सरकार पूँजीबजारको विरुद्धमा छैन: मुख्यमन्त्री राई – Nepal Press

सरकार पूँजीबजारको विरुद्धमा छैन: मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पूँजीबजारको विरुद्धमा सरकार नरहेको बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले  आयाेजना गरेकाे प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले पूँजीबजारले छरिएर रहेको पैसालाई समेट्ने र त्यसले अर्थतन्त्र विकासमा सहयोग पुर्‍याउने भएकाले पूँजीबजारको विरुद्धमा सरकार नरहेको बताएका हुन् ।

‘नेपालमा अहिलेको पूँजीबजारले विश्वास आर्जन गर्न सकिरहेको छैन । आममानिसमा सचेतना र जागरण ल्याउन यस्तै खालका कार्यक्रम गरी मनोबलको विकास गर्नुपर्छ,’ उनले भने । त्यसमा प्रदेश सरकारले आवश्यक सहयोग विस्तार गर्ने पनि उनले बताए ।

मुख्यमन्त्री राईले भने,‘कानुन बनाउनु पर्ने भए बनाउँछौं, माथिल्लो सरकारमा आवश्यक समन्यव र सूचना पुर्‍याउन सहयोग गर्छौं, मोफसलमा पूँजीबजार फस्टाएको हेर्ने चाहना हाम्रो पनि छ।’

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पूँजीबजारको विस्तार वृहतरुपले भइरहेको बताए । बजार विस्तारको तुलनामा धितोपत्र नियमनको आवश्यताअनुसार हुन बाँकी रहेको हुँदा त्यसका लागि बोर्डले पूर्वाधार निर्माण गरिरहेको उनले जानकारी दिए ।

प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले यहाँ पूँजीबजारको विकास र विस्तारमा सघाउन मन्त्रालय सदैव तयार रहेको बताए । प्रदेश तहमा पनि शेयर बजारको सञ्चालनका लाागि पूर्वाधार, नियामक र अन्य संरचना हुनुपर्नेमा उनको जोड थियो ।

नेपाल उद्योग परिसंघ प्रदेश १ का संयोजक भीम घिमिरेले सचेतनाको अभावमा देशका अधिकांश जनताले पूँजीबजारको सदुपयोग गर्न नसकेको बताए । राजधानी बाहिर पूँजीबजारका सम्बन्धमा सरोकारवाला, लगानीकर्ता र सरकारी निकाय समेत निष्कृय रहेको उनको भनाइ छ ।

मर्चेन्ट बैंकर्स एशोसिएसनको तर्फबाट महासचिव पारसमणी ढकाल र ब्रोकर एशोसिएसनको महासचिव गुणनिधि भुसालले सेयर लगानीकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर