प्रदेश एकमा दुई जना प्रहरी अधिकारी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित – Nepal Press

प्रदेश एकमा दुई जना प्रहरी अधिकारी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

बिराटनगर । प्रदेश एक प्रहरी कार्यालय मातहत कार्यरत दुइ जना प्रहरी अधिकारी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा भएका छन् । इलाका प्रहरी कार्यालय रंगेली, मोरङमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) अनमोल खड्का र एक नम्वर प्रदेश प्रहरी कार्यालय, विराटनगर दरबन्दी भई अनुसन्धान समूहमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) फिरोज कुमार चौधरी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा भएका हुन् ।

उनीहरु दुवै जनाले विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा रहेर उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएकाले सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) नविनराज राईे जानकारी दिए ।

उनीहरुले मोरङको धनपालथान गाउँपालिका वडा नम्वर सातस्थित उखु बारीमा दुई वटा मृत लाश र ललितपुर गोदावरी नगरपालिका वडा नम्वर १२ स्थित गोदाम घरमा गाडेको अवस्थामा अर्को मृत लाशसमेत उत्खनन् गरी घटनाको सुक्ष्म रुपमा अनुसन्धान गरेका थिए । उक्त घटनामा संलग्न प्रतिवादी तथा अन्य विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको प्रवक्ता राईले बताए ।

यति मात्र नभएर आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनेतर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय रंगेली, मोरङ दरबन्दी भई सोही कार्यालयमा कार्यरत इन्सपेक्टर खड्का र एक नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगर दरबन्दी भई अनुसन्धान समूहमा कार्यरत सई चौधरीलाई उनीहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै माघ ‘महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

प्रहरी कर्मचारीको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले एक नम्बर प्रदेश भरका प्रहरी कर्मचारीमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आएको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिण्ट गरेर एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा प्रदेशमा रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयमा एक महिनासम्म राखिदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर