गठबन्धन आवश्यक छ, मूल्यमान्यतामा आधारित हुनुपर्छः नेम्वाङ (भिडिओ) – Nepal Press

गठबन्धन आवश्यक छ, मूल्यमान्यतामा आधारित हुनुपर्छः नेम्वाङ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेको निर्वाचन प्रणालीमा गठबन्धन आवश्यक रहेका बताएका छन् ।

रिपोर्टस क्लब नेपालको २४ औँ वाार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले मिश्रित निर्वाचन प्रणालीमा एक दलको बहुमत आउने अवस्था कम रहने भएकाले गठबन्धन आवश्यक हुने उनले बताए । तर यसरी बन्ने गठबन्धन मूल्यमान्यतामा आधारित हुनुपर्ने बताए ।

‘गठबन्धन मूल्य र मान्यतामा आधारित हुनुपर्छ । विचार र सिद्धान्तमा आधारित हुनुपर्छ,’नेम्वाङले भने,‘यि सबै कुरालाई ध्यानमा राखेर संसदीय मुल्य र मान्यतामा आधारित लोकतान्त्रिक मुल्यमान्यता अनुरुप त्यस्ता गठबन्धन हुनुपर्छ ।’

यदि गठबन्धनमा त्यो भएन भने समस्या आउने उनले बताए । वर्तमान सत्तारूढ गठबन्धनप्रति सांकेतिक रूपमा टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् । ‘त्यो(सत्तारूढ गठबन्धन) भएको छ कि छैन ? त्यतातर्फ म टिप्पणी गर्न चाहन्न । यत्ति भन्छु, ढंग पुगेन भने मित्रहरू दुख पाउनुहुन्छ !’ उनले भने ।

अर्को प्रसंगमा बोल्दै नेता नेम्वाङले कमीकमजोरीका बाबजूत देशलाई यहाँसम्म पु¥याउने काम देशका प्रमुख दल र यिनका नेताहरूले नै गरेको बताए । २०७२ मा देशका सम्पूर्ण राजनीतिक दलहरूले मिलेर एकठाउँमा उभिदाँ संविधान बनेको उनले स्मरण गरे ।

‘मैले एउटा कुरा भन्ने गरेको छु । बेलाबखत दलहरूका बारेमा आलोचनाहरू हुने गर्छ । टिप्पणीहरू हुन्छन् । नेताहरूकाबारेमा आलोचना हुन्छन्, टिप्पणी हुन्छन्,’ उनले भने,‘मैले एक शब्दमा भन्ने गरेको छु कमीकमजोरी बाबजुत यो देश यो ठाउँसम्म ल्याइपुर्‍याउने काम यिनै दल र दलका नेताहरूले गर्नुभएको हो ।’

अझैं पनि संविधानको रक्षा, राजनीतिक व्यवस्था र मुलूकको भविष्यमाथि अप्ठ्यारो पर्दा दल र दलका नेताहरू एकठाउँमा उभिनुपर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर