कोरोनाको नक्कली रिपोर्ट बनाउने एचएसहित दुईजना पक्राउ – Nepal Press

कोरोनाको नक्कली रिपोर्ट बनाउने एचएसहित दुईजना पक्राउ

चितवन । चितवनमा पनि कोरोनाको नक्कली रिपोर्ट बनाउने काममा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली पीसीआर रिपोर्ट तयार गर्ने चौबीसकोठीस्थित देव हस्पिटलमा कार्यरत हेल्थ असिस्टेन्ट सन्दीप सापकोटा र रत्ननगर नगरपालिका-६ बस्ने प्रकाश न्यौपानेलाई २५ माघमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक कमला नरालले बताइन् ।

देव हस्पिटलमा २५ माघमा एउटा अपरेसन गर्नुपर्ने बिरामीको पीसीआर रिपोर्ट नक्कली भेटिएपछि यो विषय बाहिर आएको हो । ‘देव हस्पिटलमै काम गर्नेले स्वाब तानेर न्यौपाने भन्नेलाई दियो । उसले चाहिँ नक्कली पीसीआर बनाएर दिएको देखिएको छ । त्यही विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको हो’, उनले भनिन् ।

अपरेसन गर्नुअघि चिकित्सकले पीसीआर गर्न भनेर एउटा चिट दिए । उनीहरू दुईजना मिलेर आफूखुसी रिपोर्ट बनाएर दिने गरेको पाइएको छ । नक्कली पीसीआर बनाउने स्थानको पनि पहिचान भइनसकेको उनले बताइन् । रत्ननगरका न्यौपानेले कोरोना महामारीको पहिलो र दोस्रो चरणका बेला भरतपुर अस्पतालको ल्याबमा काम गर्ने गरेको पाइएको छ ।

‘त्यसपछि उनले त्यहाँ काम छाडेको र विभिन्न अस्पतालसँग सम्पर्क राखेर स्वाबहरू ल्याएर परीक्षण गर्ने र नक्कली पीसीआर बनाउने गरेको भन्ने बुझेका छौँ’, उनले भनिन् ।

पक्राउ परेका दुवैजनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर