रुस लक्षित प्रतिबन्धले युरोपियन राष्ट्रको जीवनयापन कठिन भएको हो : पुटिन – Nepal Press

रुस लक्षित प्रतिबन्धले युरोपियन राष्ट्रको जीवनयापन कठिन भएको हो : पुटिन

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जारी युद्धको समयमा पश्चिमा मुलुकहरूले युक्रेनको समर्थन जनाउन रुसमाथि लगाएको विभिन्न प्रतिबन्धात्मक परिस्थितिका कारण नै युरोपियन देशहरूको जीवनयापन कठिन बन्दै गएको दाबी गरेका छन् ।

युरोपियन मुलुक मात्रै नभएर अन्य गरिब मुलुकमा पनि भोकमरीको समस्या देखिएको उनको भनाई छ । भ्लादिभोस्तोकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रुसले पश्चिमाको आर्थिक ‘आक्रमण’को सामना गरिरहेको पनि बताए ।

युरोपियन देशहरूले युक्रेनको अन्नबाली मार्फत गरिब देशहरूलाई छल गरिरहेको पुटिनको भनाई छ । महिनौँसम्म युक्रेनको समुद्री बन्दरगाहहरू रुसी सेनाद्वारा अवरुद्ध गरिएको कारण अफ्रिकी मुलुकमा अन्नको निर्यात हुन नसकेको बताइए पनि अगस्टको सुरुमा निर्यात पुनः सुरु भएदेखि जम्मा दुई जहाज मात्र अन्न युक्रेनले निर्यात गरेको रुसको भनाई छ ।

रुसले गत २४ फेब्रुअरीमा युक्रेनमा हमला सुरु गरेको थियो । ततपश्चात् पश्चिमी राष्ट्रहरूले ठूलो संख्यामा रुसी व्यक्ति, व्यवसाय र राज्य सञ्चालित उद्यमहरूमा प्रतिबन्ध घोषणा गरेका छन् भने हालै मात्र मस्कोले प्राविधिक कारण देखाउँदै जर्मनीको मुख्य नर्ड स्ट्रिम १ ग्यास पाइपलाइन बन्द गरेको छ ।

पश्चिमा मुलुकले रुसका व्यापार व्यवसाय, कलकारखाना बन्द भएको देख्न चाहेको तर वर्तमान अवस्थामा युरोपमा उत्पादन र रोजगारीहरू एकपछि अर्को बन्द हुँदै गएको पुटिनको भनाई छ ।

पुटिनले हाल डलर, पाउण्ड र युरो मानिसको नजरमा पनि आउन छोडेको तर प्रतिबन्धले रुसमा कुनै असर नगरेको पनि दाबी गरेका छन् । यता युक्रेनका विदेश मन्त्री दिमित्रो कुलिबाले भने हालै मात्र रुसले इन्धन लगायतका स्रोतको प्रयोग गरेर युरोपियन राष्ट्रहरूलाई दुख दिने प्रयास गरिरहेको दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर