प्रसंग पुष्पलालको, कुरा कम्युनिष्टको – Nepal Press
सन्दर्भ : पुष्पलाल स्मृति दिवस

प्रसंग पुष्पलालको, कुरा कम्युनिष्टको

आफ्ना दाजु गंगालाललाई जहानियाँ राणा शासकहरुले व्यवस्थाविरुद्ध लागेको आरोपमा गोली हानी मारेपछि पुष्पलालमा राणाशासनप्रति घृणा र मनमा क्रान्तिको ज्वाला दन्किएको थियो । जतिबेला उनी १६ वर्षका लक्का जवान थिए । किशोरवयमा पलाएको क्रान्तिको आगोलाई भारतको कलकत्ताको श्यामबजार पुगेर उनले साथीहरुसँग मिलेर सन् १९४९ को अप्रिल २२ तारेखमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरी महासचिव बन्नु खेलाँची थिएन ।

गोली खानु एकदिनअघि गंगालालले माइलो भाइ पुष्पलालतिर हेर्दै भनेका थिए रे, ‘माइला मैले प्रजातन्त्रका लागि बालेको दियोलाई तैंले प्रज्ज्वलित पार्नेछस् ।’ यही वाक्य नै पुष्पलालका निम्ति राजनीतिमा प्रवेश गर्ने पे्ररणाको स्रोत बन्यो ।

पुष्पलाल श्रेष्ठको जन्म विक्रम संवत् १९८१ असार १५ गते रामेछापको भँगेरीमा बाबा भक्तलाल र आमा तुलसीमायाको कोखबाट माइलो छोरोको रुपमा भएको थियो । महेन्द्रले प्रजातन्त्रको घाँटी निमोठेर संसदलाई नै कू गरेपछि उनी २०१७ सालमा भारत निर्वासित भएका थिए । भारतमा नेपालबाट गएका राजनीतिकर्मीहरुलाई अनि पढ्न गएका विद्यार्थीलाई संगठित गरी पञ्चायती व्यवस्थाविरुद्ध एकीकृत र गोलबन्द गरेका थिए ।

पुष्पलाल नेपाली क्रान्तिका गद्दार हुन् भनेर उनका बारेमा अनेक टीका-टिप्पणी र आपेक्ष लगाउनेहरु अझै नेपाली कम्युनिष्ट आन्दोलनमा जीवित नै छन् ।

नेपालमा पुनः प्रजातन्त्र स्थापना हुनुपर्छ भनेर निरन्तर भारतमा रहेका नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरिरहन्थे । उनको चाहना थियो– नेपाली कांग्रेस र नेकपा मिलेर एकीकृत जनआन्दोलनको जेहाद छेड्नुपर्छ । तबमात्र नेपालको पञ्चायती व्यवस्था ढल्छ । बीपी, गणेशमानसँग यिनै विषयमा व्यापक छलफलसमेत भएको थियो ।

२०३३ सालमा नेपाली कांग्रेसका बीपी र गणेशमान राजासँग राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आएपछि उनी एक्लो परे । एक्लै आन्दोलन सम्भव नभएको र कांग्रेसले आफूलाई धोका दिएको ठानेर वनारसमै लाइब्रेरी अध्ययन गरेर बस्ने निर्णय पुष्पलालले गरेका थिए ।

क्रान्तिलाई एक्लै हाँक्न नसक्ने, कोठे राजनीतिमात्र गर्ने, नेपाल जाऔं र क्रान्तिको आँधीबेहरी सिर्जना गरौंभन्दा डराउने, कांग्रेससँग मिल्नुपर्छ भन्ने सोचबाट ग्रसित पुष्पलाल नेपाली क्रान्तिका गद्दार हुन् भनेर उनका बारेमा अनेक टीका-टिप्पणी र आपेक्ष लगाउनेहरु अझै नेपाली कम्युनिष्ट आन्दोलनमा जीवित नै छन् ।

त्यतिमात्र होइन उनलाई कांग्रेसको सहोदर माइला भाइ हो, माओ त्सेतुङ विचारधाराका विरोधी हुन् भनेर धारे हात लगाउनेहरुले उनलाई घोर संशोधनवादी देख्नेहरुले यतिबेला पुष्पलाल जयन्तीमा उनलाई उही गद्दार देख्दा हुन् कि महान क्रान्तिकारी ? हुन त तत्कालीन पार्टीको प्रधान दुश्मन र कार्यदिशा नै फरक थियो भन्नेहरु पनि होलान् ।

नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनपछि नेपालको कम्युनिष्ट पार्टी र आन्दोलन लगभग २०४७ सालसम्म छिन्नभिन्न रुपमा रह्यो । हुन त त्यसपछि पनि एकीकरण, ध्रुवीकरण र पुनः विभाजनको स्थितिले नेपाली कम्युनिष्ट आन्दोलनलाई नराम्रोसँग थला पारेको छ ।

भारतस्थित नयाँ दिल्लीमा उपचारको क्रममा २०३५ साउन ७ गते पुष्पलालको मृत्यु भएको थियो । यतिबेला देशभर कम्युनिष्ट समर्थकहरुले संस्थापक महासचिवको ४४ औं स्मृति दिवस मनाइरहेका छन् । आ-आफ्नो डबलीमा उनको बयान गर्ने नै छन् ।

नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनपछि नेपालको कम्युनिष्ट पार्टी र आन्दोलन लगभग २०४७ सालसम्म छिन्नभिन्न रुपमा रह्यो । हुन त त्यसपछि पनि एकीकरण, ध्रुवीकरण र पुनः विभाजनको स्थितिले नेपाली कम्युनिष्ट आन्दोलनलाई नराम्रोसँग थला पारेको छ ।

२०१९ सालको बैशाख ४ देखि १५ गतेसम्म चलेको नेकपाको तेस्रो महाधिवेशनमा कमरेड पुष्पलालले तत्कालीन राजा महेन्द्रबाट २०१७ साल पौष १ गते विघटित संसदको पुनःस्थापनाको माग राखेका थिए । क.मोहनविक्रम सिंह संविधानसभाको निर्वाचन चाहन्थे र क.तुल्सीलाल अमात्यले सार्वभौमसत्ता सम्पन्न संसदको प्रस्ताव पेश गरेका थिए ।

महाधिवेशनमा सिंहको लाइन पास भयो । तर, महासचिवमा भने क.तुल्सीलाल अमात्य चुनिए । क.सिंहको कार्यदिशा र क. तुल्सीलालको नेतृत्वबीच अन्तरविरोध देखियो । तेस्रो महाधिवेशनपछि नेकपामा टुटफुट प्रारम्भ भयो । यो नै नेपाली कम्युनिष्ट आन्दोलनका लागि विष–वृक्ष रोपणको कलुषित यात्रा भयो ।

२०४७ सालमा नेकपा (मार्क्सवादी) र नेकपा (माले) एकीकरण भई नेकपा (एमाले) बनेको थियो । जुन शक्तिले २०४८ सालको आमनिर्वाचनमा ६८ सीट जितेको थियो । त्यसैगरी २०४७ सालमा नै प्रचण्डले नेतृत्व गरेको नेकपा मशाल, निर्मल लामाले नेतृत्व गरेको नेकपा चौम र रुपलाल विश्वकर्माले नेतृत्व गरेका सर्वहारावादी श्रमिक संगठनबीच एकता भई नेकपा (एकता केन्द्र) बनेको थियो । जसको २०४८ मंसिर ४ एकता महाधिवेशन भयो । डाक्टर बाबुराम भट्टराईको अगुवाइमा चुनावी मोर्चाका रुपमा संयुक्त जनमोर्चा गठन गरी २०४८ सालको निर्वाचनमा ९ सीट जितेको थियो ।

कहिले पूरा होला समाजवादी क्रान्तिको कार्यदिशा ? कहिले होलान् नेपालका कम्युनिष्ट पार्टीहरु एउटै ? कहिलेदेखि बन्द गर्लान् कम्युनिष्ट पार्टीको खुद्रा पसल ? कहिलेदेखि सोच्लान् साम्यवाद हाम्रो लक्ष्य हो भनेर ।

२०५१ मा आउँदा एकता केन्द्रमा फुट आयो । निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचनहरु पार्टीबाट अलग भएको घोषणा गरे भने प्रचण्डको नेतृत्वमा रहेको एकता केन्द्रको २०५१ सालको फागुन २ देखि ४ गतेसम्म भएको तेस्रो विस्तारित बैठकले पार्टीको नाम नेकपा (माओवादी) राख्यो । २०५२ सालको फागुन १ गतेदेखि शेरबहादुर देउवाको सरकारलाई ४० बुँदे माग राख्दै सशस्त्र युद्धको घोषणा गरेको थियो ।

२०७५ सालको जेठ ३ गते नेकपा (एमाले) र नेकपा ( माओवादी केन्द्र) का बीच पार्टी एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रुपमा रह्यो । नेपालको सर्वोच्च अदालतले नेपालकै इतिहासमा पहिलो पटक सिंगो पार्टीलाई दुई पार्टीको पुरानै अस्तित्वमा रहने गरी २०७८ फागुन २३ गते विभाजन गरिदियो । नेकपा (एमाले)बाट नेकपा (एकीकृत समाजवादी) नामको पार्टी अध्यादेशबाट गठन भयो ।

पुष्पलालको सिंगो नेकपा आज काँक्रा चिरिएजस्तै चिरिएका छन् । समाजवादको बाटो हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य लिएका कम्युनिष्ट पार्टीहरु बाटोमा नै अल्मलिएका छन् । समाजवादी क्रान्तिको कार्यदिशा बोकेका कम्युनिष्ट पार्टीहरु र तिनका नेतृत्व कुहिरोका काग बनेका छन् ।

के पुष्पलाल स्मृति दिवसको अवसरमा नेपालका कम्युनिष्ट पार्टीहरु र यिनका नेतृत्वका घैंटामा एकीकृत कम्युनिष्ट पार्टी गठन गर्नुपर्छ भनेर घाम लाग्ला ?

कहिले आउँछ होला देशमा समाजवाद ? कहिले पुगिएला साम्यवादमा ? पुष्पलाललाई गद्दार भनेर पुगिने रहेनछ । उनकै एकीकृत जनआन्दोलनको कार्यदिशाले २०४६ सालमा कम्युनिष्ट र कांग्रेस मिलेर नेपालमा पुनः प्रजातन्त्रको आगमन भएको थियो । कहिले पूरा होला समाजवादी क्रान्तिको कार्यदिशा ? कहिले होलान् नेपालका कम्युनिष्ट पार्टीहरु एउटै ? कहिलेदेखि बन्द गर्लान् कम्युनिष्ट पार्टीको खुद्रा पसल ? कहिलेदेखि सोच्लान् साम्यवाद हाम्रो लक्ष्य हो भनेर । अनि कहिलेदेखि थाल्ने छन् एउटै चुल्हो बाल्न ? एकै ठाम भान्सा गर्न ? समाजवाद र साम्यवादको ।

के पुष्पलाल स्मृति दिवसको अवसरमा नेपालका कम्युनिष्ट पार्टीहरु र यिनका नेतृत्वका घैंटामा एकीकृत कम्युनिष्ट पार्टी गठन गर्नुपर्छ भनेर घाम लाग्ला ? सिंगो कम्युनिष्ट पार्टीको गठन गरी आगामी संघीय र प्रदेशको निर्वाचनमा नजाने हो भने आफैंले बुझ्नेछन् आ- आफ्नो हैसियत ! अनि निर्वाचनपछि भन्नेछन्- ……..पनि सकियो, दैलो पनि देखियो !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *