सिन्दूर जात्रामा रंगियो थिमि (तस्बिर/भिडिओ) – Nepal Press

सिन्दूर जात्रामा रंगियो थिमि (तस्बिर/भिडिओ)

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगर क्षेत्रमा शुक्रबार बिहानैदेखि सिन्दूर जात्रा हर्षोल्लाषका साथ मनाइएको छ ।

मध्यपुर थिमी नपाको बालकुमारी, नगदेश र चपाचो क्षेत्रका दक्षिण बाराही, विष्णुवीर र सिद्धिकाली गणका २३ वटा खटलाई बालकुमारी मन्दिर परिसरमा भेला पारी बालकुमारी, चलाखु, दिगुटोललगायतका टोलमा परिक्रमा गराइएको छ ।

आ-आफ्नो बाजागाजासहित आएका भक्तजनले खटलाई घुमाउँदा जात्रालुले एकअर्कामा सिन्दूर छर्कने भएकाले यस जात्रालाई सिन्दूर जात्रा भन्ने गरिएको हो ।

एक–अर्कालाई सिन्दूर छ्याप्न जात्रालुले कपडाका झोलामा सिन्दूर बोक्ने गर्छन् । केही जात्रालुले आफ्नो शर्त तथा पाइन्टका बगलीमै सिन्दूर बोक्ने गर्छन् । यसरी आफ्नो साथमा रहेको सिन्दूर बाजाको तालमा नाच्दै एकअर्कालाई छ्याप्नुका साथै आकाशमा पनि फाल्ने गर्छन्। यस क्रममा सिन्दूर जात्राका सहभागी जात्रालुसमेत सिन्दूरे देखिन्छ पुग्छन् ।

त्यस्तै शुक्रबार बिहान नै मध्यपुर थिमिको नगदेशमा सिद्धि गणेशको जात्रा मनाइएको छ । नगदेशस्थित सिद्धि गणेशलाई खटमा राखेर नगदेश सहर परिक्रमा गराइएको छ । उक्त जात्रामा पनि जात्रालुले सिन्दूर छर्केका छन् ।

सिन्दूर जात्राअन्तर्गत पहिले नगदेशको सिद्धि गणेशको खट पनि बालकुमारी परिसर पुग्ने गरेको थियो । तर जात्राकै क्रममा नगदेश र मध्य ठिमीका बासिन्दाबीच झैझगडा भएपछि सिद्धि गणेशको खट बालकुमारी नपुर्‍याई नगदेशभित्र मात्रै घुमाउने गरिएको छ।

यसैगरी शुक्रबार दिउँसो मध्यपुर थिमिको बोडेमा जिब्रो छेड्ने जात्रा हुँदैछ । स्थानीय पाँचो गणेश मन्दिर परिसरमा जिब्रो छेड्नुअघि स्थानीय देवदेवीको खट जात्रा सम्पन्न गरिन्छ । उक्त जात्राका क्रमका सहभागीले पनि एकापसमा पहेंलो र रातो सिन्दूर छ्याप्ने गर्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर