राजनीतिको चस्का लागेका कलाकार, को कति सफल ? – Nepal Press

राजनीतिको चस्का लागेका कलाकार, को कति सफल ?

काठमाडौं । सामान्यतया कुनै पनि पेशामा आबद्ध भइ आफ्नो कर्ममार्फत उल्लेखनीय ख्याती प्राप्त गरेका व्यक्तिहरूलाई ‘सेलिब्रेटी’ भनेर बुझ्ने गरिन्छ । यद्यपि, व्यवहारमा सेलिब्रेटी शब्दको प्रयोग धेरैजसो कलाकारिता क्षेत्रमा क्रियाशील व्यक्तिहरूका लागि हुने गरेको छ ।

सेलिब्रिटी वा कलाकारहरू सबैका साझा हुन्छन् भन्ने विश्वास गरिन्छ । कुनै पनि राजनीतिक ‘वाद’ वा विचारसँग नजिक नभइकन कलामार्फत सबैको मन जित्नु कलाकारको धर्म पनि हो । तर, यो मान्यतालाई खण्डित गर्दै कलाकारहरू प्रत्यक्षरूपमा राजनीतिमा संलग्न भएका थुप्रै उदाहरण विश्वव्यापीरूपमा छन् ।

छिमेकी मुलुक भारतमा कलाकारितामा नाम कमाएका थुप्रै हस्तीहरूले पछि राजनीतिमा आफ्नो स्थान बनाउन सफल भए । कलाकारितापछि राजनीतिमा इन्ट्री गरेका बलिउड हस्तिहरूको नाम लिनुपर्दा सुनिल दत्त, विनोद खन्ना, राज बब्बर, स्मृति इरानी, हेमा मालिनी, जया प्रदा, जया बच्चन, गोविन्दा, शत्रुघ्न सिन्हा लगायत दर्जनौं छन् ।

पछिल्लो समय नेपालमा पनि कलाकारहरूको राजनीतमा चासो र आवद्धता बढेको पाइन्छ । धेरै कलाकारहरू राजनीतिक विभिन्न राजनीतिक पार्टीसँग झुकाव राख्छन् भने केही कलाकारहरू सक्रिय राजनीतिमै होमिएका छन् । सक्रिय राजनीतिमा होमिएकाहरूको संख्या धेरै ठूलो छैन । न त उनीहरू एउटै पार्टीमा स्थिर भएर रहन नै सकेका छन् ।

सरकारले आगामी स्थानीय चुनावको मिति घोषणा गरेसँगै नेपालमा चुनावी रौनक बढ्न थालेको छ । राजनीतिक दलका नेताहरू चुनावकेन्द्रित गतिविधिमा व्यस्त छन् । पार्टी प्रवेश अभियानलाई पनि उच्च महत्व दिइरहेका छन् पार्टीहरूले । यस क्रममा उनीहरूको आँखा कलाकारितामा नाम कमाएका सेलिब्रिटीहरूतिर पनि छ । नाम चलेका सेलिब्रिटीहरूलाई पार्टीमा भित्र्याउन पाए उनीहरूलाई पछ्याउने लाखौं मानिसहरूको भोट आकर्षित गर्न सकिने राजनीतिक दलहरूको विश्वास छ ।

यहाँ हामी कलाकारितामा नाम कमाएपछि विभिन्न दलमार्फत प्रत्यक्ष राजनीतिमा होमिएका केही कलाकारहरूबारे चर्चा गर्न गइरहेका छौं ।

कोमल वली

लोकसंगीतमा स्थापित नाम हुन् कोमल वली । कुशल समाचारवाचिकाका रूपमा पनि उनी चर्चित थिइन् । रेडियो नेपालको जागीर छोडेर राप्रपामार्फत उनले आफ्नो राजनीतिक जीवन सुरू गरेकी हुन् ।

२०७३ साल फागुन ६ गते रेडियो नेपालमा राजीनामा दिएर ७ गते उनी राप्रपाको केन्द्रीय महाधिवेशनमा उम्मेदवारी दिन पुगेकी थिइन् । तर, उनी राप्रपामा लामो समय टिक्न सकिनन् । सो पार्टीसँग चाँडै विरक्तिएर उनी एमाले प्रवेश गरिन् । एमालेमा भने उनलाई राम्रै फलिफाप भयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निकट मानिने वली हाल पार्टीको केन्द्रीय सदस्य छिन् । उनले हालै मात्र राष्ट्रियसभा सदस्यको रूपमा आफ्नो चार वर्षे कार्यकाल पूरा गरेकी हुन् ।

निर शाह

नेपाली सिने क्षेत्रका पुराना हस्ती तथा टेलिभिजनकर्मी निर शाह पनि कांग्रेसमार्फत सक्रिय राजनीति गर्ने सुरसारमा छन् । कांग्रेसले उनलाई राष्ट्रिय सभा सदस्यको रिक्त पदमा मनोनीत गर्ने वचन दिएको चर्चा अहिले व्यापक छ ।

त्यसो त शाह पहिले माओवादीसँग निकट थिए । माओवादी खुल्ला राजनीतिमा आएपछि एक सयभन्दा बढी कलाकार सो पार्टीमा प्रवेश गरेका बेला उनको पनि त्यसमा नाम थियो । माओवादीले नै मुलुकका लागि केही गर्छ भन्दै अभिव्यक्ति दिएका उनी अरु कलाकारले झैं टीका लगाएर पार्टी प्रवेश भने गरेनन् । यद्यपि, माओवादीप्रति समर्थन भने जनाइरहेका थिए ।

तर, दोस्रो संविधान सभा निर्वाचनमा भने शाहले नेपाली कांग्रेस रोजे । कांग्रेसमा औपचारिक प्रवेश गरेर उनी चुनावमा काठमाडौं क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई भोट माग्न खटिएका थिए । उनले त्यसबेला दर्जनौं आमसभामा सम्वोधन गरेका थिए ।

भुवन केसी

सदावहार नायक भुवन केसी ‘परिवर्तनको बाहक एमाले हो’ भन्दै २०७० सालको संविधान सभा चुनाव अगाडि एमाले प्रवेश गरेका थिए । केसीलाई एमालेले काठमाडौं क्षेत्र नं १ मा उम्मेदवारको बनाउने तयारीसमेत थियो । तर पार्टीभित्र तीव्र विरोध भएपछि अन्तिम समयमा उनलाई टिकट दिने निर्णयबाट एमाले ब्याक भएको थियो । हातमै आएको टिकट टिकट खोसिएपछि भुवन केसी विरक्तिए । पछिल्लो समय उनी राजनीतिमा खासै सक्रिय छैनन् । एमाले सरकारका पालामा चलचित्र विकास बोर्डको अध्यक्ष बन्न निकै प्रयास गरेको भए पनि सरकारले उनलाई पत्याएन । अहिले उनी चलचित्रमा नै व्यस्त छन् ।

रेखा थापा

नेपाली सिने क्षेत्रकी सफल नायिका, निर्देशक तथा निर्माताको छवी बनाउन सफल नायिका रेखा थापा पनि पछिल्लो समय चलचित्रभन्दा राजनीतिमा बढी सक्रिय छिन् । २०७३ सालदेखि राप्रपामा संलग्न रहेकी उनी अहिले पार्टीको केन्द्रीय सदस्य छिन् । राप्रपाको हालै सम्पन्न महाधिवेशनमा उनी महामन्त्री लडेर पराजित बनेकी थिइन् ।

राप्रपाअघि रेखा नेकपा माओवादीसँग निकट थिइन् । अध्यक्ष प्रचण्डबाट टिका लगाएर माओवादीमा प्रवेश गरेकी रेखा त्यहाँ धेरै टिकिनन् । रेखालाई माओवादीले सांसदको टिकटसमेत दिने तयारी गरेको थियो । तर, मतदाता सूचीमा नाम नभएका कारण रेखाको त्यो अवसरबाट वञ्चित भइन् । पछि उनी माओवादी छोडेर राप्रपा प्रवेश गरिन् । राप्रपाको एकता महाधिवेशनबाट उनी लोकप्रिय मत पाउँदै केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् ।

करिश्मा मानन्धरः

नेपाली सिने क्षत्रकी अर्की सफल अभिनेत्री करिश्मा मानन्धर भर्खर अर्थात चैत ८ गते नेकपा एमाले प्रवेश गरेकी छिन् । पार्टी अध्यक्ष केपी ओलीको भिजन र उर्जाबाट प्रभावित भएको भन्दै पार्टी प्रवेश गरेकी करिश्मालाई नेकपा एमालेले एक भव्य कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ ।

डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीमार्फत करिश्मा राजनीतिमा होमिएकी हुन् । तर, सो पार्टी छिन्नभिन्न बनेसँगै उनी राजनीतिमा सक्रिय थिइनन् । डा. भट्टराई हाल जनता समाजवादी पार्टीको अध्यक्ष छन्, तर करिश्मा उनीसँग गइनन् । बरु एमालेप्रति उनको मोह जाग्यो । अध्यक्ष केपी ओलीसँग भेटेपछि उनी एमाले प्रवेश गर्न तयार भएकी हुन् ।

उद्धव पौडेलः चलचित्र वितरण, निर्माण तथा प्रदर्शनमा उच्च स्थान बनाएका उद्धव पौडेल पनि राजनीतिमा सक्रिय छन् । कमल थापानिकट मानिएका पौडेल राप्रपाका पूर्वकोषाध्यक्ष समेत हुन् ।

कमल थापाले राप्रपा छोडेसँगै पौडेल पनि सो पार्टीबाट अलग भएका छन् । उनले गत माघ २६ गते राप्रपालाई एकताबद्ध बनाउन आफू असफल भएको भन्दै पार्टी परित्यागको घोषणा गरेका थिए । अहिले उनी कमल थापाले गठन गरेको राप्रपा नेपालमा छन् ।

बालेन शाह

स्ट्रक्चरल इन्जिनियर तथा र्‍यापर बालेन शाह युवा पुस्तामाझ चर्चित नाम हो । आसन्न स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उमेदवारी घोषणा गर्दै उनी पनि राजनीतिमा होमिएका छ्न् । यद्यपि उनले कुनै राजनीतिक पार्टीसँग भने आवद्द नहुने बताउँदै आएका छन् । उनको उम्मेदवारीले युवा मतदातामा चर्चा पाइरहेको छ ।

रविन्द्र खड्का

पुरानो पुस्ताका अभिनेता रविन्द्र खड्का राजतन्त्रका पक्षधर हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा उनी काभ्रेको मेयरमा मनोनीत गरिएका थिए । तर, पछि प्रत्यक्ष चुनाव लड्दा उनले दुई सय भोट पनि कटाउन सकेनन् । पछिल्लो समय उनी राजनीतिमा धेरै सक्रिय छैनन्, तर उनी राजावादीकै रूपमा चिनिएका छन् । हाल उनी कलचित्र कलाकार संघको निर्वाचित अध्यक्ष पनि हुन् ।

राजनीतीमा आफ्नो भविष्य खोजिरहेका चर्चित सेलिब्रेटीहरू एउटै पार्टीमा भने टिक्न नसकेको जस्तो देखिन्छ । कुनै पनि कलाकारले एउटै पार्टीमा स्थिर भएर राजनीतिक जीवन अघि बढाउन सकेका छैनन् ।

राजनीतिमा लागेका कलाकार कति सफल ?

सफल निर्माता तथा अभिनेता दीपकराज गिरीले कलाकारीता क्षेत्रमा काम पाउन छोडेपछी राजनीतिमा लाग्नुभन्दा देशको समुन्नत विकासमा उल्लेखनीय टेवा पुर्‍याउनसक्ने क्षमता विकास गरेर मात्र राजनीतिमा होमिनु अर्थपूर्ण हुने बताउँछन् । कलाकारिताबाट राजनितीमा लागेकाहरू खासै स्थापित हुन नसकेको गिरीको भनाइ छ ।

‘अहिले राजनीतिमा लागेका अधिकांश कलाकारमध्ये कोमल वली अलिक स्थापित हुन सफल भएको देख्छु, अरु साथीहरूले खासै केही उपलब्धी हासिल गरेको देखिदैन,’ उनले भने, ‘मलाई ज्ञान भएसम्म कलाकारीता हुँदै राजनीतिमा लागेका साथीहरूमध्ये वलीजी राष्ट्रियसभा सदस्यसम्म बन्नुभयो । अरु त सबै पार्टीको कार्यकर्ता न हुनुहुन्छ । कलाकारहरूले त टिकट पाएको पनि खास्सै सुन्नमा आउँदैन ।’

लेखक तथा कवि श्रवण मुकारङ नेतृत्वदायी भूमिकामा पुग्न सके मात्र कलकारिता क्षेत्रका व्यक्तीहरू राजनितीमा लागेको अर्थपूर्ण हुने बताउँछन् ।

‘नेपालमा पछिल्लो समय कलाकारिता क्षेत्र हुँदै राजनीतिमा लाग्ने परिपाटी बढेको देख्छु तर आजसम्म राजनीतिमा लागेका नेपाली कलाकारहरू कुनै नेतृत्वदायी भूमिकामा पुगेको भने देख्दिन,’ उनले भने, ‘भारततिरको हेरेर नेपाली कलाकारहरू राजनीतिक दलमा आवद्ध भएका हुन् कि जस्तो पनि लाग्छ, तर भारतको र यहाँको परिवेश छुट्टै छ ।’

नेपालमा राजनीतिक दलहरूले कलाकारलाई भोट बढाउने माध्यमको रूपमा मात्रै प्रयोग गर्दै आएको उनको भनाइ छ । मुकारुङले वर्तमान परिवेशमा राजनीतिमा सक्रिय कलाकारहरूमा विचारधारा, सिद्धान्त र भिजनकै कमी रहेको पनि बताए ।

‘जति पनि कलाकारहरू अहिले राजनीतिमा सक्रिय देखिएका छन्, उनीहरूमा चेतना, विचारधारा र सिद्धान्तकै कमी भएको देख्छु । उनीहरूले केही उल्लेखनीय काम गरेर देखाउँलान् भन्ने चाँही मलाई लाग्दैन,’ उनले भने ।


प्रतिक्रिया

One thought on “राजनीतिको चस्का लागेका कलाकार, को कति सफल ?

  1. युवराज लामाकाे नाम छुटेछ । उहाँ माओवादी प्रवेश गरेर राखेपकाे सदस्य सचिव नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *