अर्थमन्त्रालयको शिक्षा र स्वास्थ्य मन्त्रालयसँग बजेट निर्माणका बिषयमा छलफल – Nepal Press

अर्थमन्त्रालयको शिक्षा र स्वास्थ्य मन्त्रालयसँग बजेट निर्माणका बिषयमा छलफल

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणलाई तिव्रता दिरहेको छ । अर्थमन्त्रालयले शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय रस्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग बजेटका बारेमा छलफल गरेको छ ।

दुवै मन्त्रालयलाई आगामी आबका लागि बिनियोजित बजेटको सिलिङ र त्यस भित्र राखिएका कार्यक्रमबारे छलफल गर्न अर्थ मन्त्रालयमा बैठक राखिएको थियो । शिक्षा मन्त्रालयसँग भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विद्यालय छाड्ने प्रवृत्तिलाइ रोक्ने गरी कार्यक्रम बनाउनु पर्ने बताए ।

‘१ कक्षामा भर्न भएका विद्यार्थीहरु ५ कक्षा पुग्दा धेरैले पढाई छाड्छन् । अझै माथिल्लो स्तरका कक्षामा पुग्दा भर्ना हुने बिद्यार्थी संख्या बिस्तारै कम हुँदै गएको देखिन्छ’ उनले भने, ‘विद्यालयमा भर्ना भएर पढाई छाड्नुको कारण के हो? यसको सोधखोज गरेर विद्यालय भर्ना भएका विद्यार्थीलाई कुनै हालतमा पढाई नछाड्ने बातावरण बनाउन के गर्नुपर्छ, सोही अनुसार बजेट र कार्यक्रम राखौं ।’

बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा नसुध्रिए सबैतिर भद्रगोल हुने भन्दै गुणस्तरीय शिक्षामा बजेट र कार्यक्रम समेट्नुपर्ने बताए । उनले शिक्षामा सुधार गरेर मुलुकको विकासमा समेत टेवा पु¥याउनुपर्ने धारणा राखे । ‘यसपटक शिक्षामा अलि मन फुकाएर बजेट राखौं । बरु के कस्ता कार्यक्रम राख्ने भन्ने सबैले सल्लाह गरौंला’ उनले भने ।

छलफलमा योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले लामो दुरी तय गरेर विद्यालय जानुपर्ने बाध्यता हटाउनुपर्ने बताए । उनले सरकारी पैसामा अध्ययन गर्ने र काम गर्ने बेला बिदेश जाने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए । ‘मज्जाले सरकारी पैसामा पढेर नेपालमै काम गर्ने जनशक्ती उत्पादन गर्ने हो । बिदेश जाने जनशक्ती उत्पादन गर्न खोजेको होइन भन्ने सन्देश बजेटबाट दिनुपर्छ’ उनले भने ।

अर्थमन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग भएको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले गरिबीका कारण रोग पालेर बस्नुपर्ने बाध्यताको अन्त्य गर्नेगरी बजेट बनाउनुपर्ने बताए । मन्त्री शर्माले गरिबीमुक्त गरी रोग लाग्नबाटै जोगाउने गरी स्वास्थ्य मन्त्रालयबाट बजेट र कार्यक्रम प्रस्ताव गर्न आग्रह गरे । उनले पालिकाहरुमै बिज्ञ सेवासहितको अस्पताल र सुविधा सम्पन्न प्रयोगशाला निर्माण हुनुपर्ने बताए ।

बैठकमा स्वास्थ्यमन्त्री बिरोध खतिवडाले ५ सयदेखी १५ सय शैय्यासम्मको निर्मित अस्पतालहरुमा चिकित्सकको दरबन्दी र उपकरण व्यवस्था गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर