मधेस सरकारले माओवादी युद्धका सहिद परिवारलाई तीन–तीन लाख दिने – Nepal Press

मधेस सरकारले माओवादी युद्धका सहिद परिवारलाई तीन–तीन लाख दिने

जनकपुरधाम । मधेस सरकारले पहिलोपटक माओवादी युद्धका सहिद परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।

आन्तरिक मामिला तथा संचार मन्त्रालयअन्तर्गत रहेको मधेसी सहिद प्रतिष्ठानले माओवादी युद्धका सहिद परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । आगामी फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सहिद परिवारलाई आर्थिक सहयोग गर्ने जनाइएको छ ।

आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले माओवादी युद्धका सहिद परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय भएको बताए । प्रतिष्ठानका अध्यक्ष समेत रहेका उनका अनुसार अगामी फागुन १ गते जनयुद्ध दिवसको अवसरमा तत्काल प्रत्येक सहिद परिवारलाई एक लाख र पछि दुई लाख रुपैयाँ दिइनेछ ।

आर्थिक सहयोग उपलब्ध गराउनका लागि मन्त्रालयले प्रदेशका ८ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई जनयुद्धका क्रममा सहिद भएका तथा ज्यान गुमाएका परिवारको तथ्यांक पठाउन पत्राचार गरिसकेको बुझिएको छ । जिल्ला प्रशासनले पठाएको तथ्यांकलाई आधार मानेर सहिद परिवारलाई आर्थिक सहयोग गरिनेछ ।
प्रतिष्ठानका एक सदस्यका अनुसार सहिदको तथ्यांक अहिले आइपुगेको छैन । तर प्रदेशभर करिब ६ सय माओवादी युद्धका सहिद रहेको अनुमान छ ।

प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलोपटक युद्धका सहिद परिवारले पनि आर्थिक सहयोग पाउने भएका हुन् । प्रतिपक्षमा रहेका बेला माओवादी सांसदहरुले पटक–पटक जनयुद्धका सहिदलाई प्रदेश सरकारले अपमान गरिरहेको गुनासो गर्दै आएका थिए ।

अहिले प्रदेश सरकारमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री एवं प्रतिष्ठानका अध्यक्ष समेत रहेका साह माओवादीकै सांसद हुन् । उनी मन्त्री भएपछि सहिद परिवारले पनि आर्थिक सहयोग पाउने निश्चित भएको हो ।

प्रदेश सरकारले मधेस आन्दोलनका सहिद परिवारलाई भने निरन्तर सहयोग गर्दै आएको छ । केही सहिद परिवारलाई योग्यताको आधारमा जागिरसमेत उपलब्ध गराएको छ ।

यसवर्ष माघ ५ मा बलिदानी दिवसको अवसरमा समेत मधेस आन्दोलनका सहिद परिवारलाई जनही तीन लाखका दरले आर्थिक सहयोग गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर