प्रदेश १ का यी १९ स्थानीय तह, जहाँ यसअघि सयभन्दा कम मतान्तरले हारजित भएको थियो – Nepal Press

प्रदेश १ का यी १९ स्थानीय तह, जहाँ यसअघि सयभन्दा कम मतान्तरले हारजित भएको थियो

विराटनगर । वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि दलहरु उम्मेदवार छनोटमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध बनेको पाँच दलीय गठबन्धनसँगै एमालेलगायतका दलहरु आफ्ना उम्मेदवार छनोटमा व्यस्त भइरहँदा विगतको नजिताबारे समीक्षा पनि भइरहेको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा प्रदेश १ का कुल १ सय ३७ स्थानीय तहमध्ये नेकपा एमालेले ६९, नेपाली कांग्रेसले ५४, माओवादी केन्द्रले ९, फोरम लोकतान्त्रिक र राप्रपाले ३–३ र जसपाले २ पालिकामा जित हासिल गरेका थिए । जसमा १९ पालिका यस्ता छन्, एक सयभन्दा कम मतान्तरले हारजित भएको छ ।

एक महानगर, दुई उपमहानगर ४५ नगरपालिका र ८९ गाउँपालिका रहेको प्रदेश १ स्थित झापाको कमल गाउँपालिकामा त दुई उम्मेदवारको समान मत आएपछि गोला प्रथाबाट प्रमुख छानिएको थियो । जहाँ नेकपा एमालेकी मेनुका काफ्ले र नेपाली कांग्रेसका हुकुमसिंह राईले बराबर ८ हजार २७५ मत ल्याएका थिए । तर गोलाप्रथामा काफ्ले निर्वाचित भएकी थिइन् ।

भोजपुरको रामप्रसाद राई गाउँपालिका अध्यक्ष पनि एमालेले ८ मतान्तरले जितेको थियो । एमालेका विजय राई २ हजार ३५६ मतका साथ गाउँपालिका प्रमुख बन्दा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका थामबहादुर राईले २ हजार ३४८ मत पाएका थिए ।

त्यसैगरी संखुवासभाको पाँचखपन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विपिन राई ७९ मतअन्तरले विजयी भएका थिए । उनी एमालेका मानसिंह पोखरेलाई हराउँदै मेयरमा विजयी भएका थिए । मेयर विपिनले ३ हजार ४०९ मत प्राप्त गरेका थिए भने एमालेका पोखरेलले ३ हजार ३३० मत प्राप्त गरेका थिए ।

समग्रमा नेकपा एमालेले ११, कांग्रेस र माओवादी केन्द्रले ४–४ वटा स्थानीय तहमा सयभन्दा कम मतान्तरले चुनाव जितेको थियो ।

एमालेले झापाको कमला, भोजपुरको राप्रसाद राई, सोलुखुम्बुको सभापोखरी, नोचासल्यान र खुम्बु पासगलामु, उदयपुरको ताप्ली, ताप्लेजुङको मेवाखोला, ओखलढुंगाको मोलुङ र लिखु, मोरङको ग्रामथान र उदयपुरको त्रियुगा गाउँपालिकामा एक सयभन्दा कम मतअन्तरले जितेको थियो ।

त्यसैगरी नेपाली कांग्रेसले संखुवासभाको पाँचखपन नगरपालिका, भोजपुरको साल्पासिलिछो गाउँपालिका, भोजपुर नगरपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाँउपालिकामा सयभन्दा कम भोट अन्तरले जितेको थियो ।

माओवादी केन्द्रले ओखलढुंगाको चिसखुंगढी गाउँपालिका, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका, खोटाङको साकेला गाउँपालिका र उदयपुरको सुनकोशी गाउँपालिकामा सयभन्दा कम भोट अन्तरले जितेको थियो ।

त्यसैगरी प्रदेश १ का १४ जिल्लामध्येका १ सय ३७ स्थानीय तहमध्ये एमालेले जितेका ३५, काँग्रेसले जितेका २५, माओवादी केन्द्रले जितका ८ र राप्रपा नेपालले जितेका ३ स्थानीय तहमा विजयी उम्मेदवार र निकटतम प्रतिस्पर्धर्धी मत ५ सयभन्दा कम अन्तरमा छ ।

सत्तारुढ पाँच दलीय गठबन्धन कायम भएर गएको अवस्थामा एमालेले जितेका ३५ भन्दा धेरै स्थानीय तहमा गठबन्धन घटकको बर्चस्व हुने देखिन्छ । किनकि ५०० भन्दा कम मतान्तर रहेका ती तहमा विपक्षमा रहेका दल मिल्नासाथ ठूलो मतान्तरले एमाले पछि पर्नेछ ।

एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीका कारण पनि एमालेको मतमा क्षति पुगेको छ ।

नेकपा एमालेले २०७४ को निर्वाचनमा प्रदेश १ का २८ नगरपालिकामा जित हासिल गर्दा ९ वटा र जितेका ४१ गाउँपालिकामध्ये २६ वटामा ५०० भन्दा कम मतान्तर थियो । त्यसमध्ये सुनसरीको धरान उपमहानगरपालिकामा उपनिर्वाचनबाट कांग्रेसले जितिसकेको छ ।

संखुवासभाको खाँदबारी नगरपालिका, चैनपुर नगरपालिका, ताप्लेजुङको फुङ्लिङ नगरपालिका, तेह्रथुमको म्याङलुङ नगरपालिका, धनकुटाको धनकुटा नगरपालिका, मोरङको बेलबारी नगरपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका, उदयपुरको कटारी नगरपालिका, त्रियुगा नगरपालिकामा ५ सयभन्दा कम मतले एमालेका उम्मेदवार विजयी भएका थिए ।

यस्तै गाउँपालिकातर्फ ताप्लेजुङको फक्ताङलुङ्ग, मिकुवाखोला, याङवरक, पाँचथरको याङ्वरक, इलामको चुलाचुली, झापाको कमल, संखुवासभाको मकालु, सभापोखरी, तेह्रथुमको आठराई, फेदाक, मेन्छ्यायेम, भोजपुरको ट्याम्केमैयुम, पौवादुम्बा, रामप्रसाद राई, हतुवागढी, मोरङको ग्रामथान, सोलुखुमबुको खुम्बूपासाङ ल्हामु, नेचासल्यान, सोताङ, खोटाङको केपिलासगढी, खोटेहाङ, लामिडाँडा, ओखलढुंगाको मोलुङ, लिखु, उदयपुरको ताप्ली र रौतामाई गाउँपालिकामा पनि ५०० भन्दा कम मतान्तरले जितहार टुङ्गिएको थियो ।

नेपाली काँग्रेसले प्रदेश १ का ३४ गाउँपालिकामा जित हासिल गर्दा १८ वटामा र १९ वटा नगरपालिकामा जित्दा ७ वटामा ५०० भन्दा कम मतान्तर थियो । काँग्रेसले जितेका गाउँपालिकामध्ये ताप्लेजुङको आठराई त्रिवेणी, मिरिङदेन, सिदिङ्वा, सिरिजङ्घा, पाँचथरको तुम्बेवा, फालेलुङ, इलामको फाकफोकथुम, रोङ, झापाको बाह्रदशी, संखुवासभाको भोटखोला, भोजपुरको साल्पासिलिछो, मोरङको केराबारी, धनपालथान, खोटाङको ऐसेलुखर्क, बराहपोखरी, ओखलढुंगाको चम्पादेवी, सुनकोसी, सुनसरीको देवानगंज गाउँपालिकामा ५०० भन्दा कम मतान्तरले जित हासिल भएको थियो ।

यस्तै, झापाको गौरादह नगरपालिका, संखुवासभाको पाँचखपन नगरपालिका, भोजपुरको भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, मोरङको लेटाङ नगरपालिका, सोलुखुम्बुको सोलुदूधकुण्ड गाउँपालिका, खोटाङको हलेसीतुवाचुङ नगरपालिकामा काँग्रेसले ५ सय भन्दा कम मतान्तरले काँग्रेस विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर