लैंगिक विभेदका दुई अस्त्रः पुरुषको काँध र महिलाको योनि ! – Nepal Press
नेपाल चिन्तन

लैंगिक विभेदका दुई अस्त्रः पुरुषको काँध र महिलाको योनि !

सभ्यताको सुरुदेखि आजसम्म हरेक समाजमा एउटै परिवारमा बसेर र अझ एउटै ओच्छ्यानमा सुतेर पनि स्त्री र पुरुषबीच स्त्रीहरुले विभेद भयो र पुरुषले विभेद भएको छैन भन्न छोडेका छैनन् । स्त्रीहरुले विभेदको क्रन्दन निकाल्ने र पुरुषले त्यसलाई अस्वीकार गरी दबाएरै यतिका समय बित्यो । पुरुष र स्त्रीका बीच भिन्नता या असमानता पनि छ ? स्त्री पुरुषबीचमा निरन्तर आउने यहीं प्रश्नमा केन्द्रित भएर यो आलेख तयार गरिएको छ ।

आलेख सुरु गरौं भिन्नता र असमानता बीचको भेदबाट । यो अवश्य हो– पुरुष र स्त्रीको शारीरिक बनोटमा भिन्नता छ । उनीहरुको जैविक विकासमा पनि भिन्नता छ । पुरुषसँग लिङ्ग र स्त्रीहरुसँग योनि छ । अंग फरक भएकोले हार्मोन पनि केही तलमाथि छ । आधुनिक विज्ञानले भनिरहेको छ कि स्त्रीहरुमा पुरुषमा भन्दा अधिक हर्मोन (प्रोजेष्टोरन) पैदा हुन्छ । त्यो सन्तानोत्पादनको लागि हो ।

‘आमा’ एउटै शब्दले के के बोकेर ल्याएको हुन्छ त्यो अर्को आलेखमा कुरा गरौंला । आज भने स्त्रीहरु पुरुषभन्दा भिन्न मात्र हुन् या असमान पनि छन्, तथ्यको नजिक गएर हेरौं । यसलाई बुझ्न पहिलेदेखि बनाइदिएको विचारलाई छोडेर जीवन भोगाइमै पसेर हेर्न आवश्यक छ ।

जतिबेला पाखुराको बलमा काम हुन्थ्यो, त्यो बेला पुरुषविना परिवारको कल्पना पनि गर्न सकिंदैनथ्यो । किनकि पुरुषको बाहुबलले परिवार, समाज चलेको थियो ।

पुरुषले शुक्रकीट दान मात्र गर्छ, प्रकृतिले उसलाई ठगेको छ । प्रकृतिको यो गहिरो प्रक्रिया अनुभव नै गर्न नपाइ उ मर्छ । यो पुरुषमाथिको प्राकृतिक हिंसा हो ।

मान्छे या जनावारसँग जुधेर आफ्नो अस्तित्व बचाउन, जनावरको पछि दगुरेर जनावर मारेर(खाना) ल्याउन, ढुङ्गा पल्टाउन, युद्ध गर्न, गोली गठ्ठा बोकेर जान, खेत जोत्न, रुख काटेर घर बनाउनजस्ता बलका काम गर्न पुरुष नै पुग्नु पर्दथ्यो । सबै कामका भरमा पुरुष एक्लै किन थियो भने मान्छे समूहमा बस्ने, सामूहिक सम्बन्ध राख्ने हुँदा हरबखत पेट बोक्ने भैरहन्थ्यो ।

एउटा गर्भ खेर गए अर्को बसिहाल्ने हुन्थ्यो । खाना खोज्दै घुमन्ते जीवन बिताउने यस्तो समयमा यस्ता धेरै स्त्रीहरु बाटैमा मर्थे । तिनको सद्गद गर्नेदेखि बिमारी हुँदा बोकेर लाने सबै काम पुरुषले नै गर्दथ्यो । त्यसैले हरसमय खाँचो नै पुरुषको बहुबलको थियो । त्यसैले आमाहरु पनि छोरा जन्मदा खुसी हुन्थे । स्त्रीको जन्म बोझको रुपमा लिइन्थ्यो । जुन प्रभाव आजसम्म छ ।

तर अब त्यस्तो अवस्था रहेन । जति समाज भौतिक विकासमा अघि बढ्दै गयो, त्यसले पुरुषको बाहुबलमा हुने कार्यहरु पनि घट्दै गए । ढुङ्गा पल्टाउने, भारी बोक्ने, भीर खन्ने, जोत्ने काम अहिले क्रेन, स्काभेटरले गर्छ । धेरै कामदार लाग्ने फ्याट्रीमा आज एउटा मेसिनले एकैछिनमा काम सक्छ ।

यहाँसम्म कि अहिले गाईको दूध पनि मेसिनले दुहुन्छ । हुँदा हुँदा अहिले बन्दुक बोकेर एकएक जना युद्धमा जानु पर्दैन । यति ठूला मिसायल तयार गरिएका छन् एक स्वीच थिच्दा हिजो लाखौं मान्छेले गर्ने काम एक निमेषमा एउटा मेसिनले गर्न सक्छ ।

लामो यात्रा गर्न पनि जहाजले सहज भएपछि पुरुष एक्लैको भागको शक्ति प्रदर्शन गर्ने अर्को काममा पनि पूर्णविराम लाग्यो । यसको मतलब पुरुषको पाखुराको बल काम नलाग्ने भयो । पुरुषले गर्ने काम सबै आधुनिक मेसिनले खोसिदियो ।

हामी जानकार छौं नि, अहिले जनावरको भालेको काम सकियो । हिजो पाल्तु जनावर गर्भिणी बनाउन जनावरको भाले राखिन्थ्यो । आज एउटा सुइबाट गर्भ दिइन्छ । त्यसैले आजकल केहीको पनि साँढे या भाले राखिंदैन किनकि राख्न जरुरी छैन ।

यहीं कुरा मान्छेमा पनि लागू भएको छ । महिला र पुरुष एकआपसमा शुक्रकीट आदान–प्रदान पनि शारीरिक सम्बन्धविना नै इच्छा लागेको व्यक्तिसँग मागेर (बरो गरेर) बच्चा जन्माउन सकिने भयो । यानेकी स्टोरमा भएको शुक्रकीट सुइबाट लगाएर बच्चा जन्माउन सकिने भयो ।

त्यसो त यहाँ आज होइन द्वापर युगमै शुक्रकीट मागेर (बरो गरेर) बच्चा जन्माएका कति धेरै दृष्टान्त हामीले पढेका छौं । धृतराष्ट्र र पाण्डु आफैं नियोग (शुक्रकीट बरो)बाट जन्मिएका हुन् । यता कुन्ती र माद्रीले पनि नियोगबाट नै कौरव र पाण्डवलाई जन्म दिएका थिए (महाभारत आदिपर्व, १२०–१२३, अनुशासन पर्व र शान्ति पर्व) ।

शुक्रकीट मागेर ल्याउने मात्र हैन आमाको कोख नै मागेर बच्चा पाउने अभ्यास पनि त्यो बेला भएका छन् । जसलाई ऋग्वेदमा उर्बसी र पुरुरवाको कथामा पनि हेर्न सकिन्छ (ऋग्वेद, दशौं मण्डलको, ९५औ सूक्त)

हाम्रोमा परापूर्व कालमा भएका यस्ता कुरा आज यहाँ कम भए पनि पश्चिमी समाजमा चलेको छ । त्यहाँ स्त्रीहरुले शुक्रकीट लिन पाउने भएपछि उनीहरु विवाहको लागि राजी हुन छाडे र एक्लै आमा बन्ने क्रम उच्च दरमा बढिरहेको छ ।

लामो यात्रा गर्न पनि जहाजले सहज भएपछि पुरुष एक्लैको भागको शक्ति प्रदर्शन गर्ने अर्को काममा पनि पूर्णविराम लाग्यो । यसको मतलब पुरुषको पाखुराको बल काम नलाग्ने भयो । पुरुषले गर्ने काम सबै आधुनिक मेसिनले खोसिदियो ।

पश्चिमा समाजमा यस्तो पनि देखिन्छ कि त्यहाँ धेरै स्त्रीहरु अहिले परिवारमा रहन नै चाहंदैनन् । विवाह गर्दैनन् वा एकल आमा बस्न रुचाउँछन् ।

यस्तो भैसक्यो कि अष्ट्रेलिया अमेरिका जस्ता देशमा अहिले स्त्रीहरुलाई बच्चा जन्माइदिन उत्प्रेरित गर्दै योजना ल्याइँदै छ । अष्ट्रेलिया क्विल्पी शहरमा बच्चा जन्माउनेलाई सित्तैमा जग्गा र भत्ता दिने योजना अघि सारिएको छ । फ्रान्समा पनि बच्चा पाउनेलाई घर जग्गा जागिरको व्यावस्था गरेको छ । किनकि स्त्रीहरु नै तयार नभएपछि बच्चा कसरी पैदा हुन्छन् ।

हाम्रो समाजको मात्र कुरा होइन यो । समग्र सृष्टिको कुरा गरिरहेछु । समाज त न पुरुषबिना चल्छ न स्त्री बिना । दुवैको बराबरी उपस्थिति र भूमिका जरुरी छ । पुरुष र स्त्री दुबैको शक्ति एकसाथ हुँदा कस्तो ऊर्जा तयार हुन्छ र त्यसले के गर्न सक्छ भन्ने कुराको अर्को आलेख तयार गरौंला ।

यहाँ भने पुरुषले गुमाइरहेको शक्ति सन्तुलनको कुरा गरौं । जे कुरालाई शक्ति ठानेर स्त्रीहरुलाई तिमीहरु कमजोर छौ भनिरहेका थिए, पुरुषहरुले आज त्यो नै पुरुषको कमजोरीमा परिणत भैदिएको छ । किनकि समाजको रुप एकतर्फ होइन सबै तर्फबाट फेरिरहेको छ ।

हिजोजस्तो धेरै बच्चा पाउनुपर्ने, घरकै काममा बसिरहनुपर्ने अवस्था नरहेपछि स्त्रीहरु अन्य काममा निस्किएका छन् । ९९ प्रतिशत पुरुष हुने सरकारी कार्यलयहरुमा विस्तारै हरेक पदमा स्त्रीहरुको आगमन देखिन्छ ।

विद्यालय पुगेर हेर्नुभो भने थाहा हुन्छ– अपवादबाहेक प्रथम द्वितीय, तृतीय हुनेमा छात्राहरु धेरै छन् । जहाज चलाउनेदेखि ग्रहहरुमा पुगेर अध्ययन गर्नेसम्ममा स्त्रीहरु साथसाथ पुगेका छन् । हिजो मात्र म हिमाल चढ्न जाँदा उतै फसेकाहरुको उद्दारमा गर्ने एक युवा स्त्रीसँग थिएँ म ।

यसरी सक्दैनन् भनेका काम आज स्त्रीहरुले पुरुषभन्दा उत्कृष्ट गरिरहेका छन् । हिजो ती अदृश्य थिए तर आज नचाहेरै देखिने ठाउँमा आइपुगेको छ ।

हिजोजस्तो धेरै बच्चा पाउनुपर्ने, घरकै काममा बसिरहनुपर्ने अवस्था नरहेपछि स्त्रीहरु अन्य काममा निस्किएका छन् । ९९ प्रतिशत पुरुष हुने सरकारी कार्यलयहरुमा विस्तारै हरेक पदमा स्त्रीहरुको आगमन देखिन्छ ।

भौतिकरुपमा मात्र हैन मानसिक रुपमा पनि स्त्रीहरु पुरुषभन्दा अधिक धिरज, प्रेमिल र झुक्न सक्ने क्षमता भएका हुन्छन् । स्त्रीहरुमा ऊर्जा ग्रहण गर्ने क्षमता ज्यादा हुन्छ । यो के कारणले हुन्छ भने स्त्रीहरुमा ऋणात्मक शक्ति या जस्तो अवस्था पनि सहजै पचाउने ऊर्जा अत्यधिक हुन्छ । जो जीवनयापनको लागि अत्यावश्यक कुरा हो । या जीवनको लागि चाहिने शक्ति नै प्रेम र धीरज हो । त्यो शक्ति स्त्रीमा भएकाले उनीहरु सानोतिनो पीडाले विचलित हुँदैनन् । र यो मेसिनमा निहीत कृत्य पनि होइन ।

स्त्रीहरुको कसरी आन्तरिक शक्तिले काम गर्छ भनेर तन्त्रको लामो अध्ययन गरेका अरुणकुरमार शर्माले उहाँको पुस्तकमा लामो व्याख्या गर्नुभएको छ (शार्मा, मारणपात्र, आस्थाप्रकाशन वाराणसी पृष्ठ ४६५–४६९)

जहाँ महिलाहरु एकल जीवनका लागि उत्प्रेरित छन् त्यहाँ पुरुषमा नैरश्यता बढ्दै गएको देखिन्छ । चाहेको समयमा शारीरिक सम्बन्ध नपाउने, विवाह गरेर जम्मा गरेको सम्पत्ति छोरो बनाएर हस्तान्तरण गर्न नपाउने भएपछि पुरुष शक्ति गुमेको महसुस गर्ने ठाउँमा पुगेका छन् । यो बाहिर नदेखिने मानसिक आँधी हो । जसले गर्दा पुरषहरुमा आत्माहत्या गर्ने दर उच्च हुँदै गइरहेको तथ्याङ्कले देखाएको छ ।

पाँच वर्षअघि २०१७ मा विश्व स्वाथ्य संगठनले गरेको अनुसन्धानका अनुसार संसारमा आठ लाख मानिसले वर्सेनि आत्महत्या गर्छन् । विश्वका २०० देशमध्ये चार देशबाहेक अरु सबैमा आत्महत्या गर्नेमा पुरुषको संख्या अधिक छ ।

अष्ट्रेलिया अमेरिकाजस्ता देशमा स्त्रीभन्दा पुरुषले तेब्बरको संख्यामा आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । त्यही तथ्याङ्कमा भनिएको छ, पाँच वर्षपछि नै यो संख्या दोब्बर हुनेछ । जसलाई विश्व स्वाथ्य संगठनको वेभसाइटमा गएर हेर्न सकिन्छ । यसबारे बीबीसीले पनि लामो रिपोर्ट छापेको छ ।

अर्को कुरा पुरुषहरु दिमागलाई केन्द्र बनाएर जीउने हुँदा धेरै तर्क गर्न सक्छन् भने हृदयले चल्ने हुनाले स्त्रीहरु कम तर्कालु र शान्त हुन्छन् । पुरुष दिमागलाई केन्द्र बनाएर चल्ने हुनाले भावना कम हुन्छ । किनकि जहाँ शब्द धेरै हुन्छन्, त्यहाँ भावना हराउँछन् ।

स्त्रीहरु एउटा परिवारबाट मुला उखेलिए जसरी अर्काे परिवारमा सरेर, त्यहाँ पहिचान कायम गर्न गर्नुपर्ने जीवनभरको संघर्ष र अनुभवले भित्रबाट खारिएका हुन्छन् । उनीहरु अनुभूत गर्छन्, भाव दर्शाउँछन् तर शब्द र तर्क प्रयोग गर्दैनन् ।

शारीरिक शक्ति पनि एकाग्र मानसिक अवस्थाले निर्धारण गर्ने हो र त्यस्तो शक्ति अत्यावश्यक हुँदा मात्र निस्किन्छ । जतिबेला प्रेमको उत्कर्ष तयार हुन्छ, त्यसबेला त्यस्तो शक्ति पैदा हुन्छ । सन्तानप्रति बाबुकोभन्दा आमाको भावनात्मक शक्ति बलियो हुनुको कारण पनि यहीं हो ।

पाँच वर्षअघि २०१७ मा विश्व स्वाथ्य संगठनले गरेको अनुसन्धानका अनुसार संसारमा आठ लाख मानिसले वर्सेनि आत्महत्या गर्छन् । विश्वका २०० देशमध्ये चार देशबाहेक अरु सबैमा आत्महत्या गर्नेमा पुरुषको संख्या अधिक छ ।

यसलाई बुझ्न एउटा दृश्य हेरौं । भर्खरै भारतमा एउटा घटना भयो । आमाको काखमा सुतेको बच्चालाई आधा रातमा चितुवाले लिएर गयो । हारगुहार गर्ने समय थिएन । उत्तिकै तेजमा चितुवाकोे पिछा गर्दै आमा एक्लै जंगल पुगिन् र चितुवासँग खोसाखोस गरेर छोरो फर्काएर ल्याइन् ।

हामी सबैलाई थाहा छ चितुवा जनावरहरुमा सबैभन्दा तेज दौडने जनावर हो । हामीले कमजोर हुन्छन् भनिएका त्यो पनि आधा पेट खाएर सुत्ने गरिब परिवारका आमामा सिंह, चितुवा जस्ता हिंस्रक जनावरसँग जुध्ने शक्ति कहाँबाट प्राप्त भयो ?

खासमा भावनात्मक उद्वेगको गर्भबाट उनले त्यो शक्ति पाएकी हुन् । त्यसैकारण यस हिमवतखण्ड संस्कृतिमा मदमत्त सिंहलाई पनि आफ्नो बसमा पार्ने देवीको पूजा हुन्छ । त्यो जुनसुकै दानवीय शक्ति पनि स्त्रीहरुको अघि हीन छन् भन्ने उदाहरण हो । अनि स्त्रीहरु शक्तिको केन्द्र हुन् भन्ने जान्दाजान्दै र मान्दामान्दै पनि कमजोर ठान्ने र मान्ने मनोविज्ञान कसरी तयार भो ? यसलाई बुझ्न केही समय पछि पुगेर हेरौं ।

पश्चिमा समाजमा एउटा लोकउक्ती छ कि ‘युरोपियन सिभिलाइजेसन इज दि फुट नोट्स अफ् प्लेटो’ । आर्थात्–युरोपको पुरा सभ्यता प्लेटो (ईशापूर्व ४२८–३४७)को फुटनोट जति मात्र हो भनिन्छ त्यहाँ । त्यहाँ मात्र हैन यहाँकाले पनि प्लेटोको गुणगान गाएको सुन्नुभएकै होला ।

यस्तो महान मानिएका प्लेटोले उनको पुस्तक रिपब्लिकामा महिलाबारे भनेका छन्– मान्छे चार तहको हुन्छ । पहिलो दर्जा राजा हो । उसले जे बोले पनि कानून बन्छ । दोस्रो व्यापारी, पेन्टर, संगीतकार र तेस्रोमा फ्याक्ट्री र खेतमा काम गर्ने दर्जामा राखेका छन् भने स्त्री चौथो तहमा पर्छन् किनभने उनीहरुसँग आत्मा छैन भनेका छन् ।

अर्को पुस्तक लजमा उनी लेख्छन्– महिलामा आत्मा नहुने र चौथो तहको मान्छे हुनाले उ अदालतमा साक्षी बस्नको लायक पनि छैन । यसरी युरोपको सभ्यताकै मालिक भनेर संसारभर विद्वान भनेर पूज्ने मान्छेको चेतले महिलालाई हीन बनाउन पूर्ण सहयोग गरेको थियो र छ ।

एकबेला यस्तो थियो, एउटा अलि जान्ने मान्छेले जे भन्यो त्यो नै कानून बन्थ्यो । त्यस्तै ग्रिसका विद्वान अरस्तु(ईशापूर्व ३८४–३४७)ले त महिलाका त दाँत पनि पुरुषको भन्दा कम हुन्छन् भनेर भन्दिए । त्यसैकारण उनीहरु पुरुष बराबर हुन सक्दैनन् भने ।

जुन कुरा हजार वर्षसम्म कसैले विरोध नै नगरी स्वीकार गरियो । बाइबल संसारमा धेरै बिक्री भएमध्येको एउटा पुस्तक हो । जसमा पुरुष बनाएर उसको करङ निकाली नारी बनाइएको कथा छ (बाइबल, उत्पत्ति २ को २२ र २३)

त्यति मात्र हैन बाइबलमा महिलाले दाँत देखाएर हास्न हुन्न, टाउको खुला राखेर देखाउनु हुन्न भनेर किटेरै लेखिएको छ (पुरानो करार, कोरिन्थी ११ को ५ र १४ पद)

कुरान त बाइबलकै अर्को रूप जस्तो हो । त्यहाँ चारजना श्रीमती एक जना पुरुषले राख्न पाउँछ भनेर किटान नै गरिएको छ । र त्यसैअनुसार सरिया कानून लगाएर चल्छन् आजपनि मुस्लिम बाहुल्य ५६ वटा देश । यहाँ पनि मनुसम्म आइपुग्दा स्त्रीलाई तल्लो दर्जामा देखाउने काम गरे ।

यसरी यहाँ वैदिक कालमा समान भएर बाँचेका मान्छेमा पुरुषको शासक प्रवृत्ति विकसित हुँदै जाँदा पुरुषले आफूअनुकुल समाजिक व्यावस्था बनाउँदै जाने शक्ति भएको देखाउने र स्त्रीहरुले आफूलाई शारीरिक रुपमा कमजोर ठान्ने मानसिकता यसरी तयार हुँदै गयो । उनीहरु आफूलाई सधैं कोमलताको मानकका रुपमा मात्रै अभ्यास गर्न थाले । र मानसिकता पनि त्यस्तै विकास भयो ।

आज हामी अपवाद स्त्रीहरुमा पुरुषको गुण देख्छौं । अभ्यासबाट अलग भएर उनीहरुले त्यो प्राप्त गरिरहेका छन् । पुरुषलाई भने यही भाष्यको सामाजिक अभ्यासको सुविधाले कमजोर बनायो । यही सामाजिक भाष्यले शक्तिजति सबै आफ्नो हातमा केन्द्रित गरेको पुरुषको महिलासँगको निकटता कामवासनाको प्रयोजनमा मात्र सीमित रहन गयो । अरु कुनै प्रयोजनका लागि उसलाई स्त्रीको आवश्यकता महसुस भएन ।

यहीं भाष्यमा पुरुषले जति श्रीमती जम्मा गरे पनि हुने तर स्त्रीहरुले अर्को लोग्ने खोज्नै नपाउने नियम बनायो । अनि यसैलाई समाज भन्यो, संस्कार भन्यो, अभ्यास गर्यो ।

यहाँसम्म कि पुरुष मर्दा स्त्रीले पनि उसकै साथमा मर्नुपर्ने व्यवस्था तयार गर्यो । अझ पश्चिममा युद्ध धेरै भए । त्यसमा विधवा अधिक भए । ती विधवा महिला जसले चाह्यो उसले उठाएर लैजाने र यौनदासी बनाउन सक्ने थियो ।

त्यसका विरुद्ध महिलाले आवाज उठाए । अनि यस्ता आवाज उठाउने स्त्रीहरुलाई क्याथोलिक र प्रोटेष्टेन्ट भएर प्रतिस्पर्धा नै गरेर डेमन भन्दै एक ठाउँ भेला गरेर एउटै खाल्डोमा जलाए । अनि यस्तो तथ्य पनि गर्वका साथ आफैँ लेखे ( राजा जेम्स–फष्ट, डेमोनोलोजी ) ।

राजाले नै यसरी आवाज उठाउनेलाई आफ्नो दरवारमा ल्याएर महिनौं बलत्कार गर्ने र मार्ने गरेपछि उठेको आवाजले स्त्रीहरुलाई सशक्त बनायो । तब बुद्धिमान महिलादेखि डराउने समाज तयार भयो ।

सिमोन द बोउमार उनको पुस्तक द सेकेण्ड सेक्समा लेख्छिन्– पुरुषहरु बुद्धिमान, साहसिक, सांस्कृतिक र निष्ठावान केटीसँग भयभीत हुन्छन् । पुरुषहरु धन, यश र स्त्री प्राप्तिलाई उद्यमशीलता ठान्छन् र सहज प्राप्त गर्न नसक्दा डराउँछन् (सिमोन द बोउमार, द सेकेण्ड सेक्स पृष्ठ, १८३)

त्यति पर पनि जानु परेन, यतैका सयवर्षमा पनि एउटा लोग्नेका दर्जनौं स्वास्नी भएको हामी पाउँछौं । योग नरेन्द्र मल्ल (१६८४–१७०५)कै ३५ वटा स्वास्नी उनीसँग सति गएको कुरा हामी इतिहासमा पढ्छौं । सति नगएका कति थिए होलान् ? अकबर(१५४२–१६०५) पनि अधिक स्वानी भेला गर्नेमध्येका एक राजा थिए ।

भनिएको छ– अकबर जहाँ पुगे पनि एक स्वास्नी उठाएर ल्याउथे । यस्तै कामवासनाकै कारण पुरुषले अनेक युद्ध रचायो र देश देशमा पृथ्वी भाग लगायो । त्यसबीचमा जे बन्यो पुरुषको सहजताको लागि बन्यो । जसको प्रभाव आजसम्म छ ।

हरेक समयमा, हरेक समाजमा बच्चा त जन्मेकै थिए । शारीरिक सम्बन्ध पनि हुन्थ्यो नै । तर पुरुषलाई जुन बेला मन लाग्यो त्यो बेला शारीरिक सम्बन्ध राख्न सक्ने बनाउन उसले विवाहको अवधारणा ल्याएको थियो । भनौं परिवार र विवाहको परिकल्पना पुरुषले आफ्नो सहजताको लागि बनाएको थियो ।

यो कुरालाई फ्रेडरिक एङ्गेल्स (१८२०–१८९५)ले परिवारको प्रमुख कारण नै पुरुषको शासकत्वको लागि थियो भनेका छन् । ‘फेमेली, प्राइभेट प्रपटी एण्ड दि स्टेट’ बुक यसैमा केन्द्रित छ । उनी भन्छन्–‘विवाह पुरुषकोे व्यावसाय विस्तार गर्ने तरिका हो । उसले आफ्नो प्रभुत्व कायम राख्नका लागि धेरै बच्चा पाएर, धेरै सम्पत्ति जोड्न विवाह बनायो । जबसम्म परिवारवाद रहन्छ, तबसम्म पुरुषले स्त्रीमाथिको दमन बाँकी रहन्छ ।’

पुरुष केको लागि विवाह गर्छ भनेर उपनिषद्मा पनि भनिएको छ । त्यहाँ महिलाहरु पालित पोषित हुनको लागि पुरुषसँग विवाह गर्छन् र पुरुष छोरो जन्माउन, सम्पत्ति, प्रशस्तीको लागि र कामवासनाको लागि विवाह गर्छ भनिएको छ । (बृहदारण्यकोपनिषद्– ३९–५)

एउटा प्रश्न हाम्रो मनमा जरुर उठेको हुनुपर्छ कि एकल रहँदा पुरुष यति प्रताडित हुन्छ, स्त्रीहरु चाहिँ किन प्रताडित रहँदैनन् होला भनेर । खासमा आफ्नो कोखमा बच्चा राखेर जन्माउनु स्त्रीको लागि पूर्णता प्राप्तिको अवस्था हो । बच्चा जन्माउँदा स्वर्गीय आनन्द प्राप्त हुन्छ स्त्रीका लागि ।

नौ महिना गर्भमा राखेर बच्चा जन्माउनु नै प्रकृतिको एक हिस्साका रुपमा उनीहरुले जीवनसुखको चरोमोत्कर्ष महसुस गरेका हुन्छन् । बच्चा आफ्नो कोखमा राखेर जन्माउने हुँदा यहाँ शुक्रकीट कसरी लियो भन्ने कुराले के फरक पार्यो र ? बस् उसले नौ महिना पेटमा राखेर पलपल उसको स्वासमा धड्किएर जन्म दिनु नै उनको जीवनको सार्थकता हो ।

पुरुषले शुक्रकीट दान मात्र गर्छ, प्रकृतिले उसलाई ठगेको छ । प्रकृतिको यो गहिरो प्रक्रिया अनुभव नै गर्न नपाइ उ मर्छ । यो पुरुषमाथिको प्राकृतिक हिंसा हो ।

खासमा पुरुषमा मानसिक मात्र हैन शारीरिक सहन क्षमता पनि कम छ । हामीले नौ कक्षमा पढेको याद छ कि प्रकृतिले सय स्त्री जन्माउँदा ११५ जना पुरुष(छोरा) जन्माउँछ । किनकि युवा हुँदासम्म १५ जना छोरा मर्छन् र दुबै बराबरी हुन्छन् । कोभिडबाट मृत्यु भएकाको अमेरिकी तथ्याङ्क हेर्दा त्यहाँ स्त्रीभन्दा धेरै पुरुष छन् ।

यहाँ मृत्युको कारण खानपान बताए पनि जीवनसँगै गएर जोडिने कुरा हुन् ।

एउटा मूल प्रश्न बाँकी छ कि स्त्री यति धेरै हिंसामा गुज्रंदै आएका छन्, के पुरुष हिंसामा छैनन् ? हो पुरुषहरुमाथि एउटा बिकराल हिंसामा छ । पुरुष भनेको पालक हो, परिवारको बोझ सबै तैंले नै उठाउनु पर्छ, किनभने तँ पुरुष होस् भनेर पुरुषको पछाडि झुण्डाइदिएको भारीले उ थिचिएको छ । यो आफ्नो शरीरभन्दा ठूलो पुरुषत्वको भारी पुरुषमाथिको हिंसा हो । जसले गर्दा रहर नहुँदा, नसक्दा पनि उही कमाउन निस्कन्छ आज पनि ।

स्त्रीभन्दा शक्तिशाली देखिन रुन मन लाग्दा लाग्दै पनि सानो देखिने डरले हजारौं वर्षदेखि पुरुष खुलेर रुन पाएको छैन । आज पनि त्यो भारी टाउकोबाट झार्न नसकेर, त्यसैले किचिएर जिइरहेको छ ।

अहिले यो भौतिकरुपमा देख्न नसकिएको तर मानसिक रुपमा सबैभन्दा धेरै समाजलाई प्रभाव पार्ने कुरा बनिरहेको छ । त्यहीं बोकाइएको भारीका कारण पुरुष स्त्रीको बराबरी पनि खप्न नसक्ने भएको छ । जसको परिणाम महिलाहरुको साथमा पुरुषलाई सम्बन्ध विच्छेदमा पुर्याएको छ । छोडपत्र बोकेर न्याय खोज्न जाने पुरुषको संख्या बढेको छ ।

स्त्रीहरुको कालदर्शिता पुरुषको भन्दा ठूलो छ । स्त्रीहरु शासनमा पुग्दा भ्रष्टाचार घटेको पेरुको तथ्य छ । हुतु र तुत्सीबीच लडाइँ (७ अप्रिल–१५ जुन, १९९४) पछि ध्यस्त भएको रुवाण्डाको सांस्कृतिक उत्थान महिला नेतृत्वले गरेको कुरा यसका उदाहरण हुन् ।

पुरुषको भन्दा स्त्रीको शरीरमा ज्यादा शक्ति छ र पीडा सहने क्षमता पनि बढी भएको कुरा अनुसन्धानले नै देखाउँछ । आमाले एउटा बच्चा पाउँदा १२ डेसिबल(डेल) शक्ति खर्च गर्छिन् । जुन पीडा २० वटा हड्डी एकसाथ भाँचिए बराबर हो । अझ दर्जन बच्चा जन्माउने स्त्रीहरु अहिले पनि छन् ।

अनि पुरुषभन्दा कति गुणा शक्ति खर्च गर्दिहुन् एक स्त्रीले जीवनभर यो कसैले आँकलन गरेको छ ? भनिन्छ एकपटकमा मान्छेले नौ डेसिबल पीडा मात्र खप्न सक्छ । यसको अर्थ पुरुषले बच्चा पाउने बरावरको पीडा खप्नु परे उ सहन नसकेर मर्छ ।

अझ बच्चा हुर्काउँदाको समय बच्चा हिँड्ने नहुन्जेल हररात दिन उसैमा केन्द्रित गरेको सबै ऊर्जा नाप्ने कुनै यन्त्र छ ? कुनै दिन बनिएछ भने भन्नेछ कि स्त्रीहरुको एक छेउ पनि पुरुष पुग्न सक्ने रहेनछन् भनेर । प्रेम र आन्तरिक शक्तिको उति अध्ययन भएको छैन । यसबारे केही तथ्य यहाँ हेर्न सकिन्छ

यस्तो शक्ति भएका स्त्रीहरु परिवारमा पनि जुन घरमा हीन अवस्थामा छन् त्यो घरका पुरुष उच्च विचारका र उल्लासमा रहेका हुँदैनन् । किनभने हीन आमाले हुर्काएका बच्चा पनि हीन मानसिकतामा हुर्कन्छन् । जुन घरका स्त्रीहरु स्वतन्त्र जिएका छन्, त्यो घरमा अब्बल, उत्साही र उत्प्रेरित पुरुष र स्त्री जन्मेका हुन्छन् । किनकि बच्चा पनि आमाले भोगेको पीडादायक आवोहवामा हुर्केको हुन्छ ।

जताबाट हेरे पनि देखिन्छ शक्तिको केन्द्र स्त्री हुन् । तर उल्टो स्त्री र पुरुषबीच हुने भिन्नतालाई असमानताको रुपमा देखाएर बनाएको कोल्टे समाज छ, अहिलेसम्म हामीसँग ।

अझ कतिले महिलाले स्वतन्त्र महसुस गर्दै गरेको यस अवस्थालाई समाजको संरचना बिग्रिएको तर्क गर्नुहुन्छ । एकएक वटा लोग्ने–स्वास्नी बस्ने समाजको नियम हुँदा शक्तिशाली देखिन सयौं स्वास्नी भेला गर्ने, सय स्वास्नी भएमध्ये कुनै स्त्रीले अर्को यौन साथी बनाए मात्र पनि सजायँको व्यवस्था गर्ने परिवार संरचना स्त्रीका लागि बन्धन नै बन्यो । र त पुरुष फुत्कने प्रयासमा आजसम्म चलिरह्यो ।

पुरुषले घरमै सयौं स्वास्नी ल्याउनेदेखि यतिबेला फ्ल्याट राख्ने, अर्का तहकाले देश देशमा स्वास्नी राखेर हिंड्दासम्म पनि स्त्रीहरु सधैं उस्तै भैदिरहनु पर्ने तर्क अब थोत्रा भए । र परस्त्रीगमन गर्ने पुरुष समाज बिग्रिएको सजायँ चाहिँ महिलाले भोग्नुपर्ने अवस्था अब विस्तारै हट्दै गएको छ ।

ऐतिहासिक तथ्य हेर्दा अशोक(ईसापूर्व३०४–२३२)जसको म्यान्मारदेखि इजिप्टसम्म फैलिएको विशाल सम्राज्य थियो । जसलाई कलिङ देशकी महिलासँग हारेर राज्य छोड्नु परेको इतिहास हामीमा साक्षी छ । त्यसैले स्त्रीशक्तिको नाममध्ये एउटा नाम हो, अपराजिता ।

अपराजिताको अर्थ हुन्छ कहिल्यै पराजित गर्न नसकिने । हुन त हिमवतखण्डबाहेक संसारमा कतै पनि स्त्रीले लडाइँ लडेको भेटिन्न । लडाइका योद्धा सबै पुरुष हुन्छन् । तर देवीको पूजा गरेर उनबाट शक्ति लिएर मात्र युद्धमा जाने गरिन्छ । यसरी भनौं जहाँ पुरुषको सामथ्र्यले भ्याउँदैन, त्यहाँ देवीको आरधना गरिन्छ ।

यहाँ जब–जब संकट आउँछ उ स्त्रीकै शक्ति लिन गएको उदाहरण छ । देवताहरुलाई असुरहरुले लखेट्दा ‘हामीले सकेनौ प्रभु, अब हजुरकै शरणमा छौं’ भनेर दुर्गा देवीको ओत लाग्न पुगेको कथा (चण्डी) र सृष्टिमा आपत् आइपर्दा ब्रह्मा, विष्णु, महेश्वरले अन्तिम परेपछि देवीको आराधना गरेर शक्ति लिएको (देवी भागवत) दर्शाउने कुरा हुन् ।

यी सबै तथ्य र घटनाले स्त्री सृष्टिको केन्द्र मात्र हैन, शक्तिको केन्द्र पनि स्त्री नै थिए र छन् भन्ने कुरा पुष्टि गर्छ । यति हेरेपछि भन्न सकिन्छ पुरुष र महिलाबीच धेरै प्राकृतिक भिन्नताहरु छन्, तिनलाई असमानताको अर्थ लगाएर कतै पुगिँदैन ।

आजको समयमा पुरुषको टाउकोबाट जिम्मेवारीको अतिबोझ हटाइदिने र स्त्रीको टाउकोबाट यौनसँग गाँसेर इज्जत प्रतिष्ठाको भारी हटाइदिने हो भने सबैभन्दा ठूलो समानता यही हुनेछ ।

प्रतिक्रिया

23 thoughts on “लैंगिक विभेदका दुई अस्त्रः पुरुषको काँध र महिलाको योनि !

  1. आजको समयमा पुरुषको टाउकोबाट जिम्मेवारीको अतिबोझ हटाइदिने र स्त्रीको टाउकोबाट यौनसँग गाँसेर इज्जत प्रतिष्ठाको भारी हटाइदिने हो भने सबैभन्दा ठूलो समानता यही हुनेछ ।

  2. यति सुन्दर सरल र तार्किक लेख विरलै पढन पाइन्छ। बिनुजी असल श्रष्टाका रुपमा देखिनु भएको छ। उहाँलाई मेरो सादर प्रणाम सुनाइदिनु भए आभारी हुनेछुँ।

    1. अहा कति सहज रूपमा सरर बगेको मार्मिक एवं तथ्यपरक आलेख पढ्न पाइयो। धन्यवाद बिनु जी। शब्द पनि कति मिठो समयको सबैभन्दा सानो इकाइ निमेष जस्ताको प्रयोग अद्भूत।

  3. अति सरल, तार्किक र सुन्दर लेख पढ्नै पाएकोमा लेखकलाई हार्दिक आभार।

  4. उत्कृष्ट लेख
    धेरै धेरै बधाई। यस्तै अनुसन्धानका लेख लेखन कार्य सधै भैरहोस।

  5. सामर्थ्यशाली,प्रभावशाली र कालजयी आलेख ।

  6. प्रगतिबादी चिन्तनलाई नयाँ भाष्यको आवश्यकता दर्साउछ यो लेखले। समाजको यथार्थमा नटेकी गरिन खोजिने परिवर्तन दिगो हुदैन। जग खन्न पूर्व जगको माटोको क्षमता परिक्षण गर्नै पर्छ। जगको माटो भनेको हिमतखण्डको विराट हेरिटेजको बस्तुनिष्ठ बिश्लेशणनै हो! सचेत लेखिकाका प्रखर अभिब्यक्ती मननीय छन्!

  7. असाध्यै मार्मिक, तथ्य र विश्लेषणयूक्त लेख, भ्रमवाट मानिसलाई बाहिर ल्याउन र सत्य थाहापाउन सहज वनाईदिएकाे छ लेखले लेखकप्रति हार्दिक सलुट गर्दछु।

  8. असाध्यै मार्मिक, तथ्य र विश्लेषणयूक्त लेख, भ्रमवाट मानिसलाई बाहिर ल्याउन र सत्य थाहापाउन सहज वनाईदिएकाे छ लेखले लेखकप्रति हार्दिक सलुट गर्दछु।

  9. कति सुन्दर कुरा लेख्नु भएकी छ धेरै धेरै नमस्करा छ उहाँ प्रती!

  10. बिनुजी,लेख राम्रो लाग्यो,यसमा बहस गर्ने ठाउँ भने छ।महाभारतमा कुन्ती र माद्रीले पाँच पाण्डव र गान्धारीले कौरव जन्माएको जस्तो लाग्छ।हेर्नु होला ।

  11. योग नरेन्द्र मल्लका ३५ रानि सति गएका होइनन, ३१ वटि हुन है। तथ्य, तर्क र प्रमाण सहित लेखिएको यो लेख उत्कृस्ट लाग्यो।

  12. पुरुषहरु रगतको शुध्दतामा विश्वास गर्दथे । महिलाको कारण युध्द हुन्थ्यो ।

  13. कति सुन्दर कुरा लेख्नु भएकी छ धेरै धेरै नमस्करा छ उहाँ प्रती

  14. Wow great writing on woman liberation n impowerment. Congratulations for evidence based narration. Very important for awakening the mindset of people
    .

  15. १. नारीप्रति सकारात्मक सम्मान प्रकट गर्ने गरी लेखिएको यो अनुसन्धानमूलक उत्कृष्ट लेखको लेखक विनु पोखरेलको प्रशंसा गर्न चाहन्छु। तर पुरुषप्रतिको धारणामा राखिएको निम्न उद्‌धृतांशमा मेरो ध्यानाकृष्ट भयो र म फरक धारणा राख्दछुः
    “पुरुषले शुक्रकीट दान मात्र गर्छ, प्रकृतिले उसलाई ठगेको छ । प्रकृतिको यो गहिरो प्रक्रिया अनुभव नै गर्न नपाइ उ मर्छ । यो पुरुषमाथिको प्राकृतिक हिंसा हो ।” भन्ने उहाँको धारणालाई प्राकृतिक हिंसा नभनी महिला र पुरुष एक अर्का प्रति आकर्षण हुने प्राकृतिक भावनात्मक उद्वेगको सन्तुलन हो भन्दा पुरुषप्रति प्राकृतिक न्याय ठहरिन्छ।
    २. युवा अवस्थामा नभए पनि वृद्ध अवस्था आइपुग्दा बच्चा बच्चीबाट टाढा रहनु पर्ने बाध्यात्मक परिस्थितिमा हुने श्रीमान् श्रीमतीको आपसिक महत्त्वलाई विल्कुल नजरअन्दाज गरेको देखियो। यो अवस्था पुग्नेलाईमात्र श्रीमान् श्रीमतीको महत्त्व कति हुँदो रहेछ भन्ने ज्ञात हुन्छ ।
    ३. त्यस्तै यो लेखको एउटा उद्‍धृतांश “अझ कतिले महिलाले स्वतन्त्र महसुस गर्दै गरेको यस अवस्थालाई समाजको संरचना बिग्रिएको तर्क गर्नुहुन्छ । एकएक वटा लोग्ने–स्वास्नी बस्ने समाजको नियम हुँदा शक्तिशाली देखिन सयौं स्वास्नी भेला गर्ने, सय स्वास्नी भएमध्ये कुनै स्त्रीले अर्को यौन साथी बनाए मात्र पनि सजायँको व्यवस्था गर्ने परिवार संरचना स्त्रीका लागि बन्धन नै बन्यो ।”ले नारी प्रति सदैव उच्च सम्मान गर्ने मेरो जस्तो भावनालाई अलिकति असहज भएको कुरा राख्नै पर्ने ठान्दछु।
    ४. इतिहासमा पनि सयौँ श्रीमती राखेका राजाहरू र सामन्तहरूको इतिहास त्यति अध्ययनमा नदेखेको कुरा राख्दछु। एक जना भन्दा बढी श्रीमती राख्ने भनेका केही सम्पन्न सामन्त वर्ग र राजा महाराजाको मात्र थियो। तसर्थ अलि एक दुई प्रतिशत धनाढ्य पुरुषले गर्ने नारीप्रतिको व्यवहारलाई समग्र पुरुषको सकारात्मक मानसिकतामाथि त नजानेर प्रहार भएन र?
    ५. तथापि लेखकको सिर्जनशील क्षमताको अत्यन्त सम्मानका साथ मुग्ध कण्ठले प्रशंसा गर्दछु।

    पुरुषले घरमै सयौं स्वास्नी ल्याउनेदेखि यतिबेला फ्ल्याट राख्ने, अर्का तहकाले देश देशमा स्वास्नी राखेर हिंड्दासम्म पनि स्त्रीहरु सधैं उस्तै भैदिरहनु पर्ने तर्क अब थोत्रा भए । र परस्त्रीगमन गर्ने पुरुष समाज बिग्रिएको सजायँ चाहिँ महिलाले भोग्नुपर्ने अवस्था अब विस्तारै हट्दै गएको छ ।स्त्रीहरु एउटा परिवारबाट मुला उखेलिए जसरी अर्काे परिवारमा सरेर, त्यहाँ पहिचान कायम गर्न गर्नुपर्ने जीवनभरको संघर्ष र अनुभवले भित्रबाट खारिएका हुन्छन् । उनीहरु अनुभूत गर्छन्, भाव दर्शाउँछन् तर शब्द र तर्क प्रयोग गर्दैनन् ।
    यी सबै तथ्य र घटनाले स्त्री सृष्टिको केन्द्र मात्र हैन, शक्तिको केन्द्र पनि स्त्री नै थिए र छन् भन्ने कुरा पुष्टि गर्छ । यति हेरेपछि भन्न सकिन्छ पुरुष र महिलाबीच धेरै प्राकृतिक भिन्नताहरु छन्, तिनलाई असमानताको अर्थ लगाएर कतै पुगिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *