काठमाडौं महानगरको मेयरमा गठबन्धनबाट सिर्जना सिंह ‘क्लोज टु कन्फर्म’ – Nepal Press
स्थानीय चुनाव

काठमाडौं महानगरको मेयरमा गठबन्धनबाट सिर्जना सिंह ‘क्लोज टु कन्फर्म’

महिला उम्मेदवारको सुनिश्चितता माग्दै गएकालाई देउवाले भने- काठमाडौंमा सिर्जना छ

काठमाडौं । नेपाली कांग्रेसकी महासमिति सदस्य सिर्जना सिंहले गत चैत २ गते सामाजिक सञ्जालमार्फत ‘काठमाडौंको मुहार बदल्न अब महिला मेयर बनाउनुपर्ने’ धारणा सार्वजनिक गरिन् ।

काठमाडौं महानगरमा बाँकी रहेका सुधारका काम गर्न र व्यवस्थित सहर बनाउन ‘महिला मेयर हेरौ’ भन्ने सिर्जनाको प्रस्ताव सामान्य चर्चाका लागि मात्रै थिएन । सिर्जनाको धारणाप्रति प्रतिक्रिया दिने अधिकांशले ‘आफैं अगाडि बढ्न’ सुझाव दिएका थिए ।

कुनैबेला विद्यार्थी राजनीतिमा सक्रिय रहेकी सिर्जना वैवाहिक जीवनमा प्रवेश गरेसँगै सक्रिय राजनीतिको अग्रभागमा देखा परिनन् । लौहपुरुष गणेशमान सिंहको परिवारमा बुहारीका रूपमा भित्रिएपश्चात सिर्जनाले ससुरा गणेशमान, सासु मंगलादेवी र श्रीमान् प्रकाशमानको सक्रिय राजनीतिमा महत्वपूर्ण सारथीको भूमिका निर्वाह गरिन् ।

कुनैबेला शंकरदेव क्याम्पसको स्ववियु कोषाध्यक्षमा वर्तमान ऊर्जामन्त्री पम्फा भुसाललाई पराजित गरेकी सिर्जना गोरखामा बहुदल प्रचार महिला समितिको संयोजक नै रहेकी थिइन् । नेविसंघको सक्रिय राजनीतिको पृष्ठभूमि भएकी सिर्जना अब पार्टीको सक्रिय राजनीतिमा पाइला चाल्दैछिन् ।

विद्यार्थी राजनीतिदेखि नै आफूले देखाएको सक्रियता र योगदानका आधारमा सिर्जनाले पहिचान खोजेकी छिन् । ‘म सिंह परिवारको बुहारी त हुँ तर राजनीतिमा त म पहिलेदेखिनै सक्रिय हुँ । कसैको बुहारी वा श्रीमती भएका कारण होइन राजनीतिमा मेरै योगदानका कारण स्थापित हुन चाहन्छु’, निकटस्थहरूसँग सिर्जनाले भन्ने गरेकी छिन् ।

काठमाडौं क्षेत्र नम्बर ७ बाट १४ औं महाधिवेशनमा निर्विरोध महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी सिर्जनाको नजर अब काठमाडौं महानगरपालिकाको मेयरतर्फ छ । काठमाडौंमा सिंह परिवारको राजनीतिक शक्ति बुझेकाहरू ‘चाहेकै भए सिर्जना मेयर हुने’ ठोकुवा गर्छिन् । सामाजिक सञ्जालमा सिर्जनाको गतिविधि र अभिव्यक्ति हेर्दा महानगरको मेयर हाँक्न उनले कम्मर कसेको तथ्य स्वतः पुष्टि हुन्छ ।

गत चैत २२ गते नेपाल महिला संघ काठमाडौं जिल्ला समितिको बैठकले सिर्जना सिंहलाई काठमाडौंको मेयर बनाउनुपर्ने सर्वसम्मत निर्णय गरिसकेको छ । महिला संघकी जिल्ला अध्यक्ष विष्णुदेवी पुडासैनी महानगरको नेतृत्व लिन महिलाहरू सक्षम रहेको र सिर्जना सिंह त्यसका लागि उपयुक्त पात्र भएको दाबी गर्छिन् ।

‘हामी राजनीतिक नेतृत्वमा महिलाहरू स्थापित हुनुपर्छ भन्ने अभियानमै छौं । काठमाडौंजस्तो देशकै सबैभन्दा ठूलो महानगरमा महिलालाई नेतृत्व दिँदा कांग्रेसका लागि पनि राम्रो हुन्छ । त्यसैले हामीले सिर्जना सिंहलाई मेयरको उम्मेदवार बनाउन पार्टी नेतृत्वसँग माग गरेका हौं’, पुडासैनीले नेपाल प्रेससँग भनिन् ।

महिला संघको जिल्ला समितिले सिर्जनालाई भेटेरै काठमाडौंको मेयरको उम्मेदवार बन्न आग्रह गरिसकेका छन् । उनीहरूसँगको भेटमा सिर्जनाले आफू नेविसंघ र महिला संघको राजनीतिक पृष्ठभूमिबाट आएको भएपनि महानगरकै मेयर लड्नेबारे सोचिनसकेको बताएकी थिइन् । यद्यपि ट्वीटरमा आफूलाई मेयर लड्न आग्रह गरिएको बारेको समाचार सेयर गर्दै सिर्जनाले उपयुक्त परिस्थिति बने अगाडि बढ्ने संकेत गरिसकेकी छिन् ।

सिर्जनाको उम्मेदवारी ‘क्लोज टु कन्फर्म’

नेपाली कांग्रेसले आसन्न स्थानीय निर्वाचनमा गठबन्धनमा रहेका दलहरूबीच तालमेल गर्ने निर्णय गरिसकेको छ । तालमेलको निर्णयपछि भरतपुर महानगरपालिका जति चर्चामा छ काठमाडौं महानगर त्यत्ति चर्चामा छैन । यद्यपि अघिल्लो निर्वाचनको शक्तिका आधारमा काठमाडौंको मेयरमा कांग्रेसको दाबी सशक्त देखिन्छ ।

नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठको नाम पनि काठमाडौंको मेयरका लागि चर्चामा छ तर शीर्ष तहमा काठमाडौं कांग्रेसले नै राख्ने लगभग ‘सहमति’ भइसकेको छ । कांग्रेसको भागमा काठमाडौंको मेयर पर्नासाथ पूर्वमहामन्त्री प्रकाशमान सिंहको चासो बढ्ने देखिन्छ ।

१४ औं महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको निर्वाचनअघि सिंहले शेरबहादुर देउवालाई समर्थन दिएका थिए । सिंहकै साथमा सभापतिमा दोहोरिएका देउवा काठमाडौंका हकमा प्रकाशमानको ‘इच्छाविपरीत’ जाने अवस्थामा छैनन् । यहीकारण उनले काठमाडौंबारे छलफल गर्न जाने आफ्नै गुटका नेताहरूलाई पनि ‘प्रकाशमानले भनेअनुसार हुन्छ’ भन्ने जवाफ दिने गरेका छन् ।

१४ औं महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको निर्वाचनअघि सिंहले शेरबहादुर देउवालाई समर्थन दिएका थिए । सिंहकै साथमा सभापतिमा दोहोरिएका देउवा काठमाडौंका हकमा प्रकाशमानको ‘इच्छाविपरीत’ जाने अवस्थामा छैनन् ।

केहीदिन अघि विभिन्न दलसम्बद्ध महिला नेतृहरूले प्रधानमन्त्री देउवासँग भेटेका थिए । आसन्न निर्वाचनमा गठबन्धनबाट बढीभन्दा बढी महिलालाई उम्मेदवार बनाउने माग गर्दै बालुवाटार पुगेका महिला नेतृसमक्ष देउवाले सूचना चुहाए । उनले काठमाडौंमा ‘सिर्जनालाई दिनुपर्ने’ बताएका थिए । ‘काठमाडौंमा सिर्जना छ’, देउवाले प्रष्ट भनेका थिए ।

कांग्रेस सभापति देउवा नै कन्भिन्स भइसकेका कारण काठमाडौंको मेयरमा गठबन्धनबाट सिर्जना नै उम्मेदवार बन्ने पक्कापक्कीजस्तै भइसकेको कांग्रेस नेताहरू बताउँछन् ।

‘काठमाडौंको ग्राउण्डमा प्रकाशमान दाइले भनेअनुसार नै हुन्छ । सिर्जना भाउजुलाई मेयरको उम्मेदवार बनाउ सभापतिसहित धेरै नेता तयार हुनुहुन्छ’, देउवानिकट एक नेताले भने ।

गणेशमानकी बुहारी, प्रकाशमानकी श्रीमती, खोज्दैछिन् व्यक्तिगत पहिचान

नेपालको लोकतान्त्रिक आन्दोलनमा सिंह परिवारको योगदान चानचुने छैन । नेपाली कांग्रेसका संस्थापक नेता गणेशमानको चाक्सीबारीस्थित निवासकै आँगनबाट २०४६ सालको जनआन्दोलन घोषणा गरिएको थियो । चाक्सीबारीमा बुहारीका रूपमा भित्रिएपछि सिंह परिवारको पहिचान मिल्नु स्वभाविक नै हो । तर, त्यतिले मात्रै सिर्जनाको राजनीतिक योगदानलाई समेट्दैन ।

विद्यार्थी राजनीतिदेखि नै आफूले देखाएको सक्रियता र योगदानका आधारमा सिर्जनाले पहिचान खोजेकी छिन् । ‘म सिंह परिवारको बुहारी त हुँ तर राजनीतिमा त म पहिलेदेखिनै सक्रिय हुँ । कसैको बुहारी वा श्रीमती भएका कारण होइन राजनीतिमा मेरै योगदानका कारण स्थापित हुन चाहन्छु’, निकटस्थहरूसँग सिर्जनाले भन्ने गरेकी छिन् ।

सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय देखिने सिर्जनालाई धेरै शुभचिन्तकहरूले आफ्नै बुतामा अगाडि आउन सुझाव पनि दिने गरेका छन् । कांग्रेसको काठमाडौं महानगरका सचिव सुसन वैद्यले ‘मंगलादेवी र सिर्जनालाई नेता पत्नी मात्रै सम्झनु राजनीतिक महिला हिंसा भएको’ ट्वीटरमै लेखेका छन् । ट्वीटरमै अप्रिल केसीले सिर्जनालाई मेन्सन गर्दै लेखेका छन्- राजनीतिक योगदान नै नभएको होइन, उहाँ हामी सबैको अभिभावक हो ।

यस्तो छ अंकगणित

अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौ महानगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसले जितेका थिए । मेयरमा एमालेमा विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत ल्याउँदा कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याएका थिए ।

मेयरमा राप्रपाले एमालेलाई र उपमेयरमा एमालेले राप्रपालाई सघाएका थिए । उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी ५८ हजार ९ सय ५२ मत ल्याएर विजयी हुँदा राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत ल्याएका थिए । माओवादी उम्मेदवार सर्वोत्तम डंगोलले मेयरमा ७ हजार ९ सय ६ मत ल्याएका थिए ।

अबको निर्वाचनमा चुनावी तालमेल हुँदा कांग्रेस, माओवादी र एमालेबाट विभाजित समाजवादीको मतले जित निश्चित हुने कांग्रेसको बुझाई छ । यद्यपि केही स्वतन्त्र उम्मेदवारहरूले कसको कति मत काट्छन् भन्ने विषयले पनि परिणाममा फेरबदल हुनसक्छ । किनकी अघिल्लो चुनावमा रन्जु दर्शना र किशोर थापाले ४२ हजार मत ल्याएका थिए ।


प्रतिक्रिया

2 thoughts on “काठमाडौं महानगरको मेयरमा गठबन्धनबाट सिर्जना सिंह ‘क्लोज टु कन्फर्म’

  1. हाे निश्चय पनि सृजना एउटा सृजनशिल स्वभाव भएकि सुसंसस्कार युक्त सरल हृदय र नेतृत्वकलाकि गुणले परिपुर्ण नारि हुन । उनी देशलाई केही गराैं भन्ने उदेश्य लिएकि अति सकृय नारि हुन र देखिदै आएकि पनि छिन । हामिले यस्तै ईमान्दार र सृजनसिल महिलालाई काठमाण्डाै काे मेयर वनाउदा धेरै आसा गर्ने ठाउहरु छ । सवैलाई विश्वास छ उनले केही अबश्य गर्नेछिन ।

  2. प्रकाशमानले पूरा नगरेका काम पूरा गर्नुहोला होला भकामना छ। विरािसतको राजनीति हैन अाफ्नो छुट्टै परिचय बनो्स् शुभकामना छ। प्रकाशमानको जस्तो गणेशमानको छोरो हुँ भन्ने चुनाव जित्ने तर अाफ्नो क्षेत्रमा केही पनि नगर्ने जस्तो नहोस्। चुनावको बेला बिजुलीबजारको पुल छेऊमा धूलो लागेको बोर्ड मात्र नदेखियोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर