‘गठबन्धन दलबीच केन्द्रमा सद्भाव र सहमति छ, गाउँमा बोलचाल नै छैन’ – Nepal Press
नेपाल टक

‘गठबन्धन दलबीच केन्द्रमा सद्भाव र सहमति छ, गाउँमा बोलचाल नै छैन’

सुदूरपश्चिम कांग्रेस सभापति वीरबहादुर बलायर भन्छन्- गठबन्धन व्यक्ति विशेषका लागि हैन, नेताको टाउको नदेखाऔं

कैलाली । सुदूरपश्चिम प्रदेशको १६ निर्वाचन क्षेत्रमध्ये गठबन्धनको सीट बाँडफाँटमा डोटी अहिले पेचिलो बनेको छ । प्रतिनिधिसभा तर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा अहिले गठबन्धन भित्रका दलहरूबीच हानथाप भइरहेको छ ।

यहाँ नेपाली कांग्रेसबाट पूर्वमन्त्री वीरबहादुर बलायरले दाबी गरेका छन् । उनी कांग्रेस सुदूरपश्चिम प्रदेशमा सभापति हुन् । डोटीकै एक क्षेत्रमा नेकपा एकीकृत समाजवादीको तर्फबाट पूर्वमन्त्री प्रेम आलेको सशक्त दाबी छ ।

माओवादीबाटै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि यही क्षेत्रको रेसमा छन् ।

२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ प्रेम आलेसँग पराजित भएका कांग्रेसका बलायरले डोटीमा कांग्रेसको दाबी स्वाभाविक भएको बताएका छन् । केन्द्रमा सीट बाँडफाँटका लागि बनाइएको कृष्ण सीटौला नेतृत्वको कार्यदलले आफूहरूसँग छलफल नगरेकोमा भने उनी असन्तुष्ट छन् ।

हालैमात्र कांग्रेसको डोटी-काठमाडौँ सम्पर्क समितिद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले धरातलीय तथ्य अध्ययन गरी उपयुक्त मापदण्ड तय गरेर सीट बाँडफाँट गर्नुपर्नेमा कसैसँग समन्वय नै नगरी अघि बढेको आरोप लगाएका थिए ।

कार्यदलको भूमिका, गठबन्धनको अवस्था र कांग्रेसको दाबीका विषयमा प्रदेश सभापति बलायरसँगको कुराकानी नेपाल प्रेसको नेपाल टकमा

– सीट बाँडफाँट गर्न बनेको कार्यदलले तपाईँहरूको परामर्श नलिएको कुरा आइरहेको छ नि, हो ?

हो । अहिलेसम्म हामीसँग केही समन्वय भएको छैन । म गठबन्धन हुन हुँदैन भन्ने मान्छे होइन । तर, गठबन्धनका आफ्ना मापदण्ड त बनाउनु पर्‍यो नि ।

एमालेविरुद्धको गठबन्धन भनेपछि सबै मिलेर लड्दा जित्नु पर्ने हो नि । एमालेविरुद्ध गठबन्धन गरेर गठबन्धन हार्ने भएपछि किन गठबन्धन गर्ने ? जित्नको लागि त त्यही अनुसारको तय हुनुपर्‍यो नि । यो खसी काटेको होइन बराबर लगाऊँ भन्नलाई । यो त क्षमताको कुरा हो । जनताको आवश्यकताको कुरा हो । हिजोको कुरा गर्ने हो भने माओवादी पनि त एमालेको मतले जितेको हो । समाजवादी भन्ने त एमाले नै थियो । अनि अहिले उहाँहरू एमालेसँग छुट्टिनु भएको हो । त्यही हुँदा पनि एमालेको मत भार के हो ? उहाँहरूको मत भार के हो त्यो हेर्नुपर्दैन ?

आफ्ना हैसियतमा बसेर गठबन्धनको कुरा गर्नु पर्छ के । मेरो हैसियत यो हो भनेर प्रतिशत माग्ने होइन । प्रतिशतको आधारमा गरिने गठबन्धनले गठबन्धन सम्भव नै छैन ।

गठबन्धन व्यक्तिको लागि गरिएको हो कि मूल्यमान्यता, सिद्धान्त संविधान सबै कुरा प्रस्ट हुनु पर्छ । साँच्चिकै गठबन्धन गर्ने हो भने देश र जनतालाई आश्वास्त पार्न सक्नुपर्छ । यसले ८/१० वर्षको कार्यदिशा दिन सक्नुपर्छ ।

– तालमेल गर्दा पनि प्रदेशमा सत्ता गठबन्धनका दलहरू कमजोर हुने अवस्था हो र ?

कांग्रेस बलियो भएको ठाउँमा अरूलाई दिएपछि कसरी हुन्छ ? १९ को २० बनाउन सकिन्छ तर, १ को २० बनाउन सकिँदैन ।
स्वाभाविक रूपमा आफ्नो हैसियत, क्षमता र औकातमा बसेर गठबन्धन हुनुपर्छ । गठबन्धनभित्रका दलहरूबीच केन्द्रमा सरकार बनेको छ । त्यहाँ सहमति र सद्भाव छ । तर, ग्रामीण क्षेत्रमा गठबन्धनका दलहरूबीचमा चरम तिक्तता छ । संवादको अवस्था छैन । गएको निर्वाचनमा आपसी सद्भाव हुन सकेन । क्षमताभन्दा बाहिर माग आए । धेरै जिल्लामा गठबन्धन गर्न सकिएन । गठबन्धन नभएका जिल्लाहरूको परिणाम हेर्दा कांग्रेस अद्भूत रूपमा अगाडि आएको छ । आफ्ना हैसियतमा बसेर गठबन्धनको कुरा गर्नु पर्छ के । मेरो हैसियत यो हो भनेर प्रतिशत माग्ने होइन । प्रतिशतको आधारमा गरिने गठबन्धनले गठबन्धन सम्भव नै छैन ।

– स्थानीय चुनाव पहिले पनि तपाईँले गठबन्धन सम्भव छैन, सुदूरपश्चिममा हुँदैन भन्दै हिँडिरहनु भएको थियो । पछि बाध्य हुनुभयो । यसपटक पनि त्यही अवस्था त होला है ?

बाध्य भन्नाले कांग्रेसमा भोट हाल्ने जनताले मन पराएका थिएनन् । त्यो त अहिले पनि छ । पहिले गठबन्धनमा रहेका दलहरूले जनतासँग आफ्नो धरातल हेर्नुपर्‍यो । अनि त्यो अनुसार भन्नुपर्‍यो । २० हजार मत ल्याएको छ भने ३० हजार भएकोले त्यसमा ठीकै छ नि त भन्ने कुरा आउला । अब ३ हजार ल्याएर ४० हजार हामीलाई देऊ भनेर कसरी होला ?

– सुदूरपश्चिममा कांग्रेसबाहेकका गठबन्धनका अन्य दलको हैसियत नभएकै हो र ?

हैसियत छैन भनेको होइन । आफ्नो हैसियत अनुसारको माग गर्नु पर्‍यो नि । नेताको टाउको देखाएर माग गरेर चाहिँ गठबन्धन हुन सक्दैन । गठबन्धन भयो भने पनि त्यसले उपलब्धि दिँदैन परिणाम आउँदैन ।

– हैसियतको कुरा गर्दा त सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नै ठूलो दल हो नि ?

के हो पहिलो दल भनेको ? कहाँको पहिलो दल ?

– प्रदेशसभामा त नेकपा एकीकृत समाजवादी नै पहिलो दल हैन र ?

अहिले प्रदेशसभाकाले भोट हाल्ने हो र ? उहाँहरू त हिजो एमालेबाट जितेर आउनु भएको हो भन्ने थाहा छ कि छैन ? हिजो माओवादी र एमालेको भोटबाट जितेर आउनुभएको हो । अहिले माओवादी के छ र एमालेसँग कति जनमत छ त्यो पनि बुझ्नुपर्छ के ।

अर्को कुरा उहाँहरूलाई हटाउनुपर्छ, गठबन्धनमा राख्न हुँदैन भनेका छैनौँ । उहाँहरूले पनि आफ्नो अवस्थाबारे बुझ्नु पर्‍यो के । २०७४ मा हामी जितेर आएका हौँ भनेर हुन्छ ? २०७९ वैशाख ३० गतेको जनादेश के भयो ? त्यसैले हामी पहिला हामी यो थियौँ भनेर हुँदैन । पहिला त को के थियो, थियो ? समय परिवर्तनशील छ नि ।

– गठबन्धन गर्दा डोटीमा नेकपा एकीकृत समाजवादीले प्रेम आलेलाई दिलाउन खोज्दा….(प्रश्न पूरा हुन नपाउँदै)

यो व्यक्तिलाई जिताउन बनेको गठबन्धन होइन । यो देश जनता र नेपालको संविधानलाई जिताउन बनेको गठबन्धन हो । यहाँ कुनै व्यक्ति विशेषका लागि गरिएको गठबन्धन होइन यो ।

निर्वाचनमा जाँदै गर्दा मान्छेले जित्ने हो मतदाताले जिताउने हो ? अहिलेको सर्वोपरि भनेको मतदाता हुन् । त्यसैले मतदाताको मनोविज्ञानलाई नबुझी दिएका जुनसुकै पार्टीका उम्मेदवारहरू परिणाममा विजयी भएर आउँछन् भन्ने कुरामा मलाई विश्वास लाग्दैन ।

– डोटी कै कुरा गर्दा कतै गठबन्धनले…..(फेरि प्रश्न पूरा नहुँदै)

डोटीको बारेमा म धेरै कुरा गर्न चाहन्नँ । अहिले देशभरिमा कांग्रेस एक नम्बरमा हो । अहिले सबै दलहरू एकातिर हुँदा पनि कांग्रेसको मतभार अगाडि छ । हिजो हामी ११/१२ हजारले पछाडि थियौँ तर आज हामी २/३ हजारले अगाडि छौँ । सायद डोटीका जनताको स्वाभिमानमा आँच नआउने गरी केन्द्रमा निर्णय हुन्छ ।

– सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा र ३२ प्रदेशसभामा नेपाली कांग्रेसले कति क्षेत्रमा दाबी गर्छ ?

दाबी-साबी मैले जानेको छैन । मेरो कुरा जो पार्टी जहाँ जित्छ त्यसलाई त्यहाँ दिनु पर्छ भन्ने हो । अस्वाभाविक रूपले त्योभन्दा बाहिर दावा गर्न थालियो भने परिणाम गठबन्धनको पक्षमा आउँदैन ।

२०७४ मा हामी जितेर आएका हौँ भनेर हुन्छ ? २०७९ वैशाख ३० गतेको जनादेश के भयो ? त्यसैले हामी पहिला हामी यो थियौँ भनेर हुँदैन । पहिला त को के थियो, थियो ? समय परिवर्तनशील छ नि ।

माओवादीले जित्ने ठाउँमा, समाजवादीले जित्ने ठाउँमा कांग्रेसलाई जबरजस्ती दिन पनि हुँदैन । कांग्रेसलाई जित्ने ठाउँमा अरूलाई दिइनु पनि हुँदैन ।

– सुदूरपश्चिममा कांग्रेस पराजित हुने ठाउँ कहाँ हो त ? कुन क्षेत्रमा कांग्रेसबाहेकका दलले पाउँछन् ?

हामी हार्ने ठाउँ छैन । त्यो गठबन्धनवाला कार्यदल छ । त्यसले अध्ययन गरेको होला नि । हामीलाई त के थाहा, हामीलाई त कसैले सोधेको पनि छैन । अरूको त के कुरा आफ्नो पार्टीले त सोध्नुपर्ने त्यो पनि अहिलेसम्म भएको छैन ।

– सोधेको छैन भन्नुहुन्छ, तपाईँहरूको सुझावविना सीट बाँडफाँट भए के हुन्छ ?

सायद मलाई लाग्छ उहाँहरूले फुर्सद नपाएर हामीसँग परामर्श गर्न नसक्नु भएको । हामीसँग परामर्श गर्ने बेला पनि आइसकेको छैन होला जस्तो लाग्छ मलाई ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर