चार वर्षमा देशभर २३ जनाको बलात्कारपछि हत्या, बलात्कृतमध्ये ७० प्रतिशत बालिका – Nepal Press

चार वर्षमा देशभर २३ जनाको बलात्कारपछि हत्या, बलात्कृतमध्ये ७० प्रतिशत बालिका

आँगनमा खेलिरहेकादेखि विद्यालयबाट फर्किरहेका बालिकामाथि गिद्धे दृष्टि

काठमाडौं । फागुन ११ गते मोरङको लेटाङमा विद्यालयको पढाइ सकेर फर्किएकी १२ वर्षीया बालिका घर पुग्न पाइनन् ।

घर नआएपछि आफन्तले उनको खोजी गरेका थिए । भोलिपल्ट लेटाङ नगरपालिका–८ स्थित लालहिरा सामुदायिक वनमा ढुंगाले छोपेको अवस्थामा ती बालिकाको शव भेटिएको थियो । अनुसन्धानका क्रममा स्थानीय ६४ वर्षीय दीपक गिरीलाई प्रहरीले पक्राउ गर्‍यो । उनले बलात्कारपछि बालिकाको हत्या गरेको आरोप प्रहरीको छ ।

उक्त घटना सेलाउन नपाउँदै मोरङमै एक डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको पाइएको छ । मोरङको सुन्दर हरैँचा नगरपालिका-७ गणेशपुरस्थित आफ्नै घरमा खेलिरहेको अवस्थामा ती बालिका शुक्रबार साँझ साढे ५ बजे हराएकी थिइन् ।

एक घण्टापछि बालिका गम्भीर घाइते अवस्थामा घरबाट करिब एक सय ५० मिटर टाढा झाडीभित्र भेट्टिइन् । तत्कालै उपचारका लागि लगिए पनि अस्पतालले उनलाई बचाउन सकेन । प्रहरीको प्रारम्भिक अनुसन्धानमा बालिकाको बलात्कारपछि हत्या भएको पाइएको छ ।

बालुवा चाल्ने काम गरिरहेका दुई युवाले घरमा एक्लै भएको मौका छोपी झाडीमा लगेर बलात्कार गर्न खोजेको र पीडित रुन खोजेपछि बियरको बोतल र ढुंगाले टाउकोमा प्रहार गरेको प्रहरीको दावी छ । प्रहरीले दुवै युवकलाई पक्राउ गरिसकेको छ ।

नेपाल प्रहरीको केन्द्रीय तथ्यांकअनुसार चालु आर्थिक वर्षमा मात्र देशभर ६ जनाको बलात्कारपछि हत्या भएको छ । मधेस प्रदेशस र कर्णाली प्रदेशमा पनि २/२ जना बलात्कारपछि मारिएका छन् ।

प्रहरी तथ्यांकअनुसार पछिल्लो चार वर्षमा देशभर २३ जनाको बलात्कारपछि हत्या भएको छ । यीमध्ये प्रदेश १ मा ७ जना, मधेश प्रदेशमा ६ जना र सुदूरपश्चिम प्रदेशमा ५ जनाको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । मारिनेमा अधिकांश बालिका छन् ।

मुलुकी अपराध संहिता २०७४ अनुसार बलात्कारपछि हत्याका दोषीलाई आजीवन कारबास सजाय हुने व्यवस्था छ । उनीहरू कहिल्यै जेलबाट निस्किन सक्दैनन् । यस्तै, १० वर्षभन्दा कम र ७० वर्षभन्दा उमेरभन्दा माथिकालाई बलात्कार गरे जन्मकैदको सजाय हुन्छ । त्यस्ता घटनामा दोषीले २५ वर्ष जेल बस्नुपर्छ ।

बलात्कारका पीडित ७० प्रतिशत बालिका

नेपालमा बलात्कारका घटनामा करिब ७० प्रतिशत पीडित बालिका हुने गरेको पाइएको छ । २०७५/७६ मा २ हजार २ सय ५४ जनाले बलात्कारको उजुरी गरेकामा एक हजार ४ सय २० जना बालिका थिए । तीमध्ये १० वर्षभन्दा मुनिका बालिकाको संख्या २९८ रहेको थियो ।

२०७६/७७ मा बलात्कारका २ हजार १ सय ६७ उजुरीमध्ये पीडित भनिएका एक हजार ३ सय ९३ जना बालिका थिए । तीमध्ये पनि २ सय ७३ जनाको उमेर १० वर्षभन्दा कम थियो । गत आर्थिक वर्षमा २ हजार ५ सय ५४ वटा बलात्कारसम्बन्धी उजुरीमा पीडित भनिएका एक हजार ६ सय ६५ जना बालिका थिए । तीमध्ये ३ सय ५ जनाको उमेर १० वर्षभन्दा कम थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर