महानगरकाे डोजरले छाडेको भग्नावशेषमा पुग्दा… (भिडिओ) – Nepal Press

महानगरकाे डोजरले छाडेको भग्नावशेषमा पुग्दा… (भिडिओ)

काठमाडौं । यतिबेला बालेनमय छ काठमाडौं । राजधानी सहरमा मापदण्डविपरीत बनाइएका संरचना हटाउने उनको अभियानमा अभुतपूर्व जनसमर्थन मिलिरहेको छ । बालेनको आलोचना सुन्न पनि चाहँदैनन् शहरबासीहरु ।

तर, यही सहरमा थोरै मानिसहरु यस्ता पनि छन्, जो बालेनको नामै सुन्न चाहँदैनन् । उनीहरुका नजरमा बालेन हिरो होइन भिलेन हुन् । बालेनले हिरो हुने चक्करमा आफूहरुको गाँस खोसिदिएको बुझाइ छ उनीहरुको । तर, खुलेर बोल्न भने डराउँछन् ।

दुई दिनअघि डोजर चलेको आरबी कम्प्लेस परिसरमा भेटिए चन्दनकुमार साह । उनले विगत १५ वर्षदेखि काठमाडौं मलअघि मोमो पसल र आइसक्रिम पसल चलाएर बसिरहेका थिए । पसल मारामारै चलेको थियो । १५ जना स्टाफ राखेर काम गरिरहेका थिए उनी ।

गत ८ गते काठमाडौं महानगरपालिकाको डोजर अचानक उनको पसल अघिल्तिर आइपुगे । डोजरसँगै उनले देखे एक चिरपरिचित अनुहार । आफ्नै थर भएका काठमाडौंका मेयर बालेन साह । उनमा खुशी र विस्मात एकैसाथ पैदा भयो । खुशी यसकारण कि उनका एक आदर्श व्यक्ति आँखा अगाडि थिए । विस्मात यसकारण कि बालेनसँगै डोजर पनि थियो ।

बालेनले सामानहरु हटाउन निर्देशन दिए । डोजरले आफ्नो काम सुरु गरिहाल्यो । निमेषभरमै साहको पसल पनि भग्नावशेषमा मिसियो । उनले मेयर साहलाई केही भन्नै पाएनन् । भनेको भए पनि उनको उनको पसल जोगिनेवाला त थिएन ।

काम तमाम गरेर डोजर फर्कियो । मेयर साह पनि फर्किए । चन्दन साह भने धेरैबेरसम्म झोक्राएर त्यहीँ बसिरहे । चाडबाडको मुखमा उनलाई बज्रपात पर्यो ।

नेपाल प्रेसकर्मीले कुरा गर्न खोज्दा निकै डराइरहेका थिए साह । उनले तस्वीर खिच्न पनि मानेनन् ।

यति मात्र भने, ‘मेरो त दिमागले केही काम गरिरहेको छैन । सपनामा छु जस्तो लागिरहेको छ ।’

साहले संचयकोष भवनलाई मासिक भाडा तिरिरहेका थिए । बिजुली, पानीको बिल तिरिरहेका थिए । महानगरले ३५ दिने सूचना निकालेको उनले थाहै पाएनन् ।

‘सूचना टाँसिएको मलाई थाहा छैन । मैले पाइनँ । तर, संचयकोषले सबै लिगल छ भनेर भाडा तिरेको रसिद दिइरहेको थियो ।’

संचयकोषलाई मात्रै होइन, साहको मेयर बालेन्द्र साहलाई पनि प्रश्न छ, ‘मेयर साप ! मेरो टहरा अचानक भत्काउनुभयो । अरुको भत्काउने बेला एकपटक सोचिदिनुस् ।’

साहको जस्तै हालत छ उषा पौडेलको । उनको पनि आरबी कम्प्लेक्समा टहरा थियो, जो भत्कियो । उनले डुब्लिकेट गरगहनाको पसल चलाइरहेकी थिइन् मासिक ४० हजार भाडा तिरेर । तीजको छेकोमा उनको व्यवसायमा बहार आउँदै थियो । विगत तीन वर्ष कोरोनाका कारण चाडबाडमा राम्रो व्यापार गर्न नसकेकी उनी यसपाली उक्सिने दाउमा थिइन् । उनी गहनाको सामान लिन भारत गएकी थिइन् । तर, भारतबाट फर्कँदा उनको पसलमा डोजर चलिसकेको थियो ।

आरबी कम्प्लेक्समा लिगल फर्म भरेरै उनले भाडा बुझाइरहेकी थिइन् । पानी, बिजुलीको बिल तिरिरहेकी थिइन् । विगत चार वर्षदेखि पसल चलाइरहेकी उषा पनि यतिबेला किंकर्तव्यविमुढ बनेकी छन् ।

‘खोइ, अब के गर्ने केही सोच्नै सकेकी छैन । महानगरले डोजर लगाएर टहरा उडाइदिँदा भएको सबैथोक सकियो । कोभिडले थला पारेर भर्खरै तंग्रिन सुरु गरेकी थिएँ । तीज र दशैंको बेला केही व्यापार होला भनेर भारत गएर सामान ल्याएकी थिएँ । तर, डोजरले सबै उडाइदियो ।’ उनले विरह पोखिन् ।

आफूले क्षतिपूर्ति जसरी पनि पाउनुपर्ने भन्दै उषा आरबी कम्प्लेक्सको म्यानेजमेन्टको ढोका ढकढकाइरहेकी छिन् । क्षतिपूर्ति नपाए कम्प्लेक्सको गेटमा ताला लगाउने निचोडमा आफूहरु पुगेको उनी बताउँछिन् ।

‘हामीलाई क्षतिपूर्ति आरबी कम्प्लेक्सको म्यानेजमेन्टले दिनुपर्छ । यदि ठाउँ लिगल थिएन भने लिगल्ली फर्म भराएर किन भाडा असुलियो ? हामीसँग पानी, बिजुलीको बिल तिरेको रसिद छ । त्यसको क्षतिपूर्ति त जसरी पनि दिनुपर्छ,’ उनले भनिन् ।

अर्का व्यवसायीले नाम नखोल्ने शर्तमा आक्रोश पोख्दै प्रश्न गरे, ‘त्यहीँ नजिकै आरएनएसीअघि पनि थुप्रो टहराहरु छन् । तिनीहरुमाथि किन डोजर चलेको छैन ?’

जवाफ पनि आफैंले दिए, ‘२२ नम्बर वडाका अध्यक्ष चिनकाजी श्रेष्ठले आफ्ना मान्छेहरुलाई जोगाएर अरुलाई टार्गेट गरेका हुन् । उनले बालेनलाई प्रयोग गरे ।’

आरबी कम्प्लेक्समा १४ व्यापारीहरुको टहरा भत्किएको छ । अवैध संरचना भन्दै महानगरले डोजर चलाएपछि उनीहरु सडकमा आइपुगेका छन् । चाडको मुखमा लगत्तै स्थानान्तरण हुन पनि नसकिने अवस्था भएको उनीहरुको भनाइ छ । यस्तो बेला भनेजस्तो ठाउँ नपाइने, ठाउँ पाए पनि रेगुलर ग्राहकहरुसँगको सम्पर्क टुट्ने चिन्तालाई सबैलाई सताएको छ ।

आरबी कम्प्लेक्समै विगत १० वर्षदेखि कपडा पसल चलाइरहेका उद्धव कार्कीले डोजर आइपुगेपछि हतारहतारमा सामान सार्न भ्याए । तर, ती सामानलाई कहाँ लगेर बेच्ने ? उद्धवको दिमागमा अल्झिरहेको प्रश्न हो यो । उनीसित तर उत्तर भने छैन ।

उनी भन्छन्, ‘अचानक यस्तो विपत्ति आइलाग्यो । महानगरले ३५ दिने सूचना टाँस गरेको रहेछ । तर, हामीलाई त्यसबारेमा कम्प्लेक्स म्यानेजमेन्टले जानकारी दिएन । हामीले बुझ्न जाँदा पनि केही तनाव लिनु पर्दैन भने । अहिले आएर गरिखाने ठाउँमै डोजर कुद्यो ।’

आरबी कम्प्लेक्सका विस्थापितहरु कुनै पनि हालतमा क्षतिपूर्ति पाउनुपर्ने अडानमा छन् । तर क्षतिपूर्ति लिने चाहिँ कसरी ? यसको ठोस उत्तर छैन । आरबी कम्प्लेक्सका मालिक अनिलभक्त श्रेष्ठ अष्ट्रेलियामा छन् । उनी कहिले फिर्ने हुन्, पत्तो छैन । कम्प्लेक्सका स्टाफहरुका अनुसार श्रेष्ठ छिट्टै फिर्दैछन् ।

एक महिनाअघि १० लाखमा ठाउँ मात्रै किनेका एक व्यापारी नाम नखुलाउने शर्तमा भन्छन्, ‘अब त्यो रकम मैले कहाँबाट लिने ? मेरो त सर्वस्व गुम्यो ।’

नगरपालिकाले ३५ दिनसम्म अवैध संरचना खाली नगरे नगरपालिकाबाट दिइने सेवासुविधा कटौती गरिने सूचना निकालेको थियो । सूचनाबारे थाहा पाएका व्यवसायीले पनि डोजरै चल्ला भन्ने सोचेका थिएनन् । सेवासुविधा मात्रै कटौति गर्ने भनिएकोमा अचानक डोजर ल्याएर टहरा भत्काइनु अन्यायपूर्ण रहेको आरबी कम्प्लेक्स व्यापारी संघका अध्यक्ष पर्शुराम दाहाल बताउँछन् ।

उनी भन्छन्, ‘क्षतिपूर्ति लिने कुरामा हामी कानुनी परामर्शमा छौं । हाम्रो जति क्षति भएको छ, त्यो पाउनुपर्छ हामीले । साथीहरु भत्काइने हल्ला चलेपछि कम्प्लेक्सका कर्मचारीसँग बुझ्न जाँदा ‘कुरा मिलेको छ, अरुको कुरा सुनेर नआउनुस्’ भनेर भनेछन् । चाडको मुखमा साथीहरुको उठिबास लागेको छ, यसको क्षतिपूर्ति जसरी पनि पाउनुपर्छ ।’


यता नयाँ बानेश्वर व्यापार–व्यवसायी संघले मापदण्डपिवपरीतका संरचनामाथि कारबाही गर्दा प्रक्रियागत ढंगबाट व्यवसायीहरुलाई उचित क्षतिपूर्ति तथा व्यवसाय स्थानान्तरणको लागि पर्याप्त समय उपलब्ध गराइदिन काठमाडौं महानगरपालिकासँग आग्रह गरेको छ । एक विज्ञप्ति सार्वजनिक गर्दै भनिएको छ, ‘घरधनीले समयमा नै व्यवसायीहरुलाई सूचना नदिइएको तथा दिएता पनि अष्पष्ट रुपमा जानकारी भएको कारणले यो किसिमको भयावह अवस्था सृजना भएको हो । आफ्नो जायजेथा धितोबन्धक राखी बैंक तथा वित्तीय संस्थाको ब्याज तथा किस्ता बुझाउन मुस्किल परिरहेको अवस्थामा कानुनसम्मत, प्रक्रियागत व्यवसाय गर्न बसेका व्यवसायीहरुलाई चाडबाड आइरहेको समयमा हर्षोल्लासबीच व्यवसाय गर्ने समयमा पारिवारिक रुपमा नै निराश, चिन्ता, रोदन र खल्लो महसुस हुने गरी बेसमेन्ट, सेमी बेसमेन्ट, जमिन तल्लामा रहेका व्यवसाय तथा व्यवसायीहरुको घरधनीलाई ३५ दिने समयावधि राखेर भाडामा बसेका व्यवसायहरुलाई हटाउनु भन्ने निर्देशनले मर्माहत तथा दुःखी तुल्याएको छ ।’

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *