६ मिनेटको कांग्रेस बैठक : देउवा र गगनको तालमेल ! – Nepal Press

६ मिनेटको कांग्रेस बैठक : देउवा र गगनको तालमेल !

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको तेस्रो बैठक शुक्रबार भर्चुअलरूपमा सम्पन्न भयो । बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ ।

राष्ट्रिय राजनीतिका जल्दाबल्दा मुद्दा थाती राखेर कांग्रेसले कार्यसम्पादन समिति गठनको एजेण्डामा मात्रै केन्द्रित रहेर बैठक गरेको थियो । जम्मा ६ मिनेट सञ्चालन भएको बैठकमा २ जनामात्रै वक्ता थिए ।

औपचारिक बैठक सुरू नहुँदै भर्चुअलरूपमा जोडिएका कांग्रेस नेताहरूबीच ‘जय नेपाल’ को आदान-प्रदान पूरा नहुँदै सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरू पार्टी कार्यालय सानेपाबाट बैठकमा जोडिएका थिए । सभापति देउवाले कोभिडको जोखिमका कारण भर्चुअलरूपमा बैठक गर्नुपरेको बताए ।

‘कोभिडले गर्दा भौतिकरूपमा बैठक बस्न सम्भव भएन । कार्यसम्पादन समिति बनाउने कुरो छ । सबैलाई अटाउन सम्भव भएन । छुटेका साथीहरूलाई पछि समेटौला । हाम्रो महामन्त्रीजीले अब प्रस्ताव पेस गर्नुहुन्छ’, देउवाले भने ।

देउवाको अनुमतिलगत्तै महामन्त्री गगन थापाले कोभिड संक्रमणप्रति सजग रहन आग्रह गर्दै संक्रमित नेताहरुको स्वास्थ्यलाभको कामना गरे । लगत्तै लिखित २ बुँदे प्रस्ताव पढे । पहिलो बुँदामा विधानअनुसार कार्यसम्पादन समितिमा पदेन सदस्य रहेका पदाधिकारीहरुको नाम थियो भने दोस्रो बुँदामा कार्यसम्पादन समितिमा पर्ने २४ जना केन्द्रीय सदस्यहरूको नाम थियो । गगनले प्रस्ताव पढिसकेर पारित गरिदिन अनुरोध गरे । भर्चुअलरूपमा जोडिएका केन्द्रीय सदस्यहरूले स्क्रिनमा देखिने गरी हात उठाए । प्रस्ताव पारित भयो । बैठक सकियो ।

आजको बैठकमा एकमात्रै एजेण्डा भएकोले लामो छलफल नभएको नेताहरुले बताएका छन् । महामन्त्री थापाले राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा कार्यसम्पादन समितिको बैठकले आवश्यक छलफल गर्ने बताए । धेरै एजेण्डा नभएका कारण शुक्रबारको बैठकमा सभापति देउवा र महामन्त्री थापाबीच पूर्वसल्लाह बमोजिम नै कार्यगत तालमेल देखिएको थियो ।

कांग्रेस विधानको दफा २३ मा केन्द्रीय कार्यसम्पादन समितिसम्बन्धी व्यवस्था रहेको छ । कार्यसम्पादन समितिमा सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सह-महामन्त्री पदेन सदस्यका रूपमा रहनेछन् ।

त्यस्तै केन्द्रीय सदस्यहरूमध्येबाट समावेशी सिद्धान्तसमेतलाई ध्यानमा राखी ३१ जना कार्यसम्पादन समितिमा रहनेछन् । संसदीय दलको नेता पनि पदेन सदस्य हुने भएपनि सभापति देउवा स्वयं संसदीय दलको नेतासमेत रहेका छन् ।

त्यसबाहेक केन्द्रीय कार्यसमितिको प्रवक्ता पनि स्वतः कार्यसम्पादन समितिको सदस्य रहनेछन् । कांग्रेसमा कोषाध्यक्ष र प्रवक्ता चयन हुन बाँकी छन् । सभापति र संसदीय दलको नेता एकै व्यक्ति भएकोले कार्यसम्पादन समिति तत्कालका लागि ४६ सदस्यीय हुनेछ । जसमध्ये ९ जना मनोनीत गर्न बाँकी नै रहेको छ ।

यो पनि पढ्नुस् : कांग्रेसको कार्यसम्पादन समिति गठन, शेखर पनि अटाए (सूचीसहित)

कांग्रेसमा केन्द्रीय समितिले गर्ने नियमित काम कार्यसम्पादन समितिले गर्न सक्छ । कांग्रेस विधानको दफा २४ मा केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठक बीचमा कार्यसमितिले गर्नुपर्ने काम कार्यसम्पादन समितिले गर्ने उल्लेख छ ।

कार्यसम्पादन समितिले पार्टीका केन्द्रीय विभागको कामको समीक्षा गर्नेछ र संसदीय दलका गतिविधिबारे पनि आवश्यक समन्वय गर्नेछ । कार्यसम्पादनबाट भएका निर्णयहरु भने केन्द्रीय समितिको बैठकबाट अनुमोदन हुनुपर्ने व्यवस्था रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर