ग्राहकलाई मदिराको लत छुटाउन व्यवसायीको जीवन परिवर्तन योजना – Nepal Press

ग्राहकलाई मदिराको लत छुटाउन व्यवसायीको जीवन परिवर्तन योजना

रुपन्देही । आफ्ना ग्राहकको मदिराको लत हटाउन बुटवलका युवा व्यवसायीले नयाँ योजना बाहिर ल्याएका छन् । नेपाली ब्राण्डका कपडाहरुलाई मात्रै बेचेर नयाँ अभियान थालेका बुटवलको नेपाली लुगाघरका संचालक प्रकाश भुसालले आमनागरिकको जीवन परिवर्तनको नया योजना ल्याएका हुन् ।

३८ वर्षीय भुसालले समाजमा मादक पदार्थकै कारण भएका पारिवारिक कलह, आर्थिक अवस्था कमजोर, जनस्वास्थ्यमा पारेको असर र मदिरा सेवनपछि भएका भयाभव दुर्घटनाका कारण हुने मानवीय र भौतिक क्षतिलाई रोक्ने अभियान चलाउने उनले आफ्ना ग्राहकलाई विशेष छुटको ब्यवस्था गरेका हुन् ।

‘मैले थालेको यो अभियानले सबै निरुत्साहित हुन्छ भन्ने त छैन तर कम्तीमा मैलेजस्तै अन्य व्यवसायीले पनि यसलाई अगाडि बढाए यो गलत संस्कार र प्रवृति कम गर्न सकिन्छ भन्ने सन्देश दिन थालिएको हो’ उनले भने ।

उनले अगाडि सारेको नाराले नै धेरैलाई आश्चर्यमा पारेको छ । ‘साँझ टन्न खर्च, दिनभरी ह्याङ हैन, अब नेपाली लुगाघरले दिनभरी बनाउँछ स्मार्ट र योङ’ उनले आफ्नो पसलमा राखेको सूचनामा उल्लेख छ ।

उनको पसलमा आउने ग्राहकले मादक पदार्थ सेवन नगर्ने प्रतिवद्धता गरे त्यहाँ रहेका हरेक सामग्री खरिदमा २० प्रतिशत छुट दिने उनले बताए । ‘एकातर्फ स्वदेशी उत्पादनलाई प्रवद्र्धन र अर्कोतर्फ मापसेबाट हुने दुर्घटनाको क्षति रोक्ने गरि सचेतना दिने यो अभियान थालेको छु, चौतर्फी मन्दीको प्रभावका बेला नागरिकलाई स्वदेशी उत्पादन खपत गर्ने र विदेशबाट आयात रोक्न मद्दत मिल्ने अपेक्षा छ’ भुसालले थपे ।

भुसालले मापसेबाट हुने सबै क्षति कम गर्न सामाजिक सन्जालमा सचेतना अभियान चलाउने र यसको सुरुवात गराउन जेठ ५ गते कलाकारहरु समेत जुटाउने योजना बनाएका छन् ।

सुन्दा अचम्म लागेपनि यो जीवन परिवर्तन योजनाको सम्बन्ध देशको आर्थिक र स्वदेशी उत्पादनको प्रर्वद्धनसंग जोडिएको र यसले अरुर्लाइ पनि सिकाई हुनसक्ने उनको विश्वास छ । नेपाली उत्पादन रहेका अन्तर्राष्ट्रिय ब्राण्ड बनाएको कपडाहरुको शोरुपमार्फत जेठ ५ गतेबाट महिनाभरि २० प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको उनको भनाइ छ ।

हाल देशका आधा दर्जनभन्दा बढी कम्पनीका लुगाहरु राखिएको र एकपटक कपडा किनेपछि पुनः फर्किने सेवाग्राही धेरै रहेकाले आफूलाई उत्साह थपेको भुसालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *