लुम्बिनीको ‘राजनीतिक राजधानी’ रुपन्देही- हेबिवेट नेता को कति सुरक्षित ? – Nepal Press
आम चुनाव-२०७९

लुम्बिनीको ‘राजनीतिक राजधानी’ रुपन्देही- हेबिवेट नेता को कति सुरक्षित ?

रुपन्देही । एमाले, कांग्रेस, राप्रपा, जसपा, माओवादीलगायतका दलका प्रभावशाली नेताहरुको कार्य क्षेत्र रहेको रुपन्देहीमा संघ तथा प्रदेशको आगामी निर्वाचनका लागि उम्मेदवारहरुको टिकट चर्चा सुरु भएको छ ।

निर्वाचनको मिति घोषणा नहुँदै नेताहरुले आफ्नो क्षेत्रमा दैनिक कार्यक्रमको तयारी गर्दै आएका थिए । अहिले आफ्नो टिकट फाइनल गर्न उनीहरुले पार्टीका शीर्ष नेताहरुलाई दबाब बढाएका छन् ।

स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर एमाले बलियो मानिएका क्षेत्रमा बलियो देखिएका सत्तारुढ दलहरू आगामी निर्वाचनमा पनि यसैलाई निरन्तरता दिने ध्याउन्नमा छन् । एमालेले भने यसअघिको आफ्नो वर्चश्व जोगाउन गठबन्धनभित्रै खेल्ने नयाँ रणनीति बनाउने र सके आफ्नो नेतृत्वमा गठबन्धन नभए एकल चुनावमा जाने तयारीमा छ ।

५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा यसअघि एमालेले ३ वटामा जीत निकालेको थियो । कांग्रेसले २ निर्वाचन क्षेत्र सुरक्षित गरेको थियो । प्रदेशसभातर्फ एमालेले ५, कांग्रेसले ३, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले एकएक क्षेत्र जितेका थिए । तर, माओवादीबाट निर्वाचित प्रदेश सांसद दधिराम न्यौपाने नेकपा विभाजनपछि एमालेमै बसेपछि माओवादीको उपस्थिति शून्य भएको थियो ।

रुपन्देहीमा स्थानीय निर्वाचनबाट हौसिएका गठबन्धन दल र रक्षात्मक अवस्थामा पुगेको एमाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आफू अनुकूल बनाउनेतर्फ आन्तरिक गृहकार्यमा जुटेका छन् ।

रूपन्देही एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, पोलिटव्युरो सदस्य खिमलाल भट्टराई, लीला गिरी, राधा ज्ञवाली र अनुशासन आयोग उपाध्यक्ष नेत्र पन्थीको गृह जिल्ला हो । त्यस्तै नेपाली कांग्रेसबाट प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाण, लेखा समिति सभापति भरत शाह र प्रमोद यादवको गृह जिल्ला पनि रुपन्देही नै हो ।

त्यस्तै माओवादी केन्द्रबाट डिलाराम आचार्य, हकिउल्लाह खाँ, वामदेव क्षेत्री, विनोद पहाडी, राप्रपाका दीपक बोहोरा, लोसपाका सर्वेन्द्रनाथ शुक्ला, नेकपा एसबाट आदित्यनाराण कसौधन, डा. बालकृष्ण चापागाईं, राजु गुरुङलगायतका प्रभावशाली नेताहरूको गृह जिल्ला पनि हो रुपन्देही ।

क्षेत्र नं १ : एमाले-कांग्रेस प्रतिस्पर्धी

गत चुनावमा रूपन्देही १ नम्बर क्षेत्रमा एमाले सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री अब्दुल रज्जाकलाई पराजित गरेका थिए । २०७० सालमा तिनै विश्वकर्मालाई रज्जाकले हराएका थिए । यहाँ आउँदो निर्वाचनमा पनि एमालेबाट विश्वकर्मा र कांग्रेसबाट रज्जाक नै उम्मेदवार बन्ने बलियो सम्भावना छ । एमाले रुपन्देही सदस्य यम रानाले रुपन्देहीमा एमालेका लागि सबैभन्दा सुरक्षित क्षेत्र १ नम्बर रहेको स्थानीय तहको निर्वाचनले देखाएको बताए ।

स्थानीय निर्वाचनको मत परिणाम हेर्दा १ नम्बर क्षेत्रमा एमालेले बढी जितेको छ । माओवादीसँग गठबन्धन हुने भएपछि कांग्रेस बढी हौसिएको छ । तर, तेस्रो शक्ति रहेको राप्रपाले कुनै दलसँग गठबन्धन गर्छ या एकल जान्छ, यसले विशेष अर्थ राख्ने देखिएको छ । राप्रपाका सहमहामन्त्री ताहिर अली यसै क्षेत्र हुन् । त्यसैले उनको प्रभाव यहाँ रहनेछ ।

विश्वकर्मा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् । रज्जाक कांग्रेस सभापति शेरबहादुर देउवा निकट हुन् । प्रदेशसभातर्फ वाम गठबन्धनबाट तत्कालीन माओवादीका दधिराम न्यौपाने र एमालेका कृष्ण न्यौपानेले जितेका थिए ।

यस क्षेत्रमा देवदह नगरपालिका र तिलोत्तमाका वडाहरु ७, ८, ९, १०, ११, १२ १५, १६ र १७, ओमसतिया गाउँपालिकाका वडाहरु १, ३, ४, ५ र ६ तथा रोहिणी गाउँपालिका पर्छन् ।

क्षेत्र नं २ : दाेहारिएलान् विष्णु पाैडेल ?

जिल्लाको निर्वाचनमा सधैं चर्चामा आउने क्षेत्र हो रुपन्देही २ । अहिले पनि यहाँको चर्चा बढेको छ । यो एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्र हो । २०५४ सालपछि कुनै पनि स्थानीय निर्वाचनमा नजितेको कांग्रेसले यसपटक ५ दलको गठबन्धनबाट फराकिलो मतान्तरले प्रमुख तथा बहुमत वडामा जीत निकालेको छ । तर, पौडेलसँग प्रतिस्पर्धा गर्ने यहाँ बलियो कांग्रेसको नेता नभएकाले समस्या भएको कांग्रेसका स्थानीय नेताहरुकै आंकलन छ ।

यसैगरी ५ वटै क्षेत्रमध्ये गठबन्धन भएको माओवादी वा नेकपा एसले माग्ने क्षेत्रसमेत यही भएकाले यो थप चर्चामा छ । यहाँबाट एमाले उपाध्यक्ष पौडेल उम्मेदवार बन्ने निश्चितजस्तै छ । गठबन्धन नभएमा कांग्रेसले गुल्मीका नेता चन्द्र भण्डारीलाई चुनाव लडाउने तयारी छ ।

पौडेलले २०६४, २०७० र २०७४ सालको निर्वाचन जितेर ‘ह्याट्रिक’ गरेका छन् । पौडेलले २०६४ सालमा माओवादीका भक्ति पाण्डे, २०७० सालमा डा.बाबुराम भट्टराई र २०७४ सालमा गिरीलाई हराएका थिए । २०७४ सालमा पौडेलले ४४ हजार ९ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी गिरीको मत २१ हजार ९४६ थियो ।

यसपटक भने पौडेललाई चुनौती थपिएको छ । उनको निर्वाचन क्षेत्रका अधिकांश वडा र तीनवटै पालिका प्रमुख गठबन्धनको सहायताले नेपाली कांग्रेसले जितेको छ । रुपन्देही क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बरसम्मका वडाहरू छन् ।

त्यसैगरी सैनामैनाका १ देखि ४ नम्बर वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ नम्बर वडा पर्छन् । पौडेलको चुनाव क्षेत्रमा पर्ने २३ वडामध्ये यो स्थानीय चुनावमा एमालेले ६ वटा वडामा जितेको छ भने कांग्रेसले ११ वडा जितेको छ ।

तर, एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले स्थानीय तहको मत परिणामले पौडेलको जीतलाई रोक्न नसक्ने दावी गर्छन् ।

प्रजातान्त्रिक खेमाका अग्रज पत्रकार महेन्द्र थापा पनि स्थानीय निर्वाचनले संघ तथा प्रदेशको आंकलन गर्न नसकिने बताउँछन् । यहाँदेखि स्वतन्त्रबाट डा. निकोलश भुसाल उम्मेदवार बनेर सार्वजनिक भइसकेका छन् । यहाँबाट गत निर्वाचनका दुवै सिटमा एमालेका भोजप्रसाद श्रेष्ठ र लीला गिरी विजयी भएका थिए । अहिले गिरीले मुख्यमन्त्री हुने गरी अगाडि बढ्ने तयारी गरेको उनी निकट नेताहरुले जनाएका छन् ।

कांग्रेस नेताका अनुसार १ नम्बर क्षेत्रमा अब्दुल रज्जाक, ३ नम्बर क्षेत्रमा गृहमन्त्री बालकृष्ण खाँण, ४ मा प्रमोद यादव, ५ नम्बर क्षेत्रमा भरत शाहले कसैलाई छाड्नेवाला छैनन् । त्यसैले गठबन्धन भएमा २ नम्बर क्षेत्र बाँकी रहनसक्छ । त्यसैले पनि चन्द्र भण्डारीको सम्भावना कम छ ।

पौडेलले बुटवलबाट ३ पटक निर्वाचन जितेपछि जलस्रोत, खेलकुद, रक्षा र अर्थमन्त्री, उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर रूपन्देहीमा विकासको लहर ल्याएर लोकप्रिय नेताको छवि बनाएका छन् । पौडेलले दुई पटक अर्थमन्त्री हुँदा रूपन्देहीमा ठूल्ठूला विकासका आयोजना ल्याएकाले पनि उनको प्रभाव बढी देखिएको हो । तर, प्रदेश राजधानी यहाँ राख्ने विषयमा उनको अडान पूरा नभएकाले केही जिल्लावासी रुष्ट छन् ।

क्षेत्र नं ३ : मैदानमा उत्रँदै गृहमन्त्री खाण

रूपन्देहीको ३ नम्बर क्षेत्र चर्चाको केन्द्रमा सधैं हुन्छ । गत निर्वाचनमा राप्रपाका नेता दीपक बोहोरालाई छोडेर समानुपातिकमा बसेका गृहमन्त्री बालकृष्ण खाणले यसपटक प्रत्यक्ष निर्वाचन लड्ने गृहकार्यसहित तयारी गरेका छन् ।

२०६४ र २०७० सालको निर्वाचनमा जितेका खाँण २०७४ सालमा समानुपातिकमा बसेका थिए । कांग्रेसले राप्रपाका वरिष्ठ नेता दीपक बोहोरालाई सघाएको थियो । बोहोरा र एमाले नेता घनश्याम भुसालबीच प्रतिस्पर्धा हुँदा भुसालले फराकिलो मतान्तरले जितेका थिए । २०७० सालमा खाँणले भुसाललाई ८२ मतले हराएका थिए ।

३ नम्बर क्षेत्रमा पर्ने तिलोत्तमा, सिद्धार्थनगर, शुद्धोधन, सियारी र लुम्बिनी सांस्कृतिक नगरपालिका कांग्रेसले जितेको छ । त्यसैले आफ्नै पुरानै क्षेत्रबाट गृहमन्त्री खाँणले चुनाव लड्ने कांग्रेस रुपन्देहीका नेता बताउँछन् ।

कांग्रेसबाट खाण, एमालेबाट स्थायी कमिटी सदस्य भुसाल र तिलोत्तमाका निवर्तमान मेयर बासुदेव घिमिरेको प्रतिनिधिसभामा चर्चा छ । गत चुनावमा प्रदेशतर्फ एमालेका तुलसी चौधरी र जसपाका सन्तोषकुमार पाण्डेय निर्वाचित भएका थिए ।

बोहरा १ र ३ नम्बर क्षेत्रमध्ये एउटा क्षेत्रबाट प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छन् । त्यसका लागि राप्रपाले एमालेसँग तालमेल गर्नसक्ने राप्रपाका नेताहरू बताउँछन् । ३ नम्बर क्षेत्रमा बुटवलका वडा नम्बर १४–१९, मायादेवी गाउँपालिकाका ७ र ८, ओमसतिया गाउँपालिकाको २ नम्बर वडा, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिकाका १, २, ३, ६ र ७ नम्बर वडा, शुद्धोधन गाउँपालिका र तिलोत्तमा नगरपालिकाका १३ र १४ नम्बर वडा पर्छन् ।

क्षेत्र नं ४ : कांग्रेसले जाेगाउला विरासत ?

रूपन्देहीको ४ नम्बर क्षेत्र पूरै तराईको क्षेत्र हो । यहाँ तराई केन्द्रित दलदेखि कांग्रेस र एमाले पनि उत्तिकै शक्तिका साथ आफ्नो प्रभाव बढाउँदैछन् । गत निर्वाचनमा कांग्रेसका प्रमोद यादव निर्वाचित भएका थिए । यादवले तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार सर्वेन्द्रनाथ शुक्लालाई पराजित गर्दै जीत निकालेका थिए । एमालेका ओमप्रकाश यादव तेस्रो भएका थिए ।

अहिले पनि यादव र शुक्ला नै उम्मेदवार बन्ने चर्चा छ । यहाँबाट जसपा र सिके राउतको जनमत पार्टीले पनि राम्रै मत स्थानीय तहमा ल्याएकाले उसको गठबन्धन वा तालमेलमा पनि विशेष अर्थ राख्नेछ ।

क्षेत्र नं ५ : कांग्रेस-एमाले प्रतिस्पर्धी

गत निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएपछि रूपन्देहीमा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रलाई ५ नम्बर क्षेत्र मात्र परेको थियो । माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य डिलाराम आचार्य र कांग्रेस उम्मेदवार भरतकुमार शाहबीच प्रतिस्पर्धा भएको थियो । चुनावमा कांग्रेसका शाहले जिते । शाह ३३ हजार ८८ मतका साथ विजयी हुँदा आचार्यले २० हजार ८२९ मतमात्र ल्याएका थिए । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिसमेत रहेका शाह ३ पटक निर्वाचित भएका छन् ।

आगामी निर्वाचनमा शाह यही क्षेत्रबाट चुनाव लड्ने निश्चित जस्तै छ । एमालेबाट भने पोलिटव्युरो सदस्य तथा राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले उम्मेदवार बन्ने तयारी गरेका छन् ।

दुवै जना मतदातालाई आफ्नो पक्षमा पार्न दिनहुँ कार्य क्षेत्रमा खटिएका छन् । २०५६ सालमा शाह विजयी भए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा शाहलाई एमालेका स्व. नेता रामनाथ ढकालले पराजित गरे । २०७० सालको निर्वाचनमा ढकाललाई शाहले झिनो मतले पराजित गरेका थिए ।

हालै सम्पन्न स्थानीय निर्वाचनअनुसार ५ नम्बर क्षेत्रमा एमाले र कांग्रेसले बराबर जस्तै जीत निकालेका छन् । प्रदेशसभातर्फ एमालेका भूमिश्वर ढकाल र कांग्रेसका फकरुद्धिन खाँण विजयी भएका थिए ।

यो क्षेत्रमा सैनामैना नगरपालिकाका ५, ६, ७, ८, ९, १० र ११, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका १–११ नम्बर वडा, मायादेवी गाउँपालिका र गैडहवा गाउँपालिका पर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर