के श्रीलंकामा जनताले नेता कुट्दै छन् ? फ्याक्ट चेक – Nepal Press

के श्रीलंकामा जनताले नेता कुट्दै छन् ? फ्याक्ट चेक

काठमाडौं । चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले हालै मात्र आफू टाट पल्टेको घोषणा गरेको छ । ऋण ऋणको बोझले थिचिएको श्रीलंकाले महिनौँदेखि खाद्यान्न, इन्धन विद्युत्को लगायताका अत्यावश्यक वस्तुहरूको अभावको सामना गरिरहेको छ ।

श्रीलंका टाट पल्टिएको घोषणा गरिरहँदा श्रीलकंन प्रधानमन्त्रीले हाल देशमा ग्यास, दूध, ट्वाइलेट पेपर लगायतका वस्तुहरू आयत गर्नका निमित्त पनि पैसा नभएको बताएका थिए ।

बढ्दो वैदेशिक ऋण, अस्वाभाविक रूपमा गरिएको कर कटौती, कोरोना महामारीले देशको अर्थतन्त्रमा पारेको नकारात्मक असर र असक्षम नेतृत्वका कारण हाल श्रीलंकाको यो हविगत भएको हो भन्ने जानकारवालाहरुको ठहर छ ।

यसो त वर्तमान परिपेक्षमा कुरा गर्नु पर्दा श्रीलंकाको मात्र नभएर विश्वका धेरै देशहरूको अर्थतन्त्रमा नकारात्मक असर परिरहेको कुरा जगजाहेर छ भने नेपालमा पनि पछिल्लो समय महँगी अचाक्ली रूपमा बढ्दै गएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार समग्रमा मूल्यवृद्धि ७.७ प्रतिशत पुगेको छ । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत, फलफूल १२.६१ प्रतिशत, दलन बालीमा १०.५३ प्रतिशत वृद्धि भएको छ । खाने तेल लगायतका दैनिक उपभोग्य बस्तुको मूल्य अत्यधिक वृद्धि भएको छ भने पेट्रोलियम पदार्थको मूल्य पनि इतिहासकै उच्च विन्दुमा पुगेको छ ।

विश्वले चासोको रूपमा हेरिरहेको श्रीलंकाको वर्तमान अवस्था, नेपालमा पछिल्लो समय देखिएको बढ्दो महँगी र पूर्व गभर्नर लगायतका जानकारवालाहरुले नेपाल पनि श्रीलंकाकै बाटोमा रहेको जस्ता टिप्पणीहरूले गर्दा हाल आम नेपाली जनतामा पनि त्रासको वातावरण सिर्जना भएको अवस्था छ ।

श्रीलंकाको वर्तमान परिस्थितिका पछाडि त्यहाँको असक्षम नेतृत्वलाई एक प्रमुख कारक तत्त्वको रूपमा लिने गरिन्छ भने नेपालको सन्दर्भमा पनि मूलधारका राजनैतिक पार्टी र नेतृत्वसँग आम मानिसहरूको पूर्ण भरोसा नभएको पनि यथार्थ हो ।

फलस्वरूप हाल नेपालका विभिन्न सामाजिक सञ्जालहरूमा श्रीलंकालाई चरम आर्थिक संकट पैदा गर्न महत्त्वपूर्ण भूमिका खेलेको नेताहरूलाई आम मानिसहरू आफैँले छानिछानी दण्ड दिइरहेको तथा कुटपिट गरिरहेको र नेपालमा पनि यस्तै किसिमको अवस्था सिर्जना हुन सक्ने भनेर विभिन्न किसिमका तस्बिरहरू भाइरल भएका छन् ।

सामाजिक सञ्जालहरूमा भाइरल भइरहेका ती तस्बिरहरू को पछाडिको सत्यता के हो ? के श्रीलंकामा आम मानिसहरू नेताहरू माथि जाइलागेकै हुन त ?

श्रीलंकाको वर्तमान परिस्थितिलाई लिएर त्यहाँका जनताहरूमा देशका नेता प्रति आक्रोश रहेको कुरा सत्य र स्वाभाविक हो भने नेतृत्वबाट असन्तुष्ट आम मानिसले सरकार विरोधी आन्दोलन चर्काइ रहेको पनि यथार्थ हो ।

आम मानिसहरूको चर्को आलोचना र दबाब पश्चात गत महिना श्रीलंकाका तत्कालीन प्रधानमन्त्री महिन्दा राजपेक्षले राजीनामा दिएको पनि सत्य हो ।

असन्तुष्ट पक्षले प्रधानमन्त्रीको निवास अगाडि हिंसात्मक प्रदर्शन गरे  पश्चात श्रीलंका आपत्काल तथा कर्फ्यु लगाइएको पनि यथार्थ हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजाजिराको गत मे ९ मा प्रकाशित एक रिपोर्ट अनुसार श्रीलंकाका एक सभासद् अमराकीर्थी अथुकोरला सवार गाडीमा आन्दोलनरत भिडले आक्रमण गरे पश्चात प्रहरीले २ जनामाथि गोली प्रहार गरी हत्या गरेको थियो । तत् पश्चा अथुकोरला र उनका सहयोगी एक भवन तर्फ भागेका थिए जसको केही समय पश्चात उनीहरुको शव बरामद भएको थियो ।

यस बाहेक नेता र आन्दोलनकारी बिच प्रत्यक्ष झडप भएको सूचना हाल सम्म सार्वजनिक भएको छैन ।

हाल अधिकांश सामाजिक सञ्जालमा भाइरल भएका र नेतामाथि कुटपिट भएका भनिएका तस्बिरहरू नेता र आम मानिस बिचको नभएर सरकार विरोधी र सरकार समर्थक समुह बिचको भएको झडपको रहेका छन् ।

हाल सामाजिक सञ्जालमा अत्यधिक भाइरल बनी रहेको एक तस्बिर जहाँ सेतो वस्त्र लगाएका एक व्यक्तिलाई पछाडिबाट एक सेतो पाइन्ट र निलो सर्ट लगाएका व्यक्तिले लौरो जस्तो देखिने वस्तुले प्रहार गरेको देखिन्छ त्यो तस्बिर राष्ट्रपतिको कार्यालय अगाडीको प्रदर्शनमा सरकार समर्थक र सरकार विरोधी पक्षको झडप को हो ।

उक्त तस्बिरमा देखिएका दुवै पक्ष कुनै नेतृत्वदायी भूमिकामा रहेको जानकारी छैन । सेतो वस्त्रमा देखिएका व्यक्ती नेता नभई क्याथोलिक प्रिस्ट हुन् ।

यस्तै गरी हाल सामाजिक सञ्जालमा भाइरल बनिरहेको अर्को तस्विर जहाँ एक निलो पहिरनमा रहेकी महिला र अन्य मानिसले एक जनालाई लौरो जस्तै देखिने वस्तुले प्रहार गरेका देख्न सकिन्छ, सञ्चार माध्यम प्रेस रिडर्सका अनुसार उक्त तस्बिरमा कुटाइ खाइरहेका व्यक्ती नेता नभई उल्टो सरकार विरोधी व्यक्ती हुन् भने उनी माथि हमला गरिरहेका व्यक्तिहरू सरकारका समर्थक हुन् ।

यस्तै गरी सामाजिक सञ्जालमा भाइरल भइरहेको तर्को तस्बिर जसमा सेतो वस्त्र लगाएका केही मानिस र प्रहरीलाई देख्न सकिन्छ उक्त तस्बिरमा पनि सेतो वस्त्रमा देखिएका व्यक्तिहरू नेता नभई सरकार विरोधी क्याथोलिक प्रिस्टनै हुन् ।

यस्तै गरी केही समय अगाडि भारतीय सामाजिक सञ्जालहरूमा पनि केही व्यक्तिहरूलाई नाङ्गै बनाएर कुटपिट गरिरहेको तस्बिर भाइरल भएको थियो जसमा देखिएका व्यक्तिहरू श्रीलंकन नेताहरू रहेको बताइएको थियो उक्त तस्बिर पनि फेक रहेको थियो उक्त तस्बिरमा देखिएका अर्धनग्न व्यक्तिहरू श्रीलंकाका नेताहरू नभई कैदी बन्दीहरूको रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर