एकैदिन चट्याङबाट ७ जनाको मृत्यु, साढे २ महिनामा ३७ जनाले ज्यान गुमाए – Nepal Press

एकैदिन चट्याङबाट ७ जनाको मृत्यु, साढे २ महिनामा ३७ जनाले ज्यान गुमाए

काठमाडौं । चट्याङबाट मंगलबार एकै दिनमा ७ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयत मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार मात्रै चट्याङबाटै ३ जना घाइतेसमेत भएका छन् ।

प्राधिकरणका अनुसार पर्सा, धादिङ, रुपन्देही, नवलपरासी, बाँके, बाग्लुङ र कैलालीमा चट्याङ् लागेर ७ जनाको मृत्यु भएको हो भने ३ जना घाइते भएका हुन् । मुलुकभरका विभिन्न १३ ठाउँँमा चट्याङ लागेर ७ जनाको मृत्यु र ३ जना घाइते भएका प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए । चट्याङ प्राकृतिक विपद् भएका कारण आकाश गड्गडाउँदा र पानी परेका बेला जोखिमयुक्त क्षेत्रका नागरिक बाहिर निस्कदा पनि क्षति बढेको पोखरेलले बताए ।

प्राधिकरणका अनुसार रुपन्देहीको सियारी गाउँपालिका २ बरेवा बस्ने ४५ वर्षका एक पुरुषलाई घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको हो । नवलपरासी पश्चिमको रामग्राम नगरपालिका १० लक्ष्मीपुरास्थित खेत रोप्ने क्रममा ६० वर्षकी एक महिलालाई अचानक चट्याङ लागेर बेहोस भई उपचारको क्रममा मृत्यु भएको हो ।

बाग्लुङको खाठेखोला गाउँपालिका ४ तग्राम फापरखेत बस्ने २८ वर्षकी एक महिलालाई भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएपछि उपचारको क्रममा मृत्यु भएको हो । बाँकेको राप्ती सोनारी गाउँपालिका ३ नारायणपुर बस्ने ७ वर्षका एक बालक घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेर घाइते भई उपचारको क्रममा मृत्यु भएको हो ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका १ औराह रेन्ज बस्ने ३२ वर्षका एक पुरुष खेतमा आली लगाउने क्रममा पानीसँगै आएको चट्याङ लागेर मृत्यु भएको हो ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका २ बेलगाउँ बस्ने ४२ वर्षका एक पुरुष गोठमा गाईलाई घास हाल्न जाने क्रममा अचानक चट्याङ लागेर घनास्थलमा नै मृत्यु भएको हो भने कैलालीको कैलारी गाउँपालिका १ रानामुरा गाउँ बस्ने ५६ वर्षकी एक महिला खेजमा रोपाई गर्ने क्रममा चट्याङ लागेर घाइते भई उपचारका लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

यस्तै कैलालीको कैलारी गाउँपालिका ३ बस्ने ३२ वर्षका र ३४ वर्षका दुई जना पुरुषलाई आफ्नै खेतमा धानको बिउ निकाल्ने क्रममा चट्याङ लागेर घाइते भएका छन् । घाइतेको सेती प्रादेशिक अस्पताल कैलाीमा उपचार भइरहेको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका १ बिनावारी बस्ने १३ वर्षकी एक बालिका घरको आगनमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएकी छन् । उनको कैलालीको धनगढीस्थित नवजिवन अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

साढे २ महिनाको अवधिमा ३७ जनाले ज्यान गुमाए

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार यस वर्षको साढे २ महिनाको अवधिमा मात्रै चट्याङ लागेर मात्रै ३७ जनाको मृत्यु भइसकेको छ ।

२०७९ बैशाख १ गतेदेखि असार १५ गतेसम्मको अवधिमा मुलुकभरमा विभिन्न स्थानमा भएका ९२ वटा चट्याङका घटनामा परेर ५८ जना घाइतेसमेत भइसकेका छन् । ति घटनाबाट एक सय १९ परिवार प्रभावित भएको र १४ लाख ५८ हजार बरावरको अनुमानित क्षतिसमेत पुगेको प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर