन्न भएको हो ।

एलेक्जेण्डर ट्युलाकोव

रुस-युक्रेन युद्ध सुरु भएको केही घण्टापछि एलेक्जेण्डरको शव उनको घरको ग्यारेजमा झुण्डिएको अवस्थामा फेला परेको थियो । हालसम्म मृत्‍युको कारण पत्ता लागेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर