दार्चुलाका दुर्गम क्षेत्रमा तत्काल बाटो बनाउन सरकारलाई सभापति सिंहको निर्देशन – Nepal Press

दार्चुलाका दुर्गम क्षेत्रमा तत्काल बाटो बनाउन सरकारलाई सभापति सिंहको निर्देशन

काठमाडाैं । पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले दार्चुलाका दुर्गम क्षेत्रमा तत्काल बाटो बनाउन सरकारलाई निर्देशन दिएका छन् ।

दार्चुला जिल्लाको अपि हिमलाको फेदमा बसेका नागरिकहरु सदरमुकाम आउन भारतीय बाटो भएर आउनुपर्ने समस्या रहेको भन्दै समस्या समाधानका लागि पहल गर्न सरकारसँग आग्रह गरेका हुन् ।

बिहीबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले दार्चुला जिल्लाको सदरमुकाम खलंगाबाट दुहु गाउँपालिका हुँदै व्यास गाउँपालिका टिंकरसम्म जुन महाकाली करिडोर बन्न अझै ५ वर्ष जति समय लाग्ने भएकाले त्यहाँका बासिन्दाहरुलाई सदरमुकाम आउने छोटो ट्रयाक केही स्थानमा विपद्जन्य घटनाका कारण बिग्रिएकाले बनाइदिन सरकारले पहल गर्नुपर्ने बताए ।

उनले ट्रयाक बिग्रिएर समस्या भएको झन्डै ५ वर्ष बितिसक्दा समेत सरकारले चासो नदिएको भन्दै सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए । उन आउँदो बजेटमा त्यहाँका बासिन्दालाई लक्षित गरी बजेट ट्रयाकका लागि बजेट विनियोजन गरी यसै वर्ष ट्रयाक बनाउन आग्रह गरे ।

यस्तो छ उनको भनाइः

दार्चुला जिल्लाको सदरमुकाम खलंगाबाट दुहु गाउँपालिका हुँदै व्यास गाउँपालिका टिंकरसम्म जुन महाकाली करिडोर बन्दैछ । त्यसमा कम्प्लिट गर्न झन्डै ५ वर्ष अरु लाग्छ भन्ने छ ।

व्यास गाउँपालिकाको अपि हिमालको साइटमा हाम्रा दाजुभाईहरु बस्नुहुन्छ । शरणको लागि याक, च्याँग्राहरु त्यो माथिल्लो भेगबाट हरेक वर्ष हिउँ पर्नु भन्दा पहिला बेँसीमा झार्नुपर्ने हुन्छ, त्यही एउटा गोरेटो बाटो थियो ।

भूकम्प, जैविक प्रकोपका कारण क्ल्याप्स भएको छ । उतातिर चाइना पर्दो रहेछ, यतातिर भारत पर्दो रहेछ, त्यो ट्रयाक झन्डै ५ वर्ष भइसक्यो अहिले बन्द भएको छ । अहिले त्यहाँ हिउँ पर्ने बेलामा चरणमा गएका पशुधन र मानिसहरु भारतमा गइ फेरि दार्चुलामा आउनुपर्ने अवस्था रहेछ । त्यसताका धेरै नै दुःख, कष्ट र अपहेलनँ भारतबाट पाउने रहेछन् ।

त्यो ट्रयाकलाई मर्मत गरी त्यहाँका दाजुभाईहरु त्यहीँबाट आउने व्यवस्था गर्न आवश्यक छ । अपि हिमालको बेसमा बसेका जनतालाई सदरमुकाममा आउने व्यवस्था यो ट्रयाक चाँडो भन्दा चाँडो यही वर्ष भित्रमा खोलिदिनको लागि पहिलो प्राथमिकताका साथ काम अघि बढाउन र यो बजेटमा रकम विनियोजन गर्न अनुरोध गर्दछु ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर