उपत्यकामा बन्द गराइएका ट्रायल सेन्टर पुन: अनुगमनपश्चात खोल्ने तयारी – Nepal Press

उपत्यकामा बन्द गराइएका ट्रायल सेन्टर पुन: अनुगमनपश्चात खोल्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकाका ४ वटा ट्रायल सेन्टरमा आज पनि सवारीसाधन लाइसेन्सको ट्रायल रोकियो । ६ दिनदेखि ट्राय बन्द हुँदा १० हजारभन्दा सेवाग्राहीलाई मर्का परेको छ । राधेराधे भक्तपुर, ठूलोभर्‍याङ, चाबहील, एकान्तकुनाका सेन्टरहरूमा ट्रायल बन्द भएको हो ।

राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश ट्रायल सेन्टर मापदण्डअनुसार नभएको पाइएको र मनोनमानी रकम असुल्ने गरेको उजुरी आएको भन्दै बन्द गराउन निर्देशन दिएको थियो । त्यसपछि ट्रायलका लागि ट्राफिक परिचालन गरिएको छैन । ट्रायल सेन्टरका सञ्चालकहरूले भने सतर्कता केन्द्रले ‘दादागिरी’ देखाएको टिप्पणी गर्छन् ।

ती ट्रायल सेन्टरमा तोकिएको लेआउटको क्रम नमिलेको, स्पीड ब्रेक्ररमा मेटल प्लेट राखी स्लोभ लामो बनाइएको, ट्राफिक लाइट मापदण्डअनुसार नभएको सतर्कता केन्द्रले औंल्याएको छ ।

बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले आइतबारबाट ट्रायल सुरू हुने जानकारी दिए ।

मन्त्री लम्सालले नेपाल प्रेसँग भने, ‘हामीले प्राविधिक कर्मचारी खटाएर सतर्कता केन्दले त्रुटि देखाएका विषयमा ट्रायल सेन्टरहरूको परीक्षण गरायौं । त्यसमा केही त्रुटि देखिएका छन् । ७ दिनको समय दिएर बन्द रहेको ४ वटा ट्रायल सेन्टरलाई त्रुटि सुधार गर्न समय दिएका छौं । मापदण्ड पुर्‍याएकाहरूले आइतबारबाट ट्रायल गराउन पाइहाल्छन् ।’

सतर्कता केन्द्रको पत्रपछि मन्त्रालयले ९औं तहका प्राविधिक रामसुन्द्रर जोशीको नेतृत्वमा ३ सदस्यीय अध्ययन समिति बनाएको थियो । सो समितिले ४ वटा ट्रायल सेन्टरको प्राविधिक अध्ययन गरी ७ दिनको समय सीमा दिएको थियो ।

सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ आएपछि प्रयोगात्मक परीक्षा व्यवस्थापन निर्देशिका २०६९ खारेज हुनुपर्नेमा सवारी चालक प्रशिक्षण केन्द्र सम्बन्धी निर्देशिका २०६९ चाहिँ खारेज भएकाले अहिले यो समस्या बल्झिएको जोशीले बताए ।

उनले भने, ‘कुनै ट्रायल सेन्टर पुरानो र कुनै नयाँ निर्देशिकाअनुसार चलेका छन् । पँहेलो मार्किङमा केही त्रुटि भएको पनि रहेछ ।’

गुर्जुधाराका ट्रायल सेन्टरका सञ्चालक माधव अधिकारीले मन्त्रालयले त्रुटि सुधारका लागि ७ दिने पत्र पठाएपनि के के कुरा सुधार गर्नुपर्ने नखुलाएको बताए ।

‘प्रहरी र सतर्कता केन्दको दादागिरीले ट्रायल रोकिएको हो । नेपालमा ठूला ४ ट्रायल सेन्टरलाई गलत मनासायले ट्रायल रोकिदिएको हो । हामी कानून अनुसार नै चलेका छौं’, उनको जिकिर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर