आधुनिक अर्गानिक कृषि खेतीमा रमाएका नुरुद्दिन शाह – Nepal Press

आधुनिक अर्गानिक कृषि खेतीमा रमाएका नुरुद्दिन शाह

१० वर्षमा २० विगाह खेत जोड्दै प्रदेशमै बनाए नमुना फार्म

रुपन्देही । १३ वर्ष पहिले १ विगाह जग्गा किनेर काम थालेका नुरुद्दिन शाहले अहिले २० बिगाह जग्गा बनाएर सबै जग्गामा अर्गानिक कृषि खेती तथा पशुपालनको नमुना फार्म संचालन गरेका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं २ का स्थायी बासिन्दा रहेका उनी मुस्लिम शाह हुन् । उनको परिवारले नै व्यवसायिक पहिचान बनाएको छ तर उनले अरु परिवारका सदस्यले भन्दा फरक शैलीमा आफ्नो व्यवसाय संचालनमा ल्याएका छन् । फलफूल तथा तरकारीको व्यवसायमा जोडिएको उनको परिवारलाई पनि उनले थालेको यो नयाँ व्यवसायले खुसी बनाएको छ ।

बुटवलको सुविधासम्पन्न बजारमा घरव्यवसाय भएका शाहले रूपन्देहीको शुद्धोधन गाउँपालिका वडानम्बर २ कलुवामा अहिले नमुना कृषि व्यवसाय त्यो पनि निकै धेरै क्षेत्रफलमा सुरु गरेका छन् ।

१३ वर्ष पहिले शाहले त्यो ठाउँमा १ विगाह जग्गा किनेका उनले कमाउँदै जग्गा जोड्दै अहिले २० विगाह जोडेका हुन् । यही ठाउँमा उनले १० वर्ष पहिला सुरुवात गरेको शाह कृषि फार्म अहिले यो क्षेत्रकै नमुना, उदाहरणीय र सबैको ध्यान खिच्नसक्ने बनेको छ ।

त्यसो त नरुद्दिन विद्यालय उमेरदेखि नै कृषिलाई माया गर्ने गरेको स्मरण गर्छन् । ‘विद्यालय जाँदा आउँदा होस् बाटोमा हिँड्दै गर्दा कुनै पनि बोटबिरुवा देखियो कि घरमा लगेर रोप्थेँ अनि आफैले त्यसलाई संरक्षण गरेर हुर्काउथेँ’ उनले भने ।

उक्त फार्ममा उनले नरोपेको, नलगाएको र नपालेको वस्तु केही छैनन, प्रायः सबै प्रकृतिका तरकारी, फलफूल, पशुपंक्षी पालन गरेका उनले फार्मलाई कृषिको अध्ययन केन्द्र र रिसोर्टजस्तै बनाएका छन् । पहिलोपटक उनको फार्ममा जाने जोकोहीलाई आश्चर्यमा पार्नेगरी उनले संरचना निर्माण गरेका छन् । फार्ममा लहरै रहेका आँपका बिरुवा, बीचबीचमा इन्टरकर्पको रूपमा तरकारी खेती, अम्बा खेती सहितका सुन्तला, कागती यहाँका मनोरम दृश्य हुन्  ।

भित्र जाने बाटोको दायाँ बायाँ क्षेत्रलाई समेट्दै लहरेबाली तरकारी खेती, भक्तपुरे लोकल काँक्रा, लटरम्म फलेका टमाटार, लौका, फर्सी अनि एक लहरले फलेका मकैलगायतका तरकारीले सबैलाई लोभ्याउने गर्दछ । यति धेरै संख्यामा भएका उत्पादनमा उनले कुनै पनि विषादी प्रयोग नगरेको जनाए । विषादी प्रयोग नगरी उत्पादन हुँदैन भन्नेहरुलाई उनले गरेको यो प्रयोग सिकाई हुनसक्दछ ।

रूपन्देही जिल्लामा मात्रै होइन, प्रदेशमै नमुना फार्मको रूपमा उनको फार्म रहेको छ । १३ वर्ष पहिला ९० प्रतिशतभन्दा बढी जंगलले ढाकेको क्षेत्रलाई उनले अहिले हराभर र नमुना मात्रै बनाएका छैनन् उत्पादन हुन नसकेर बाँझो भएका जग्गा यसरी प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् । नरुद्दिनको यो अभियानमा उनका दाजुभाइको उत्तिकै साथ रहँदै आएको छ ।

सुरुवाती दिनमा जग्गा किन्दा बयर, कडीपत्ताजस्ता झाडीले घेरिएको उनको फार्मलाई नमुना फार्मको रूपमा विकास गरेका हुन् । पूर्णरूपमा अर्गानिक खेती गर्दै आएका उनले हालसम्म फार्ममा १५ करोडभन्दा बढी लगानी गरिसकेको बताउँछन् । ‘पूर्णरूपमा अर्गानिक फार्म स्थापना गरी सोहीअनुसार १२ वटै महिना तरकारी उत्पादन गरेर बजारीकरण गर्ने योजना बनाएको छु, काम गरे सफल भइन्छ भन्ने आँट पलाएको छ’ उनी भन्छन् ।

नुरुद्दिन आफैमा कृषिप्रेमी व्यक्ति हुन । उनले फार्ममा प्रकृति प्रेम झल्काएका छन् । फार्ममा भौतिक संरचना निर्माण गर्दा उनले कुनै पनि बोटविरुवा काटेका छैनन् । घरको बीच भागबाट नै बिरुवा उनले संरक्षण गरेर नमुना बनाउने प्रयास गरेका छन्  ।

अर्गानिक उत्पादनमा ध्यान, ३० जनालाई रोजगारी

उद्यमी शाहले यो फर्मबाट पूर्णरूपमा अर्गानिक उत्पादन गरिरहेका छन् । आफूले उत्पादन गर्ने मात्र होइन गाउँका अन्य किसानलाई समेत अर्गानिक खेती उत्पादनको सचेत बनाएको उनको भनाइ छ ।

३० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिँदै आएका उनको फार्ममा गोबरबाट बिजुलीसमेत उत्पादन हुँदै आएको छ । फार्ममा बसोबास गर्ने व्यक्तिहरूले गोबर ग्याँसलाई इन्धनको रूपमा प्रयोग गरी सोहीबाट खाना पकाउने, खाने गर्दछन् । होमस्टेसहितको अवधारणामा उनले फार्मलाई अगाडि बढाएका हुन ।

कुनै पनि व्यवसायिक संघसंस्थाको कार्यक्रम, साधारणसभा तथा अधिवेशनसमेत फार्ममा नै गर्न सकिने गरी व्यवस्थापन उनले गरेका छन् । अध्ययनअवलोकन गर्न आउनेहरूको लागि त फार्म नमुना बनेको छ । उनले यही जग्गामा ठूलो आँप बगैचा बनाएका छन् जहाँ विभिन्न प्रजातिका आँपहरु रहेका छन् ।

फार्मलाई अझ व्यवस्थित गरी पूर्णरूपमा अर्गानिक वस्तु उत्पादन गरी विक्री वितरण गर्ने योजना बनाएका उनले यसको लागि उपभोक्तामा जागरण ल्याउनु नै अबको मुख्य ध्यान रहेको बताउँछन् । उपभोक्ता सचेतना आवश्यक रहेको भन्दै उनले थोरै खाने तर पूर्णरूपमा अर्गानिक खाने बानीको विकास गर्न आवश्यक रहेको विषय सबैलाई गराउन सक्नुपर्ने शाहको भनाइ छ ।

विषादी प्रयोग गरिएको खाद्यान्न र तरकारी प्रयोगबाट दीर्घकालीन रोग लाग्ने भएको कारण यसको लागि समयमा नै सचेत हुनुपर्ने उनको भनाइ रहेको छ । उनको फार्ममा उत्पादन भएका सबैजसो बस्तु पूर्णरूपमा अर्गानिक मल प्रयोग गरिएको उनले सुनाए । कुनै पनि रोग वा किरा लागेमा उनले गाईभैँसीको गहुँतलाई औषधीको रूपमा प्रयोग गर्ने गर्दै आएका छन् र स्थानीयलाई पनि त्यो प्रविधि सिकाउँदै गएको बताउँछन् । उनले यहाँ उत्पादन भएका वस्तु बजारीकरणका लागि बुटवलमा सहज भएको बताउँछन् ।

आफैँले उत्पादन गर्छन् मल

फार्मभित्र ठूलो गोठ ४ वटा, सानो गोठ ४ वटा प्रयोगमा ल्याएका छन् । फार्ममा भैंसी सानोठूला गरेर ७० भन्दा बढी छन् । गाई १ वटा, बाख्रा ७० वटा, लोकल कुखुरा १ हजार वटा, हाँस ५ सय वटा, राजहाँस ५० वटा, खरायो ७० वटा लगायतका उनको फार्ममा अटेका छन् ।

मल्टी एग्रो फार्मको रूपमा विकास गरेका शाहले योे फार्मलाई नमुना एग्रो रिसर्च सेन्टरको रूपमा विकास गर्ने योजना बनाएको बताउँछन् । उनले तरकारी खेतीमा प्रयोग हुने मलसमेत आफ्नै फार्मबाट उत्पादित गोबर मललाई प्रयोग गरेका छन् ।

गाईभैसीसँगै उनले कुखुरा, हाँस, रानी हाँस, खरायो, बाख्रा पालेका छन् । फार्ममा उनले गड्यौला मलसमेत उत्पादन गरेका छन् । गोडमेल, कुखुराको मल, गड्यौला मल उनले फार्ममै उत्पादन गरी प्रयोग गर्दै आएका हुन् ।

   फार्ममा जाने, अध्ययन अवलोकन गर्ने, खानबस्नको लागि मौलिक प्रकृतिका ४ वटा घरसमेत उनले निर्माण गरेका हुन् । यसबाट उनले एकै फार्मबाट धेरै क्षेत्रमा काम गरेका छन् । एउटा क्षेत्रबाट कम मुनाफा भयो वा घाटा लाग्यो भने अर्को क्षेत्रबाट पूर्ति गर्ने उद्देश्य उनले राखेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *