खुला महिला भलिबल मंगलवारदेखि – Nepal Press

खुला महिला भलिबल मंगलवारदेखि

काठमाडौं । बाग्मती प्रदेश खेलकुद विकास परिषद् तथा न्यु डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा बाग्मती प्रदेश न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगिता मङ्गलवारदेखि हुने भएको छ ।

प्रतियोगितामा न्यु डायमन्डसहित नेपाल एपीएफ क्लब, नेपाल प्रहरी क्लब र काठमाडौंको परोपकार आदर्श मावि गरी ४ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक कुमार राईले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुने छ । राउन्ड रोविनमा शीर्ष दुई स्थान हात पार्नेले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । तेस्रो र चौथोले तेस्रो स्थानका लागि खेल्ने छन् ।

शीर्ष चार टिमले क्रमशः ५ लाख, २ लाख ५० हजार, १ लाख २५ हजार र ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागत ५ उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिता आयोजना गर्न करिब ४० लाख रुपैयाँ खर्च हुने बताइएको छ । आयोजकले ५०/५० प्रतिशत रकम व्यहोर्ने छन् । प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य मध्ये एक न्यु डायमन्डको भलिबल कोर्ट निर्माण गर्न सहयोग जुटाउनु पनि हो । नगद पुरस्कार प्राप्त गर्ने टिमले २० प्रतिशत न्यु डायमन्डलाई उपलब्ध गराउनु पर्ने प्रावधान रहेको छ ।

टिकटको शुल्क नराखिए पनि दर्शकले कोर्ट निर्माणका लागि आफ्नो इच्छा अनुसार सहयोग गर्न पाउने छन् । चार दिने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित कभर्डहलमा हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर