कीर्तिपुरमा युवकमाथि खुकुरी प्रहार गर्ने ९ जना पक्राउ – Nepal Press

कीर्तिपुरमा युवकमाथि खुकुरी प्रहार गर्ने ९ जना पक्राउ

काठमाडौं। काठमाडौंको कीर्तिपुरमा एक युवकमाथि खुकुरी प्रहार भएको छ।

कीर्तिपुर नगरपालिका-१० चिट्ट बिहारका २४ वर्षीय साजिस श्रेष्ठको हातमा खुकुरी हानिएको थियो। प्रहरीका अनुसार घाइते श्रेष्ठको हात छिन्न थोरै मात्र बाँकी थियो। उनको उपचार भइरहेको छ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा ९ जनालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

‘पुरानो रिसइबीका कारण दुई समूहबीच झगडा भएको भन्ने छ। हामी प्रारम्भिक अनुसन्धानकै क्रममा छौँ’, एसपी अधिकारीले भने। उनीहरूमाथि ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

पक्राउ पर्नेमा कीर्तिपुर बस्ने अछामका २७ वर्षीय मोहन खड्का, कागेश्वरी बस्ने अछामकै २१ वर्षीय ध्रुवबहादुर विष्ट, पुतलीसडक बस्ने बझाङका २० वर्षीय उपेन्द्र सिंह, मैतीदेवी बस्ने बझाङका २१ वर्षीय सुदिप गिरी रहेका छन् ।

यस्तै रातोपुल बस्ने अछामका २३ वर्षीय नृप भण्डारी, कीर्तिपुर बस्ने बैतडीका २७ वर्षीय जयन्त धानुक, बानेश्वर बस्ने कैलालीका २० वर्षीय तेज थापा, च्यासल बस्ने कैलालीकै २२ वर्षीय तपेन्द्र खाती र बानेश्वर बस्ने बझाङका २१ वर्षीय सुनिल रोकाया छन्।

प्रहरीका अनुसार सुदिप गिरीले साजिसमाथि खुकुरी हानेका थिए।

प्रहरीका अनुसार कैलालीको घोडाघोडीमा भएको झगडाको विवाद काठमाडौँसम्म आइपुगेको थियो।

घाइते पक्षको समूहले खुकुरी हान्ने समूहका नातेदार (भाइ)लाई गत मंसिरमा कुटपिट गरेको विषयमा विवाद सुरु भएको थियो।

त्यसपछि कुटाई खाने पक्षले अर्को पक्षसँग कुरा कानी गर्नेक्रममा विवाद बढ्दै गएको थियो।

‘बुधवार खुकुरी हान्ने पक्ष र घाइते पक्षबीच छलफल गर्न भेट भएको रहेछ। त्यही क्रममा विवाद हुँदा खुकुरी हानेको देखिन्छ’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *