जिउँदा जीवराज – Nepal Press

जिउँदा जीवराज

जीवराज आश्रितले यो भौतिक संसार छाडेको पनि ३ जेठ २०७९ मा २९ वर्ष पुगेछ । लामो कालखण्डमा पुराना पुस्ताका मस्तिष्कबाट उनको तस्वीर विस्मृत हुँदै होलान् । नयाँ पुस्ताले उनलाई चिन्ने अवसर नपाएको पनि हुनसक्छ । उनका समकक्षीहरुले जीवराजलाई कसरी सम्झँदै होलान् सोध्नै बाँकी छ !

अभावबाट हुर्केका, राजनीतिक चेतनाबाट खारिएका र तत्कालीन पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा जनता जगाउने नेताका रुपमा उनको परिचय काफी छ । नेपालमा कम्युनिष्ट पार्टीको बीउ छर्ने, हुर्काउने, बढाउने र जोगाउने काममा उनको लगानी अत्यधिक छ । पुष्पलालदेखि मदनकुमार भण्डारीसम्मको नेतृत्वमा रहेर उनले आफूलाई क्रान्तिकारी कम्युनिष्टका रुपमा उभ्याइसकेका थिए भन्ने कुरा सुन्न पाइन्छ, राजनीतिक दस्तावेजहरुमा पढ्न पाइन्छ ।

जीवराज आश्रित, नेकपा (एमाले)को पाँचौं महाधिवेशनदेखि स्थायी कमिटी सदस्य एवम् संगठन विभागका प्रमुख भएका थिए । उनमा कम्युनिष्ट पार्टीको विचारप्रति स्पष्टता थियो । अनुशासनमा दृढता भेटिन्थ्यो । असल संगठक थिए । संगठन निर्माणमा सक्रियता थियो र परिचालनमा कुशलता देखिन्थ्यो । सरल, मिजासिला र निरन्तर अध्ययनशील थिए भन्ने कुरा उनकै समकक्षीहरुले लेखेका संस्मरण र दस्तावेजहरु अध्ययन गर्दा थाहा हुन आउँछ ।

अभावबाट हुर्केका, राजनीतिक चेतनाबाट खारिएका र तत्कालीन पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा जनता जगाउने नेताका रुपमा उनको परिचय काफी छ ।

कतिपय उनका साथीहरुले लेखेका छन्- आश्रित नौनीजस्ता नरम थिए व्यवहारमा तर कर्ममा फलामजस्तै कठोर । यही कारणले त होला उनका बारेमा धेरैको नकारात्मक आलोचना पाइँदैन । भूमिगत जीवनमा पनि उनको रहनसहन, बोली–व्यवहार र आफूले अपनाउनुपर्ने दैनिकी सादगी थिए भन्ने कुरा उनका राजनीतिक सहकर्मीहरुबाट आज पनि सुन्न सकिन्छ ।

जीवराज आश्रित खासमा कुशल संगठक हुन् भन्ने कुरा पार्टीका नेताहरुले भन्दै आएका छन् । आजको नेकपा (एमाले)को विशाल संगठन नै उनको मेहनतको उपज हो भन्नेहरु पार्टीमा प्रशस्त भेटिन्छन् । कार्यकर्ताहरुलाई आफ्नो सन्तान ठान्ने र उनीहरुको मनोभाव बुझ्नसक्ने उनको खुबीको सबैले समर्थन र प्रशंसा गर्दै आएका छन् ।

मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई समर्थन गर्दै जनताका बीचमा लैजान सहजीकरण गर्ने उनै थिए भनेर सजिलै थाहा पाउन सकिन्छ । पार्टी संगठनलाई चुस्त, दुरुस्त र चलायमान गराउने कलामा निपुण उनी अनुशासनलाई पार्टीको प्राण ठान्थे । यी कुरा उनका राजनीतिक गुरु एवम् समकक्षी देवेन्द्र घिमिरेको मुखबाट धेरैपटक सुन्ने अवसर पाएको थिएँ ।

साहित्यमा उनको अगाढ रुचि थियो । फुर्सदिला दिनहरु साहित्यमा बित्ने कुरा उनका साहित्यिक रचनाहरुले देखाउँछन् । ‘न उठी भएन नेपालका दिदीबहिनी हो, के छ र बाँच्ने आधार कम्मरै नकसे….’ भन्ने गीतले उत्पीडन र दमनमा परेका नेपाली चेलीहरुलाई जुरुक्कै उचालेको थियो । नेपालमा २०४६ सालमा पुनः प्रजातन्त्र आए पनि समाजवादतर्फ उन्मुख हुन उद्यमशीलतालाई पहिलो सूचीमा राख्नुपर्ने उनको तर्क थियो । राजनीतिले चेतना दिन्छ, चेतनाबाट प्रदीप्त भएर देश विकासमा परिवर्तनको लहर ल्याउनुपर्छ भन्ने उनको मान्यता थियो । गरिखानेहरुको दिनमा सुख ल्याउनुपर्छ । हुँदा खानेहरुलाई हुने खाने बनाउनुपर्छ भन्ने उनका गतिला समाजवादी चिन्तन थिए ।

उनमा कम्युनिष्ट पार्टीको विचारप्रति स्पष्टता थियो । अनुशासनमा दृढता भेटिन्थ्यो । असल संगठक थिए । संगठन निर्माणमा सक्रियता थियो र परिचालनमा कुशलता देखिन्थ्यो ।

पदका लागि कहिल्यै राजनीति गरेनन् भन्ने कुरा उनलाई २०३७ सालमा सीपी मैनालीपछि पार्टीको महासचिव बन्न अनुरोध गर्दा नमानेको कुराले प्रस्ट्याउँछ ।

२०४८ सालमा गुल्मीबाट प्रतिनिधिसभाको सदस्यमा चुनाव लडेर हार्दा पनि उनमा कति पनि निराशा नदेखिएको स्थानीय नेताहरु बताउँछन् । पार्टी, संगठन बलियो बनाउनुपर्नेमा उनको जोड देखिन्थ्यो । संगठन नै शक्ति हो भन्ने कुरालाई उनले कहिल्यै बिर्सिएनन् ।

पञ्चायतको कालकठोरी जीवनबाट जनतालाई मुक्ति दिलाउन उनको भूमिका राजनीतिक क्षेत्रमा अद्वितीय नै रह्यो । भूमिगतकालीन समयमा ज्यानको बाजी राखेर जनता जगाउन, जनतालाई प्रशिक्षित गराउन र उक्त व्यवस्थाविरुद्ध जाइलाग्ने खालको क्रान्तिकारी जनता तयार गराउन उनको योगदान स्मरणीय रह्यो भन्ने कुरा आज धेरैबाट जानकारी हुन आउँछ ।

आजको नेकपा (एमाले)को विशाल संगठन नै उनको मेहनतको उपज हो भन्नेहरु पार्टीमा प्रशस्त भेटिन्छन् । कार्यकर्ताहरुलाई आफ्नो सन्तान ठान्ने र उनीहरुको मनोभाव बुझ्नसक्ने उनको खुबीको सबैले समर्थन र प्रशंसा गर्दै आएका छन् ।

साउन १८ गते उनको ७९ औं जन्मजयन्ती मनाइरहँदा जीवराजलाई कसरी सम्झिने कुरो ठूलो होइन । बरु उनले अंगीकार गरेका विचार, सिद्धान्तलाई जनताका बीच कसरी स्थापित गराउँदै लैजान सकिन्छ भन्ने कुरा प्रमुख हुन आउँछ ।

जीवराज कसरी जिउँदा छन् त आज पनि ? प्रश्न यही हो । जीवराजले निंरकुश पञ्चायती व्यवस्थालाई ढाल्न गरेको प्रयास र अभ्यासले आज देशमा गणतन्त्र आइपुगेको छ । यसकारण पनि उनलाई सम्झिनुपर्छ । आफ्नो पार्टीलाई राजनीतिक रुपमा सवल र सक्षम बनाउन असल संगठन निर्माण गरे अनि सोही संगठनका माध्यमबाट पार्टी बलियो बनाउन र बलियो पार्टीले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन पहल गरेको कारण आज पनि उनलाई सम्झिन परेको सत्य हो ।

जीवराज आश्रितले लिएका सिद्धान्त, विचार आज पनि उत्तिकै बलिया छन् । सोही विचारबाट अग्रसर उनको पार्टीले देशको राष्ट्रियता, भौगोलिक अखण्डता र स्वाभीमान जोेगाउँदै आएको छ । त्यसैले पनि जीवराजलाई सबैले सम्झिनुपर्ने दिन आएको छ । यी सबै कुराका ज्वलन्त प्रमाणका आधारमा जीवराज जिउँदा छन् ।

दासढुंगाबाट उनलाई त्रिशुलीमा डुबाइए पनि उनको विचार डुबेको छैन । उनलाई रहस्यमय तरिकाले मारे पनि उनले बोकेका सिद्धान्तहरु मरेका छैनन् । भौतिक शरीर ढलेर गए पनि उनले अंगालेका विचारहरु ढलेका छैनन् । उनले बोकेका नीति, विचार, सिद्धान्त आज झन् बलिया बन्दै आएका छन् । त्यसैले पनि उनी जिउँदा छन् । भौतिक शरीरको अन्त्यमात्र भएको हो उनको । विचारले आज पनि हामी बीच उनी बाँचिरहेका छन् । बाँचिरहनेछन् ।

प्रतिक्रिया

One thought on “जिउँदा जीवराज

  1. आज कम्युनिस्टहरूले आफ्नो आदर्श समाजको निर्माण गर्ने कुशल संगठक र नेतालाई सम्झनु पर्छ हार्दिक श्रद्धा सुमन जीवराज कमरेड ।

Leave a Reply

Your email address will not be published.