दुई शताब्दीअघि जितेको खुसीयाली अहिलेसम्म निरन्तर मनाइँदै – Nepal Press

दुई शताब्दीअघि जितेको खुसीयाली अहिलेसम्म निरन्तर मनाइँदै

उजीरसिंह थापाले अंग्रेजसँगको लडाईमा गरेको भाकल

रुपन्देही । पश्चिम नेपालकै ठूलो जात्राको रुपमा रहेको श्री ७ रणउजेश्वरी भगवती जात्रा पाल्पाको तानसेनमा सुरु भएको छ । दुई वर्ष कोरोना महामारीका कारण सीमित घेरामा मनाइएको यो जात्रा यसपटक भव्यरुपमा सुरु भएको छ ।

नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा विजयी स्वरुप पाल्पामा भगवतीको जात्रा निकाल्ने गरिन्छ । पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजिर सिंह थापाले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन तीनै आराध्यदेवी भगवतीको आराधना र भाकल गरी विजय प्राप्त गरेको विश्वास स्वरुप सिंन्दुर यात्रासहित भगवतीको रथ निकाल्ने गरिएको हो ।

थापा नेतृत्वको फौजले अंग्रेजलाई परास्त गरेका थिए । युद्धमा निस्कनुअघि कर्णेल थापाले विजय भएमा ठूलो मन्दिर बनाई हर्ष बढाई सहित सिन्दुर जात्रा शुभारम्भ गर्ने भगवतीसँग भाकल गरेका थिए ।

संस्कृतविद झपेन्द्र जिसीका अनुसार वीरताको महत्वसँग जोडिएको सांस्कृतिक र ऐतिहासिक पर्व भगवती जात्रालाई अब तानसेनमा मात्रै सीमित गर्न नहुने बताउँछन् । उनका अनुसार १८७१ को अप्रिल २२ मा अंग्रेजसँग अवध राज्यमा रहेको जग्गा अमरसिंह थापाले फिर्ता गर्ने घोषणा गरेका थिए ।

मई १९ मा जग्गा फिर्ता गरेपछि अंग्रेजले युद्ध घोषणा गरेर मेजर जनलर सुलिभान उडको नेतृत्वमा बटौलीमा आक्रमण गरेको थियो । १८७१ को माघ २२ गते पहिलो आक्रमममा नेपालले जितेको र त्यसको २१ वर्षे उजिर सिंहको नेतृत्वमा जनसहभागिताले जितेको थियो ।

पछि १८७२ को बैशाख ७ मा खस्यौलीतिरबाट सुलिवाङ उडको नेतृत्वमा जितगढीमा आक्रमण हुँदा उजिरसिंह र बिरभन्जन पाडेको नेतृत्वमा उनै उड नेतृत्वको अंग्रेज फौजलाई हराएको इतिहास छ । युद्ध सुरु गर्नुअघि उजिरसिंहले तानसेनको भगवती थानमा गरेको भाकलअनुसार यो जात्राको इतिहास जोडिएको छ । प्राचीनकालमा बनेको थानमा पछि थापाले मन्दिर बनाए । र १८७६ बाट रथ बनाएर जात्रा थालियो । यसको सुरुवात सानाकाजी अमरसिंह थापाले गरेको इतिहास बिर्सन नहुने जिसीको भनाइ छ ।

उनै कर्णेल थापाले विसं १८७२ मा निर्माण थालनी गरी वि.सं १८७६ मा तीन तले मन्दिर पूरा गरेका थिए । आफ्नो भाकल पूरा भएपछि कर्णेल थापाले मन्दिर बनाई यो जात्रा निकाल्न थालिएको इतिहास रहेको इतिहासविद् निर्मल श्रेष्ठको भनाइले यसको इतिहासलाई प्रमाणित गरेको छ ।

वि.सं १८७७ सालदेखि हरेक वर्ष तानसेनमा कृष्ण जन्माष्ठमीको भोलिपल्ट भगवतीको जात्रा हुँदै आएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पाको तानसेनमा धुमधामका साथ मनाइने यो जात्रा नेपाल अंग्रेज युद्धसँग जोडिएको हुँदा राष्ट्रिय महत्वको भनेर चर्चा हुदै आएको छ । जिल्लामा मनाइने जात्रा एवं उत्सव मध्येको सबैभन्दा ठूलो रणउजीरेश्वरी भगवती जात्राको दिन तानसेनमा सरकारी विदासमेत दिने गरिएको छ भने भगबती जात्रालाई राष्ट्रिय उत्सब बनाउन माग भइरहेको छ ।

यो जात्रा तानसेनमा स्थानीय रुपमा मनाइँदै आएको भए तापनि यो जात्राको राष्ट्रिय महत्व रहेको छ । जात्रालाई धार्मिक आस्थासँगै वीरताको सन्देश दिने राष्ट्रिय पर्वको रुपमा लिइने गरिएको छ । तानसेनको भगवती टोलस्थित भगवती मन्दिरबाट रथलाई शुभ साइतमा निकालेर बाजागाजाका साथ सुरु हुने रथयात्रा तानसेन दरबार परिसर हुँदै बजार परिक्रमा गराइन्छ ।

नेपाली सेनाले पञ्चबली दिई विशेष पूजाअर्जना गरी रथयात्राको बजार परिक्रमापछि भगवती मन्दिर परिसरमै पुगेर विसर्जन गर्ने गरिन्छ । पाल्पा सदरमुकाम तानसेनमा भब्य रुपमा मनाइने भगवती जात्रा हेर्न पाल्पाका गाउँ गाउँबाट र छिमेकी जिल्ला गुल्मी,रुपन्देही,अर्घाखाँची तथा स्याङ्जाबाट समेत आउने गर्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर