राप्रपाको स्पष्टीकरणबारे ३ नेताको जवाफ- ‘नाङ्लो ठट्टाएर हात्ती तर्साउने दाउ’ – Nepal Press

राप्रपाको स्पष्टीकरणबारे ३ नेताको जवाफ- ‘नाङ्लो ठट्टाएर हात्ती तर्साउने दाउ’

काठमाडौं । राप्रपाको कार्यसम्पादन समितिले आफूहरूलाई स्पष्टीकरण सोध्ने भनेर गरेको निर्णयप्रति तीन नेताले ध्यानाकर्षण भएको जनाएका छन् ।

हिजो राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्य सम्पादन समिति बैठकले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दिलनाथ गिरी र श्याम तिमल्सिनासहितलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

गिरी, तिमल्सिना र दिलविकास राजभण्डारीले संयुक्त विज्ञप्ति निकाल्दै आफूहरू राप्रपालाई मुलुकको बलियो शक्तिको रूपमा निर्माण गर्नुपर्छ भन्नेमा मन, वचन र कर्मले प्रतिबद्ध रहेको जिकिर गरेका छन् ।

आउँदो चुनावमा पार्टीलाई कसरी सफल र प्रभावकारी बनाउने चिन्ताले पार्टीभित्रै छलफल, विचार विमर्शमा रहेको बेला अनुशासनहिनताको नाममा आफूहरूमाथि डण्डा चलाउने दुष्प्रयास गरिएको उनीहरूको आरोप छ ।

स्पष्टीकरणप्रति खेद जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘हामी नेतृत्व वर्गमा प्रश्न गर्न चाहन्छौं- के राप्रपाभित्र आन्तरिक प्रजातान्त्रिक अभ्यास बर्जित छ ? पार्टीभित्र न्यूनतम प्रजातन्त्रको अवसान भैसकेको हो ? कि नेतृत्वको चरित्र र व्यवहार निषेधको राजनीतिबाट अभिप्रेरित हो ? हामीले पार्टीलाई फराकिलो बनाउनु पर्छ, ठूलो बनाउनु पर्छ, पार्टीभन्दा बाहिर रहेकालाई समेट्नु पर्छ भन्दा पार्टीको अहित भयो ? पार्टी हित अनुसार अभिव्यक्ति स्वतन्त्रता पनि नरहने भयो अब ? पार्टी बनाउने र बचाउने कुरा कसरी पार्टी हितविपरीत हुन्छ ? चाकरी, चाप्लुसी, ज्यु हजुरी र भक्तिगान मात्र स्वीकार्य हो ? बहस, छलफल , चिन्तन ,आलोचनालाई पार्टी भित्र स्थान नभएकै हो ? यी गम्भीर प्रश्नहरुको हामी जवाफ चाहन्छौं ।’

२४ घण्टे स्पष्टीकरण निषेध, पूर्वाग्रह र दुराशयबाट प्रेरित भन्दै तीन नेताले यसलाई ‘नाङ्लो ठट्टाएर हात्ती तर्साउने दाउ’ भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर