ओमिक्रोन भरिअन्टलाई कमजोर नआँक्न डब्लुएचओको चेतावनी – Nepal Press

ओमिक्रोन भरिअन्टलाई कमजोर नआँक्न डब्लुएचओको चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनले मानिसको ज्यान लिइरहेकाले यसलाई कमजोर नआँक्न पुनः चेतावनी दिएको छ ।

पछिल्ला अध्ययनले ओमिक्रोनले अन्य भेरिअन्टभन्दा कम मात्रामा मात्रै सङ्क्रमितलाई अस्पतालको उपचार चाहिने अवस्थामा पुर्‍याउने देखिएको जनाएका छन्।

डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले ओमिक्रोनले धेरै सङ्ख्यामा मानिसहरू सङ्क्रमित हुँदा स्वास्थ्य प्रणालीहरू दबावमा परेको बताएका छन्। राष्ट्रसङ्घीय स्वास्थ्य सङ्गठनले गतसाता विश्वभर सङ्क्रमणको सङ्ख्या ७१ प्रतिशतले बढेको र अमेरिकी महाद्विपमा १०० प्रतिशतले बढेको जनाएको छ। विश्वभरका गम्भीर सङ्क्रमणको घटनामध्ये ९० प्रतिशत सङ्क्रमितले कोभिड खोप नलगाएको पनि डब्ल्यूएचओले बताएको छ।

‘डेल्टाभन्दा ओमिक्रोन विशेषगरी खोप प्राप्त गरेका व्यक्तिहरूमा कम घातक देखिएको भए पनि यसको आधारमा त्यसलाई कम जोखिमयुक्त भनेर वर्गीकरण गर्नु हुँदैन’ बिहीवार आयोजित प्रेस ब्रिफिङमा डब्ल्यूएचओ प्रमुखले भने।

‘पहिलेका भेरिअन्टले जस्तै ओमिक्रोनले मानिसहरूलाई अस्पताल पुर्‍याउने र मार्ने गरिरहेको छ। वास्तवमा सङ्क्रमणको सुनामी यति विशाल र तीव्र छ कि विश्वभरिका स्वास्थ्य प्रणालीलाई दबाव परेको छ’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर