रुपन्देही एमाले करिब पाँच सय उम्मेदवार, सर्वसम्मत नेतृत्व चुन्न सकस – Nepal Press

रुपन्देही एमाले करिब पाँच सय उम्मेदवार, सर्वसम्मत नेतृत्व चुन्न सकस

रुपन्देही । नेकपा एमाले रुपन्देहीको नयाँ नेतृत्वका लागि ४ सय ४५ जनाले आवेदन दिएपछि सर्वसम्मत नेतृत्व चयन गर्न सकस हुने भएको छ । एमाले जिल्ला कमिटीको संख्या पार्टी सदस्य र प्रतिनिधि संख्याको आधारमा खुला, भुगोल र आरक्षित गरी १ सय ५१ सदस्यीय हुनेछ ।

रुपन्देहीका सबै पालिकाहरुबाट छनौट भएर आएका एक हजार ७ र मनोनित १ सय गरी १ हजार १ सय प्रतिनिधिले जिल्ला सम्मेलनमा भाग लिएका छन् ।

निर्वाचन समितिका संयोजक यमलाल खनालले तोकेको समय तालिकाअनुसार ४ सय ४५ जनाले उम्मेदवारी मनोनयन फर्म लिएको बताए ।
फर्म लगेकाहरुले भरेर बुझाउने समय भने शनिबार ८ बजेदेखि तोकिएको छ । सकेसम्म सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने र सर्वसम्मत हुन नसके निर्वाचन गराउने रणनीपत पार्टी केन्द्रको आवश्यक संख्याभन्दा दुईतिहाई बढीले फर्म लगेपछि सहमतिका लागि नेतृत्वलाई समस्या उत्पन्न भएको छ ।

फर्म लिँदा १ सय रुपैयाँ बुझाएर लिएका प्रतिनिधिहरुले बुझाउँदा भने अध्यक्षका लागि १० हजार र अन्य पदाधिकारीका लागि ५ हजार तथा सदस्यका लागि ३ हजार मनोनयन शुल्क कायम गरिएको छ ।

एमाले रुपन्देहीको अध्यक्षका लागि पुरुषोत्तम घिमिरे, तेजेन्द्र केसी, बासुदेव घिमिरे, गोपाल राना, यज्ञ गैरे, हितराज पन्थी मैदानमा छन् भने उपाध्यक्षमा वर्तमान सचिव जागेश्वरीदेवी चौधरी, प्रचार विभाग प्रमुख मोहन चापागाई र सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले आकांक्षा राखेका छन् ।

सचिव पदका लागि भने कसैले चासो देखाएका छैनन् । अध्यक्षका दावेदार धेरै भएको र सहमतिका लागि अध्यक्षमा उम्मेदवारी दिएकाहरु मध्येबाटै सचिव पदमा लैजाने नेतृत्वको योजना भएकोले पनि सचिवमा कसैले चासो नदेखाएको एमाले नेताहरुको भनाइ छ ।

उपसचिव पदका लागि ऋषिराम पाण्डे, बावुराम पन्थी, ज्ञानु केसीलगायतले आकांक्षा देखाएका छन् ।

एमाले एक नेताका अनुसार अध्यक्षमा उम्मेदवारी दिएकैहरु मध्येबाट अन्य पदमा व्यवस्थापन गर्ने र अन्य पदाधिकारीका आकांक्षीहरुलाई सचिवालयमा लगेर महत्वपूर्ण विभाग र निकायहरुको प्रमुखको जिम्मेवारी दिएर मनाउने योजना नेतृत्वको छ ।

जिल्ला नेतृत्व सहमतिमा टुंगाउन उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, नेताहरु खिमलाल भट्टराई, लिला गिरी, नेत्र पन्थीलगायत जुटेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर