राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न बजेटको समस्या हुन दिदैनौं : मन्त्री महासेठ – Nepal Press

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न बजेटको समस्या हुन दिदैनौं : मन्त्री महासेठ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले राष्ट्रिय गौरवको आयोजनाहरुलाई समयमा नै सम्पन्न गर्न बजेटको समस्या हुन नदिने बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले विभिन्न समस्या समाधान गर्दै राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढेको भन्दै समयमा नै आयोजना सम्पन्न गर्न बजेटको समस्या हुन नदिने बताएका हुन् ।

मन्त्री महासेठले करिब १८ सय किलोमिटर रहेको हुलाकी सडकखण्डको कामले गति लिएपनि केहि खण्डमा समस्या देखिएकाले असार मसान्तभित्र समस्या समाधान गरि काम गर्न अल्टिमेटम दिएको जानकारी दिए ।

उनले महिनाको डेडलाख सवारी चालक अनुमति पत्र छाप्ने गरि काम सुरु भइसकेको भन्दै पूर्ण रुपमा छाप्न १२ देखि १४ महिना लाग्ने जिकिर गरे । उनले सवारी चालक अनुमति छपाइमा अव समस्या नहुने दाबी गरे ।

बैठकमा समिति सदस्यहरुले बिभिन्न आयोजनाहरु समयमा नै सम्पन्न नहुँदा आम जनतालाई समस्या परेको भन्दै राज्यले गम्भीर भएर ध्यान दिनुपर्ने सुझाव दिएका थिए । समिति सदस्य माधव सापकोटाले समयमा नै काम नभएको गुनासो जनताले गरेपनि निर्माण कम्पनीलाई कारवाही गर्न नसकिएको बताए ।

त्यस्तै, समिति सदस्य ज्ञानेन्द्र शाहीले कर्णालीलाई दिइएको बिकास बजेट निकै कम भएको भन्दै आगामी बर्षको बजेटमा सरकारले यसलाई ध्यान दिनुपर्ने बताए । कर्णालीका अधिकांश स्थानको बाटो निकै दयनीय भएको भन्दै उनले सरकारले नसके आफैं विकास गर्ने बताए ।

त्यस्तै, अन्य समिति सदस्यहरुले ठेक्का लिएर समयमा नै आयोजना सम्पन्न गर्ने कम्पनीलाई कडा कारबाही गरि क्षतिपूर्ति भराउने व्यवस्था गर्न समेत सुझाव दिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *